काठमाडौं, ३१ भदौ/रासस

अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।

कोषको ६०औं वार्षिकोत्सव समारोहको भर्चुअल उद्घाटन गर्दै मन्त्री शर्माले भने–“सञ्चयकर्ताको पैसा कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, यसले राष्ट्रिय पूँजी निर्माणमा सहयोग पुग्छ ।” उनले सञ्चयकर्ताको बोनस रकमसमेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्न जोड दिए ।

मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणाली अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने बताए । सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७/७८ सम्म रु चार खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा रु तीन खर्ब ९८ अर्ब ६ करोड मौज्दात छ ।

निवृत्तिभरण कोषमा रु एक अर्ब ५८ करोड छ भने कोषको दायित्व रु चार अर्ब ६७ करोड छ ।
सामाजिक सुरक्षा योजना अन्तर्गत कोषले सञ्चयकर्ताको लागि रु सात हजार ५०० का दरले दुईपटकसम्म प्रसूति खर्च उपलब्ध गराउँदै आएको छ । सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा रु दुई लाख प्रदान गर्दै आएको छ । सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुस्ट रु ४० हजार काजकिरिया खर्च, सामान्य औषधोपचारको हकमा रु एक लाख तथा घातक रोगको हकमा रु १० लाखसम्म उपचार खर्च सोधभर्ना गर्ने गरेको छ ।

कोषमा पाँच लाख ९८ हजार योगदानकर्ता र २९ हजार २०० योगदानकर्ता कार्यालय आबद्ध छन्। कोषले सञ्चयकर्ता स्वास्थ्योपचार योजना अन्तर्गत एक हजार ६३३ सञ्चयकर्तालाई रु १३ करोड ८७ लाख सोधभर्नासहित कुल रु ३२ करोडभन्दा बढी सामाजिक सुरक्षा सुविधा प्रदान गरेको छ । विसं २०१९ भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि १९९१ सालमा सैनिक द्रव्य कोष, २००१ मा निजामती प्रोभिडेन्ट फन्ड र २०१७ सालमा सञ्चयकोष विभागको नाममा यसको काम कारबाही सञ्चालन हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here