• सुदर्शनराज पाण्डे

पत्रकारिता, सञ्चारजगत्लाई त्यतिखेर बेलायतका सामन्त, पादरी र संसद्का प्रतिनिधिले राज्यको चौथो अङ्ग भनेर मान्यता दिएको थियो । चौथो अङ्ग भनेर कानूनी मान्यता पत्रकारितालाई विश्वभरि दिइएको छैन तर चौथो अङ्गका रूपमा विश्वभर स्थापित छ । पत्रकारिता क्षेत्रमा हिजोको परिस्थिति बदलिएसँगै भूमिका र परिचय पनि बदलिएको छ । पत्रकारिता क्षेत्रमा विविधतापूर्ण क्षमताको आवश्यकता पर्दछ ।

सञ्चार माध्यममा आमूल परिवर्तन देखिएको छ । सञ्चार विधि र प्रविधिसँगै हिंड्न सक्ने पत्रकार (सञ्चारकर्मी)को जरूरत परेको छ । अहिले विश्वभर दलाल पूँजीवादी संसदीय व्यवस्था र समाजवादी व्यवस्थाबीच प्रतिस्पर्धा चलिरहेको छ । दलाल पूँजीवादी संसदीय व्यवस्थाका हिमायती पत्रकारहरूले व्यावसायिक पत्रकारिताको नारा अघि सारेका छन् भने वैज्ञानिक समाजवादी व्यवस्थाका हिमायतीहरू जनपक्षीय पत्रकारिताको नारा व्यवहारमा उतार्न प्रयासरत छन् ।

द्वन्द्ववादको नियममा आधारित पत्रकारिता नै जनपक्षीय पत्रकारिता हो । द्वन्द्ववादका नियमहरू भन्नाले विपरीत तŒवबीच एकता र सङ्घर्षको नियम, मात्रात्मक परिवर्तन र गुणात्मक परिवर्तनको नियम, निषेधको निषेध नियम, एकता, सङ्घर्ष र रूपान्तरणको नियम हो । कलम सङ्घर्ष (पत्रकारिता)ले असल र खराब पक्षबीच निरन्तर सङ्घर्ष गर्नुपर्दछ । सङ्घर्षमा सधैं खराब पक्षलाई जित्नु पर्दछ र सकारात्मक रूपान्तरण हुनुपर्दछ ।

पत्रकारिता विज्ञापनको साधन मात्र होइन, यसको सामाजिक जिम्मेवारी र राष्ट्रिय उत्तरदायित्व महŒवपूर्ण अङ्ग हो । मानिस र राजनीति व्यवस्थामा पनि राम्रा र नराम्रा पक्ष हुन्छन् । त्यसकारण विश्वास पनि गर्नुपर्दछ र खराब पक्षको आलोचना गरी सकरात्मक रूपान्तरण गर्न मदत गर्नुपर्दछ । पत्रकारिताको दायरा सीमित छैन । पत्रकारले राम्रा र नराम्रा पक्षसँग विश्वास र शङ्का दुवै गर्नुपर्छ ।

देश र समाजविरोधी दुश्मन र विरोधीहरूप्रति शङ्कालाई प्रधान बनाउनुपर्दछ, तब मात्र सफल र सार्थक पत्रकारिता हुन्छ । पत्रकारिता धन कमाउने, जीविका चलाउने पेशा होइन । समाजको अगुवा, परिवर्तनको संवाहक शक्तिका रूपमा पत्रकारिता खडा हुनुपर्दछ । पेशा र व्यवसायका नाममा पत्रकारिताको नैतिकता र धर्म छाड्नु असफलता र धोका हो । वस्तुको पहिलेको गुणमा नै परिवर्तन भएर नयाँ गुणमा रूपान्तरण हुनुलाई गुणात्मक परिवर्तन भनिन्छ ।

पछिल्लोपटक नेपालको पत्रकारिता जगत्मा सङ्ख्यात्मक वृद्धिसँगै गुणात्मक विकास हुन नसकेको अवस्था छ । गुणात्मक विकास र स्तरीयतामा स्थायित्व महŒवपूर्ण विषय हो । यथास्थितिलाई हेर्ने हो भने नेपालको पत्रकारिता जगत्ले जनघाती, राष्ट्रघाती, दलाल पूँजीवादी राज्यसत्ताविरुद्ध लडेर जित्न सक्ने अवस्था छैन । दलाल पूँजीवादी संसदीय व्यवस्थालाई राम्रो मानेर, यसलाई टिकाउन आफ्नो शक्ति अस्तित्व समाप्त पार्दै गइरहेको अवस्था छ । व्यवस्थामा अव्यवस्था कायम भएको र सुविधाभोगी, अवसरवादी पत्रकारहरूको जमात बढ्दै गएकोले जनपक्षीय पत्रकारिता सङ्कटपूर्ण घडीमा छ ।

ध्येयमूलक (मिशन) पत्रकारिताले गलत दिशा लिएको छ । नेपाली पत्रकारिता दायाँबायाँ केही नहेरी दलाल पूँजीवादी संसदीय व्यवस्थामा नाचिरहेको छ । सामन्ती समाजलाई निषेध गरेर पूँजीवादी समाज अगाडि आएको हो । यसले शोषण, दमन, उत्पीडन, उपभोक्तावाद र अवसरवादको प्रतिनिधित्व गरिरहेको छ । निगम पूँजीवाद समाजवादलाई पतन गराउन उन्मुख छ । जनपक्षीय पत्रकारिता दलाल पूँजीवाद, निगम पूँजीवाद र विदेशी हस्तक्षेप र मानवता विरोधी हरकतविरुद्ध सक्रियतापूर्वक अगाडि बढ्नुपर्दछ । पुरानो सडेगलेको, विकृति र विसङ्गतिपूर्ण दलाल पूँजीवादी संसदीय व्यवस्थाविरुद्ध निषेधको निषेध नियम अँगालेर जनपक्षीय पत्रकारितामा उन्मुख हुन जरूरी छ ।

पुराना सडेगलेका विचार र दलाल पूँजीवादी व्यवहारमा थच्चिएर नेपाली पत्रकारिता जगत्ले देश, काल, परिस्थिति सुहाउँदो पत्रकारिता गर्नै सक्दैन । पत्रकारिता क्षेत्रमा विदेशी लगानी, टाइकुन, माफिया र दलालहरूको प्रवेशले समाजवादोन्मुख व्यवस्था निर्माण गर्न दिंदैन । श्रमजीवी, क्रान्तिकारी, देशभक्त पत्रकारहरूको जमात नै जनपक्षीय पत्रकारहरूको जमात हो ।

राष्ट्रहित र जनहितको पवित्र भावनाका साथ कलम–यात्रा गर्ने पत्रकारहरूको सङ्ख्या घट्दो छ । गलत स्वार्थले गर्दा, व्यक्तिगत स्वार्थको पछि लाग्दा, नेपाली पत्रकारिता राष्ट्रिय स्वार्थको संरक्षण, विधिको शासन र नैतिकता कायम राख्न असमर्थ भएको छ । त्यसैले जनपक्षीय पत्रकारबीच एकता कायम गरेर सङ्घर्ष र रूपान्तरणको नियम पछ्याउँदै हिंड्न जनपत्रकार सङ्गठन नेपालको स्थापना भएको छ । जनपत्रकार सङ्गठन देशैभर पत्रकार भेला, जिल्ला सम्मेलन गर्दै नयाँ परिस्थिति निर्माण गर्न अभियानको रूपमा अगाडि बढेको छ ।

पूँजीवादी उत्पादक शक्तिले प्राकृतिक शक्तिमाथि विजय प्राप्त गर्न थालियो जसले गर्दा विकासको नाममा विनाश, जलवायु परिवर्तनको दुष्परिणाम भोग्न विश्व नै बाध्य भएको छ । बहुसङ्ख्यक श्रमजीवी जनता चौतर्फी शोषण र दमनको चपेटामा परेको छ । जलवायु परिवर्तनको विश्वव्यापी प्रभावले गर्दा पूँजीवादप्रति बहुसङ्ख्यक विश्वका जनताको वितृष्णा प्रकट भएको छ ।

दलाल पूँजीवादी व्यवस्थाले पारेको प्रभाव र असरलाई बेलैमा रोकेर सर्वहितकारी वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यका साथ जनपत्रकार सङ्गठन नेपालमा आबद्ध पत्रकार/सञ्चारकर्मीहरू अगाडि बढेका छन् । पत्रकारिता क्षेत्रमा ‘साइबर बिग्रेड’ बनाउने योजना छ । न्यु वेभमा सञ्चारकर्मीहरूको योग्यता, दक्षता, क्षमता, आवश्यकता अनुभूति र बोध गर्नुपर्दछ ।

मिडिया जनताको धारणा निर्माण गर्ने माध्यम हो । वैज्ञानिक समाजवादका लागि मिडिया क्रान्तिको जरूरत ठानेर जन पत्रकार सङ्गठन नेपाल स्थापना भएको हो । जनपत्रकार सङ्गठन नेपालले वैचारिक कार्यलाई व्यवस्थित गर्न सबैको सहयोग अनिवार्य ठानेको छ । शान्तिपूर्ण तरीकाले अगाडि बढ्दै समाजवादका लागि जनमत सङ्ग्रह गराउन जनपत्रकार सङ्गठनमा आबद्ध सबै पत्रकार आआफ्नो स्थानबाट क्रियाशील भइरहेका छन् ।

ज्ञान सिक्ने ठूलो भाँडो सञ्चार जगत् नै हो । मानव अधिकार उल्लङ्घनबारे स्पष्ट दृष्टिकोण राखेर सञ्चार जगत्ले दायित्व निर्वाह गरेमा सुख, शान्ति अवश्यक देखा पर्दछ । मानव अधिकार उल्लङ्घन गलत सत्ता र सरकारले गर्दछ । मानव अधिकार उल्लङ्घन गर्नेमाथि खबरदारी गर्ने, राष्ट्रघातीविरुद्ध पहरेदारी गर्ने प्रमुख कर्तव्य पत्रकारहरूकै हो ।

पत्रकारले सत्य, तथ्य र यथार्थमा आधारित कुरालाई प्रमुखता दिन्छ । देश र जनताविरुद्ध जान खोज्ने सत्ता र सरकारविरुद्ध पत्रकारले निरन्तर कलम सङ्घर्ष गर्नुपर्दछ । जनताको आवाज प्रस्तुत गर्ने सञ्चारमाध्यम तरबारभन्दा निकै शक्तिशाली हुन्छ । सकारात्मक विचार लेखनलाई बम, तोप, बारुद, बन्दूकले उडाउन सक्दैन । जनपक्षीय पत्रकारिता गर्नेहरूका लागि दलाल पूँजीवादी व्यवस्थाले धेरै दुश्मन उत्पादन गरेको हुन्छ ।

जीवन रक्षा, कलमको सुरक्षा गर्न जनपत्रकार सङ्गठन हरबखत तत्पर छ । जनपक्षीय पत्रकारले सत्य घटना लुकाउन, समाचार खरीदबिक्री गर्न, ब्लैकमेलिङ गर्न, फेक न्यूज, भ्रामक समाचार दिन र राष्ट्रघाती र जनघाती व्यक्ति, तŒव, शक्ति र सरकारसँग सम्झौता गर्न सक्दैन। सम्झौताहीन कलम सङ्घर्ष गरेमा पत्रकारले अवश्य उच्च मर्यादा कायम राख्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here