प्रस, जनकपुरधाम, २७ भदौ/

प्रदेश–२ प्रदेश सरकारले मास्कको प्रयोग नगर्ने सेवाग्राहीलाई सेवा प्रवाह नगर्ने निर्णय गरेको छ। आइतवार सम्पन्न प्रादेशिक कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो ।

“मास्क प्रयोग नगर्नेलाई सेवा नदिने निर्णय भएको छ । ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने निर्णय गरेका छौं,” प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दीले सञ्चारकर्मीको जिज्ञासामा बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाए अनुसार प्रदेशमा कोरोना सङ्क्रमितहरूको सङ्ख्यामा कमी आएको बैठकले ठहर गरेको छ । सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि सर्वसाधारणले मास्कको प्रयोग गर्न बेवास्ता गरिरहेकाले पुनः महामारी फर्कन सक्ने सम्भावनालाई ध्यानमा राखेर मास्क लगाउने अभियानलाई प्रादेशिक कोभिड सङ्कट व्यवस्थापन केन्द्रले प्राथमिकता दिएको हो ।

सर्वसाधारणलाई मास्क प्रयोग गर्न लगाउने सम्बन्धमा सञ्चारमाध्यममा जनचेतनामूलक विज्ञापन प्रकाशन र प्रसारण गराउने पनि केन्द्रको बैठकले निर्णय गरेको जनाइएको छ । मुख्यमन्त्री गद्दीको अध्यक्षतामा सम्पन्न बैठकमा सरोकारवाला निकायका प्रतिनिधिको पनि सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here