प्रस, वीरगंज, २७ भदौ/

प्रहरी हिरासतबाट एकजना लागूऔषध मुद्दाका आरोपी फरार भएका छन् । नारायणी अस्पताल वीरगंजमा उपचारार्थ भर्ना भएका चितवनको भरतपुर महानगरपालिका–३ निवासी १६ वर्षीय विक्की सोनार आइतवार बिहान फरार भएका हुन् ।

भदौ १६ गते २१ थान फेनारगनसहित सोनार पक्राउ परेको र उनीविरुद्ध लागूऔषध मुद्दा दर्ता भएको थियो । भदौ २२ गते सोनारले हिरासतमा नै रगत छादेपछि उनलाई उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

भर्नाको क्रममा आज बिहान ८ बजे उनी फरार भएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए। सोनारको निगरानी गर्न अस्पतालमा हवल्दार खटेका थिए । हतकडीसहित अस्पतालमा उपचार गराइरहेका सोनार हतकडी फुकालेर फरार भएको घटनाले उनको निगरानीमा खटेका हवल्दारमाथि शङ्का गरिंदैछ । हवल्दारसँग यस विषयमा छानबिन भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here