–नारायण ढुङ्गाना
मनसुनको अवधि जूनदेखि सेप्टेम्बर पूरा नहुँदै (चार महीना नपुग्दै) मुलुकमा सरदरभन्दा बढी वर्षा भएको छ । अझ उत्तरी भूभागमा बढी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ ।
मुलुकका विभिन्न मुख्य २० वर्षा मापन केन्द्रलाई आधार मानेर निकालिएको औसत मौसमी विवरण अनुसार उक्त चार महीनामा मुलुकमा सरदर एक हजार ४०३ मिलिमिटर पानी पथ्र्याे तर अहिले १८ दिनअघि नै एक हजार ५२७ मिलिमिटर पानी परिसकेको छ ।
मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखा प्रमुख, वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलका अनुसार सेप्टेम्बर १२ अर्थात् आजसम्मको विश्लेषण गर्दा सरदर एक हजार २६८ मिलिमिटर वर्षा हुनुपर्ने थियो तर औसत विवरण अनुसार २६९ मिलिमिटर बढी पानी परिसकेको छ । यो सरदर वर्षाको अनुपातमा आजसम्मको वर्षा विश्लेषण गर्दा १२० दशमलव ४ प्रतिशत हो । उनका अनुसार सरदर वर्षाको अनुपात भने ९० देखि ११० प्रतिशतलाई मानिन्छ ।
काठमाडौंमा पनि यसपालि बढी वर्षा भइसकेको छ । विभागका अनुसार काठमाडौंमा आजसम्म सरदर एक हजार ७२ दशमलव ५ मिलिमिटर वर्षा हुनुपर्नेमा आजसम्म एक हजार ३५१ दशमलव २ मिलिमिटर पानी परिसकेको छ । मनसुनको अवधि (सेप्टेम्बर अन्तिम)सम्म एक हजार १७६ मिलिमिटर पानी पर्नुलाई सरदर वर्षा मानिन्छ । अहिले नै वर्षा नाघिसकेको छ । काठमाडौंमा आजसम्मको तुलना गर्दा १२६ प्रतिशत पानी परिसकेको छ । चार महीनाको मनसुन अवधिको औसत निकाल्दा भने यो ११५ प्रतिशत हुन आउँछ ।
प्राप्त विवरण अनुसार जोमसोममा सबैभन्दा बढी वर्षा भएको छ । सरदर १३७ दशमलव १ मिमिमिटर पानी पर्नुपर्नेमा त्यहाँ ३३९ दशमलव ३ मिलिमिटर पानी परिसकेको छ । कँडेलका अनुसार यो सरदरको २५४ दशमलव ८ प्रतिशत हो । यसपालि दोस्रो बढी पानी पर्ने अर्काे केन्द्र भैरहवा हो । त्यहाँ १४० दशमलव ७ प्रतिशत वर्षा भएको छ । उनका अनुसार आजसम्म एक हजार २४९ दशमलव ८ प्रतिशत सरदर वर्ष हुनुपर्नेमा एक हजार ९२५ मिलिमिटर पानी परिसकेको छ ।
मुलुकमा यसपालि औषधभन्दा बढी वर्षा हुने आकलनकै बीच भारी वर्षापछिको बाढी, पहिरो र डुबानले ७१ जिल्लालाई नराम्ररी प्रभावित बनायो । मुख्यतः सिन्धुपाल्चोक, मनाङ, पाल्पा, कास्की, दाङ, पर्वतलगायत एक दर्जन जिल्ला मानवीय र भौतिक क्षतिका दृष्टिले बढी प्रताडित छन् । सरकारले मनाङ र सिन्धुपाल्चोकलाई त विपद् सङ्कटग्रस्त जिल्ला नै घोषणा गरेर आवश्यक पुनरुत्थानका कार्य अघि बढाइसकेको छ ।
मनसुनजन्य घटना (बाढीपहिरो र डुबान)का घटनामा मात्रै यसपालि मुलुकभर १३० जनाको मृत्यु भयो भने अझै ४१ जना हराइरहेका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोकमा मानवीय क्षति भएको छ । उक्त जिल्ला गत वर्ष पनि विपद्का दृष्टिले सबैभन्दा बढी प्रभावित थियो ।
जल तथा मौसम विज्ञान विभागले गत वैशाखमैं मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली गण्डकी, वाग्मती प्रदेशका अधिकांश स्थान तथा प्रदेश १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी (३५ देखि ६५ प्रतिशत) वर्षा हुने अनुमान गरेको थियो ।
उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा हुने आकलन गरिएको थियो । प्रदेश १ को तराई र प्रदेश २ को पूर्वी जिल्लामा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको थियो । विभागले विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रको हावापानी प्रारूप, जल तथा मौसम विज्ञान विभागको मनसुनी वर्षा र दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा उक्त निष्कर्ष निकाल्ने गरिन्छ ।
नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको अवस्था, जलवायु प्रारूपको मनसुन अवधिको आकलन, युरोप तथा एशियामा गत हिउँद तथा प्रिमनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत मध्यनजर गरी उक्त आकलन तयार पारिन्छ । यसपालि गएको वैशाखमैं आकलन गरिएको थियो । त्यसमा नेपाल, भारत, म्यान्मालगायत नौ देशका मौसमविद् सहभागी थिए ।
के अब मौसम खुलेकै हो ?
ठूलाठूला विपद्का घटना निम्तिएपछि पछिल्ला केही दिनदेखि बिस्तारै मौसम सफा हुँदै गएको हो कि भन्ने महसूस गराएको छ । कर्णाली प्रदेशबाहेक आज धेरै ठाउँमा घाम लागेको छ । के अब मौसम खुलेकै हो त ? यसपालिको विपद् यति नै हो त ? आम सर्वसाधारणमा प्रश्न खेलिरहेको छ । त्यही प्रश्न मौसमविद्सँग राख्दा त्यो अनुमान गर्न अझै हतारो हुने प्रतिक्रिया प्राप्त भएको छ । उनीहरूका अनुसार अझै विपद् टरिसकेको छैन ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मी भन्छन्, “मनसुन नसकिंदासम्म जोखिम कायमै रहन्छ, खुलेको जस्तो देखिए पनि कुनै पनि बेला मनसुन सक्रिय भएर भारी वर्षा हुन सक्छ, नियमित अद्यावधिक रहनुपर्छ ।”
यसपालिको मनसुनका समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको थियो । सोही अनुसार नै वर्षा भएको जनाइएको छ । नेपालमा यसपालि मनसुन दुर्ई दिन ढिला गरी गएको जेठ २८ गते भित्रिएको थियो । आगामी असोज १७ को आसपास मनसुन बाहिरिनेछ ।
मनसुन जेठ ३० गतेदेखि देशैभरि सक्रिय भयो । त्यसको अर्काे दिनबाटै भारी वर्षा शुरू भई जनजीवन प्रभावित बनायो । सुरुआती वर्षाले मनाङ र सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधनको क्षति गरायो । असार १ र असार १६ गते पुनः भारी वर्षा हुँदा सिन्धुपाल्चोकमा दोहोरिएर क्षति भयो । अघिल्लो हप्ता तराईका जिल्लामा भारी वर्षा हुँदा बाढी र डुबानको समस्या निम्तियो ।
गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार सिन्धुपाल्चोकमा अहिलेसम्म छजनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा मात्रै २४७ घर बाढीले भत्काएको छ । कुल एक हजार ७०० रोपनीभन्दा बढी जमीन लगेको छ । जग्गामा मात्रै रु तीन अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।
उता जिल्लाको हेलम्बु गाउँपालिकामा २२७ घर बग्यो । कुल दुर्ई हजार १०० रोपनी बढी जग्गा लगेको विवरण प्राप्त छ । यस्तै पाल्पामा छ, कास्कीमा सात, दाङमा १० र पर्वतमा १३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
यसपालि मनसुनजन्य विपद्का कारण ७१ वटन जिल्ला प्रभावित भएका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठ अहिले मुलुकभर मौसम सामान्य बदली रहे पनि कर्णाली प्रदेशमा छिटपुट वर्षा भइरहेको जानकारी दिन्छन् । “सोमवार पनि मौसम सामान्य नै छ, मङ्गलवार केही बदली हुन सक्छ,” श्रेष्ठले भने । उनले पनि तत्कालै भारी वर्षाको सम्भावना भने नदेखिएको बताए । यद्यपि मनसुन नबाहिरिंदासम्म कुनै पनि बेला बदली हुने श्रेष्ठको भनाइ छ ।
वैशाखयताका घटना र मानवीय क्षति
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाखयता कुल एक हजार ७६२ वटा विपद्का घटना भएका छन् ।
ती घटनाबाट २३४ जनाको मृत्यु भएको छ । यसमा बाढीपहिरो र डुबानबाहेकका विपद्जन्य घटनासमेत समावेश छन् । तीनवटा घटनामा ४१ जना हराइरहेका छन् भने ४६४ जना घाइते भए । कुल दुर्ई हजार २७८ परिवार प्रभावित छन् । कुल सात अर्ब ७७ करोडको क्षति भएको अनुमान गरिएको छ ।
जसमा सबैभन्दा बढी ६७९ वटा आगलागीका घटना भए । यद्यपि मानवीय क्षतिका हिसाबले भने सबैभन्दा बढी पहिरोबाट ७७ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी बाढीमा परेर ३२ जना बेपत्ता भएका छन् ।
प्राप्त विवरण अनुसार आगलागीमा परी १४, पहिरोमा ७७, बाढीबाट ३८, अविरल वर्षाका कारण १६, चट्याङबाट ४८, सर्पको टोकाइबाट १६, डढेलोबाट तीन, हावाहुरीका कारण एक र जनावरको आक्रमणबाट २१ जनाले ज्यान गुमाएका छन् ।