लुम्बिनी, २३ भदौ/रासस

नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा पार्टीमा कुनै मतभेद नरहेको बताएका छन् । सरकारले एमसिसीको प्रस्ताव संसद्मा पेश गर्नासाथ एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उनले बताए ।

प्रेस चौतारी नेपाल, रूपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव पौडेलले एमालेले राष्ट्रको हितलाई केन्द्रमा राखेर र जनताको चाहना अनुसार निर्णय गर्ने बताए । एमसिसीका विषयमा सत्ता गठबन्धनका सहभागी दल नै एकमत नरहेको उनको भनाइ थियो । एमाले विभाजन नभई सर्पले झैं काँचुली मात्र फेरेर पार्टीमा नयाँ जीवनको सुरुआत भएको पौडेलले सुनाए ।

पार्टी विभाजन विचार र दर्शनका आधारमा नभई लोभ तथा अवसरका लागि भएको पौडेलले आरोप लगाए । सरकारले एमाले विभाजनका लागि ल्याएको अध्यादेश कुनै पनि हालतमा संसद्बाट पारित हुन नसक्ने उनको भनाइ थियो ।

पार्टीको लुम्बिनी प्रदेशको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले लुम्बिनी प्रदेशमा पार्टी विभाजनको कुनै असर नपरेको बताए । प्रदेश कमिटी बैठकले पार्टी एकीकरणका लागि कार्यदलले तयार गरेको १० बुँदे सम्झौतालाई सकारात्मकरूपमा लिएर रचनात्मकरूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here