• सञ्जय साह मित्र

पहिले तीजलाई कठोर व्रतको रूपमा लिइन्थ्यो । अहिले पनि तीजलाई कठोर व्रतकै रूपमा लिइन्छ तर दशकौं पहिलेको कठोरताभन्दा केही नरमपन आएको कतिपयको विश्लेषण छ । तीजलाई पहिले पूर्ण धार्मिक व्रतको रूपमा लिइन्थ्यो भन्नेहरू पनि छन् । अहिले यस व्रतले फरक स्वरूप धारण गर्दै गएको छ । तीज अहिले धार्मिक व्रत होइन भन्न खोजिएको कदापि होइन । धार्मिक मान्यता तथा धार्मिक विश्वास र पौराणिक आधारहरू समाजमा पर्याप्त रहेको देखिन्छन् र भेटिन्छन् । हाम्रा अधिकांश चाडपर्वको सम्बन्ध सोझोरूपमा धर्मसित रहेको देखिन्छ । अझ तीजको सम्बन्ध त देवाधिदेव महादेवको विवाहसित रहेको मान्यता छ ।

सम्भवतः विश्वमैं सबैभन्दा बढी तामझामका साथ तीज मनाइने देश नेपाल हुनुपर्छ । नेपालका पनि हिन्दूहरूको एउटा पर्व हो तीज । नेपाली हिन्दूमा सर्वाधिक महŒवका साथ दशैंलाई मनाउने गरिएको पाइन्छ भने नेपाली महिला हिन्दूहरूको सबैभन्दा ठूलो पर्वको रूपमा तीज रहेको मानिन्छ । हो, नेपालमा हिन्दू धर्मप्रति आस्था राख्नेहरू पनि विभिन्न समुदायका छन् । मधेसी समुदायको सबैभन्दा ठूलो पर्व छठ र होली हो । छठ र होलीलाई पहाडी समुदायले मान्दैनन् भन्ने होइन ।

यसैगरी, तीजलाई मान्ने मौलिकतामा हिन्दू समुदायकै पहाडी समुदाय र मधेसी समुदायमा भिन्नता रहेको छ । एउटै पर्वलाई भिन्नभिन्न किसिमले मान्नु पनि मौलिकता हो तर सांस्कृतिक अन्तर्घुलनले गर्दा अहिले बिस्तारै एकको प्रभाव अर्को समुदायमा पर्न थालेको छ । यसले गर्दा कतिपय चाडपर्वमा दुवैतिरको प्रभाव परेको देख्न सकिन्छ ।

तराई–मधेसमा मधेसी समुदायका महिलाले मान्ने तीज धार्मिक हुन्छ । तराई मधेसका महिलाले नाचगान गरेर तीज मनाउने गरेको पनि खासै पाइन्न । तीज मान्न माइत नै जाँदा राम्रो वा तीजमा माइत जानुपर्छ भन्ने सामाजिक दृष्टिकोण पनि खासै रहेको पाइन्न । तीजको व्रत बस्नेले छठको व्रतजस्तै व्रतको अवधिभर पानी पनि पिउनुहुन्न भन्ने मान्यता राख्दछन् व्रतालुले । सुख र सुविधा अनुसारको सामग्री लाउने र चढाउने गर्दछन् । यदि राम्ररी हेर्ने हो भने तीजमा मुख्यरूपमा शिवकै पूजा गरिए पनि तराई र पहाडमा शिवलाई अर्पण गरिने सामग्रीमा भने केही भिन्नता रहेको देखिन्छ । यसलाई स्वाभाविक मान्नु उचित हुन्छ ।

एउटा मान्यता के रहेको छ भने हिमालयपुत्री पार्वतीको उमेर पुगेपछि विष्णुसित विवाह गरिदिने इच्छा थियो पिताको । पिताको चाहना अनुसार पार्वतीलाई भगवान् विष्णुसित विवाह गर्ने इच्छा थिएन । भगवान् शिवको सय वर्षसम्म तपस्या गरिन् पार्वतीले । सय वर्षसम्म तपस्या गर्दा पनि शिवले दर्शन नदिएपछि अन्न र जल त्याग गरेर कठोर तपस्या गरिन् । पार्वतीको कठोर तपस्याले भगवान् शिव खुशी भएर दर्शन दिए ।

भगवान्ले आफूले खुशी भएर दर्शन दिएको र इच्छा पूरा हुने आशीर्वाद दिएका थिए । पार्वतीको चाहना अनुसार नै भगवान् शिवसित पार्वतीको विवाह सम्पन्न भएको थियो । कतिपय प्रसङ्गमा कस्तो पनि पाइन्छ भने पार्वतीको विवाह यही तीजकै दिन भगवान् शिवसित भएको थियो । भगवान् शिवलाई वरण गर्न पाएको वा भगवान् शिवलाई खुशी तुल्याउन पाएको जुन व्रत छ, सोही व्रतलाई आजका हिन्दू नारीहरूले तीजको रूपमा मनाउन थालेका हुन् वा त्यसै समयदेखि नै महिलाहरूले तीजको व्रत लिन थालेका हुन् । तीजको व्रत बस्दा भगवान् शिवले नै व्रतालुले चिताएको पूरा गर्दछन् भन्ने मूल मान्यता रहेको छ ।

यदि वर्तमान हिन्दू समाजलाई विचार गर्ने हो भने भदौ महीनालाई त्यति राम्रो महीनाको रूपमा लिइएको पाइन्न । भदौलाई कतिपयले अशुभ महीनाको रूपमा मान्ने गरेको पाइन्छ । यसैले गर्दा यस महीनामा पारिवारिक तथा सामाजिक शुभ कार्यहरू गर्नुहुँदैन भन्ने मान्यता पनि रहेको पाइन्छ । यदि राम्ररी हेर्ने हो भने भदौ महीनामैं भगवान् श्रीकृष्णको जन्म भएको हो । भगवान् शिव र पार्वतीको विवाह पनि माथिको मान्यता अनुसार यसै भदौ महीनामैं भएको हो । जुन महीनामा भगवान्को जन्म हुन्छ, त्यो महीना कसरी अशुभ ? जुन महीनामा भगवान्को विवाह हुन्छ, त्यो महीना कसरी विवाहकै दृष्टिकोणले अनुपयुक्त ? आदि प्रश्न नउब्जिने होइन ।

हुनत भगवान्सित मानिसको तुलना गर्नु त्यति उचित हुँदैन भनेर पनि मानिन्छ । भगवान् भनेकै सबैभन्दा ठूलो विशिष्टता हो । भगवान्ले गरेको कुरामाथि प्रश्न उठाउनुहुँदैन । भगवान्ले जे गरेका हुन्छन्, लोकहितका लागि गरेका हुन्छन्, त्यसमा अनेक रहस्य लुकेका हुन्छन् । सामान्य मानिसले भगवान्को अनुकरण गर्नु उचित हुँदैन । भगवान् बन्ने प्रयास पनि गर्नुहुँदैन भन्ने जस्ता सामाजिक सोचाइ वा दृष्टिकोण नभएका होइनन् ।

हो, समाजमा यस्ता कुरा पाइन्छन् र विश्वास पनि रहेको देखिन्छ । यदि समाजका यस्ता कुराहरूको विरोध गर्ने हो भने नराम्रो पनि हुन बेर हुँदैन । सामाजिक संस्कृति र चलनहरूको विरोध गर्नुपर्छ भन्ने पनि होइन । हाम्रा संस्कृतिमा रहेका कतिपय मान्यताको परीक्षण हुन बाँकी छ भन्ने हो तर यसको अर्थ यो कदापि होइन कि हामीले हाम्रा संस्कृतिमाथि अनावश्यक प्रश्न उठाएर संस्कृतिलाई होच्याउने काम गर्नु उचित हुन्छ ।

तीज अहिले देशभरि अत्यन्त धूमधामका साथ मनाइन्छ वा मानिन्छ । अझ सरकारले तीज पर्वलाई मान्यता दिएर दशकौंदेखि महिला बिदा दिने गरेको छ । यस बिदाले गर्दा यस व्रतको महŒव अझ बढ्न गएको छ । तीजको दुई/चार दिन पहिलेदेखि नै महिलाहरू किनमेल गर्न थाल्छन् । यसको अर्थ यो पनि हो कि तीज बिस्तारै एकदिवसीय पर्व नभएर बहुदिवसीय हुन पुगेको छ । तीजको एक/दुई दिन पहिले कतै लाग्ने हाटबजार होओस् वा शहर बजार होओस्, सामान किन्नेको भीडभाड त भइहाल्छ, साथमा पहिलेको तुलनामा महँगीमा पनि वृद्धि भएको हुन्छ । हुनत महँगी हरेक चाडपर्वको स्वाभाविक बजार गुण हुन गएको छ । यद्यपि महिलाले मन पराउने तथा तीजसित सम्बन्धित सामग्रीको मूल्य अस्वाभाविकरूपमा तीजको समयमा बढ्ने गर्दछ ।

तीजलाई पर्वहरूको समूह पनि भन्न सकिन्छ । अहिलेको अवस्थामा तीजको भोलिपल्ट चौठी वा चकुचन्ना मनाइन्छ भने पर्सिपल्ट ऋषिपञ्चमी । कतिपय महिलाहरू यी तीन पर्व एकसाथ गर्दछन् । यसले गर्दा कतिपय घरमा तीन दिनसम्म लगातार व्रतको माहोल हुन्छ । आखिरमा व्रतमा महिलाको भूमिका नै प्रधान हुने गर्दछ । महिलाको भूमिका प्रधान हुँदा शायदै कुनै घर होला, जहाँ महिलाले गर्दै आएका नियमित काममा पुरुषले सहयोग गरोस् वा महिलाको सम्पूर्ण काम पुरुषले गरिदेओस् ।

अझ अहिलेको स्थितिमा धेरै महिला कार्यालय तथा अन्य क्षेत्रमा सक्रियरूपमा लागेका छन् । तीजलगायतका व्रत पनि गर्नु छ र घरपरिवारलाई पनि समय दिनैपर्ने हुन्छ । यसले गर्दा तीजलाई पहिले जसरी महिलाको पर्व भनिन्थ्यो र अहिले जसरी महिलाको पर्व भनिन्छ, यी दुईमा धेरै भिन्नता रहेका छन् । महिलाले घरको काम एकछिन नगर्दा पनि हुन्छ तर कतिपय कार्यालयमा केवल सम्बन्धित व्यक्तिले नै गर्नुपर्ने काम हुन्छ र त्यस कामको जिम्मेवारी यदि कुनै महिलामाथि रहेको छ भने त्यस कामलाई व्रतको कारण रोक्न वा सार्न सकिंदैन । व्रतको भोलिपल्ट वा पर्सिपल्ट आफैंले गर्नुपर्ने हुन्छ ।

यस कारण समयसँगै परिस्थिति पनि फेरिएको हुन्छ र महिलाको हकमा जिम्मेवारीसँगै व्रतको परिपालना अर्थात् संस्कृतिको निर्वहन पनि उत्तिकै महŒवपूर्ण हुन्छ र भएको देखिन्छ पनि समाजमा ।

तीजले अहिले सामाजिक जागरणको काम पनि गरेको छ । समाज तथा राजनीतिको क्षेत्रमा भएका उपलब्धि र विकृतिसमेतलाई तीजको गीतमा समेटिएको पाइन्छ । तीजको अर्थतन्त्र आफैंमा विशाल बनेको छ । यसरी तीजको आयाम वर्तमान नेपाली समाजमा विशाल र विस्तृत बन्न पुगेको छ भन्दा अत्युक्ति नहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here