काठमाडौं, ७ भदौ/रासस

नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (युएई)मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन्। 

युएईमा भइरहेको एएसबिसी एशियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनशिपमा शेर्पाले आइतवार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेका हुन्। जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ किलोतर्फ क्वाटरफाइनलमा ५–० अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गरेका युएईमा नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टले जानकारी दिए। यस्तै, जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवाले पनि पदक पक्का गरेकी छन्। उनी सम्मिलित स्पर्धामा कुल चार खेलाडी मात्र सहभागी भएका छन्। प्रतियोगितामा नेपालबाट शेर्पा र तिरुवासँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरी तथा महिला ५७ किलोमा नारिका राई सहभागी भएका छन्।  गत महीना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो। टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी छन्। टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहेका छन्। प्रतियोगिता आगामी असोज १५ गतेसम्म सञ्चालन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here