बारा वनको ४४६ हेक्टरमा वृक्षारोपण

0

प्रस, निजगढ, ७ भदौ/

आर्थिक वर्ष २०७६/७७ र गत आर्थिक वर्ष २०७७/७८ मा गरी बाराका ४४६.१६ हेक्टर अर्थात् ६६९.२४ बिघा वनक्षेत्रमा वृक्षारोपण गरिएको छ। जसमध्ये निजगढ वनक्षेत्रको १३६.५५ हेक्टर, कोल्हवी वनक्षेत्रको १२६.५५ हेक्टर र जीतपुरसिमरा वनक्षेत्रको १८३.०६ हेक्टर जमीनमा वृक्षारोपण भएको डिभिजन वन कार्यालय बाराका प्रमुख एवं डिएफओ मन्जुर अहमदले बताए।

जसमध्ये निजगढमा १८ हेक्टर, कोल्हवीमा ३० हेक्टर, जीतपुरसिमरा वनक्षेत्रमा २२ हेक्टर गरी ७० हेक्टर क्षेत्रफलमा डिभिजन वन कार्यालय बाराले बिरुवा रोपण गरेको र बाँकी ३७६.१६ हेक्टर वनक्षेत्रमा नेपाली सेनाले वृक्षारोपण गरेको थियो। सेनाले वनबाट उपलब्ध बिरुवाबाट वृक्षारोपण गरेको हो। फास्ट ट्र्याक निर्माण गर्दा रूख कटानी गरी हानिनोक्सानी गरेबापत शोधभर्नाका लागि वृक्षारोपण गरिएको वन कार्यालयले जनाएको छ। वृक्षारोपण गरिएको क्षेत्रफलमा करीब ४ लाख ५० हजार बिरुवा रोपिएको वन कार्यालयले जनाएको छ।

मलेसियन साल (महोगनी), टिक, मसला, बाँस, फलफूलमा आँप, लिच्ची, कटहरलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको डिएफओ अहमदले बताए। आयमूलक प्रजातिका बिरुवा रोपिएकाले केही वर्षमा बिरुवा हुर्केबढेसँगै बर्सेनि आम्दानी हुने उनले बताए। सोबाट हुने आर्थिक लाभ राष्ट्रिय वनक्षेत्रबाहेकका सामुदायिक वन समूह, साझेदारी वन व्यवस्थापन समितिलाई थप आम्दानीको स्रोत हुने डिएफओ अहमदले बताए।

वनक्षेत्रमा अतिक्रमण बढ्न सक्ने र अतिक्रमण गरी खेतीबाली, घरटहरा बनाइएका स्थान खाली गराएर पनि वृक्षारोपण गरिएको छ। यसरी अतिक्रमित वनक्षेत्र खाली गराउन एक/डेढ वर्ष लागेको र आगामी एक दशकभित्र वृक्षारोपण पूर्णरूपमा प्रभावकारी हुने उनले बताए। वनक्षेत्र फेरि अतिक्रमण नहोस् भनेर वृक्षारोपण गरिएको उनले बताए।

वन कार्यालयले समन्वयकारी भूमिका खेल्दै स्थानीय तह, प्रहरी, प्रशासन, सेनाको सहयोगमा काँडेतार घेराबारसहित वृक्षारोपण गर्न सफल भएको हो। वृक्षारोपण गर्ने स्थानको पहिचान गरी सेनाले पनि काँडे तारबार गरी बिरुवा रोपेको हो। सेनाले वृक्षारोपण गरिएको क्षेत्रको पाँच वर्षसम्म रेखदेखको जिम्मेवारी लिएको छ। जसले गर्दा फेरि सो क्षेत्र अतिक्रमणको शिकार हुने सम्भावना छैन। वृक्षारोपण गरिएको क्षेत्रको रेखदेखका लागि आसपासका स्थानीय महिला/पुरुषलाई नै हेरालु राखिएको छ। हेरालुहरूले पुनः अतिक्रमण गर्न खोजिए, तारबार भत्काए तुरुन्तै वन कार्यालयमा सूचना गर्नेछन्।

शुरूमा रोपिएका बिरुवा हुर्कन नसकेको र सो स्थानमा पुनः वृक्षारोपण गरिएको छ। पुनः वृक्षारोपण गरिएका बिरुवाहरू पाँच वर्षमा हुर्कने र पुनः डिभिजन वन कार्यालय बारालाई हस्तान्तरण गर्ने काठमाडौं तराई–मधेस दु्रतमार्ग सडक आयोजना वृक्षारोपण कार्यदल निजगढका प्रमुख मेजर उज्ज्वल केसीले जानकारी दिए।

बारा जिल्लाको कुल वनक्षेत्र ४७ हजार १८२ हेक्टरबाट पर्सा राष्ट्रिय निकुञ्ज विस्तार गर्दा १६ हजार हेक्टर, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ८०४८ हेक्टर र काठमाडौं तराई–मधेस दु्रतमार्ग सडक आयोजना निर्माणमा लगभग ३० हेक्टर वनक्षेत्र घट्न गई हाल बाराको वनक्षेत्र २३ हजार ५८ हेक्टरमा खुम्चिन पुगेको छ।

बाराको साबिक वनक्षेत्रको क्षेत्रफलमा करीब ५० प्रतिशत वनक्षेत्र घटेसँगै बारा ‘क’ वर्गको वनक्षेत्रबाट ‘ग’ वर्गमा झरेको छ। वनक्षेत्र घटेसँगै वनक्षेत्रको संरक्षण, अतिक्रमित वनक्षेत्र फिर्ता ल्याइ वृक्षारोपण गरेर वनक्षेत्र बढाउने प्रयास भएको डिएफओ अहमदले बताए।

वन संरक्षणमा वन कर्मचारीले मात्रै नभई वनक्षेत्र आसपासका प्रत्येक स्थानीय नागरिक, जनप्रतिनिधि, समाजसेवी, प्रहरी प्रशासनले गम्भीरतापूर्वक संरक्षणमा चासो दिनुपर्ने उनको सुझाव छ।  कोल्हवी हरित नगरपालिका बनाउने उद्देश्यका साथ कोल्हवी नपामा निर्माण भएका सडकका दुवै किनारमा वृक्षारोपण गरिएको नगरप्रमुख भरतबहादुर भण्डारीले बताए। वनसँगैको सिमाना जोडिएको नगरपालिका भएपनि कतिपय अतिक्रमित वनक्षेत्रलाई हटाइ वृक्षारोपण कार्यमा नगरपालिकाले सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि वन कार्यालयलाई सकारात्मक सहयोग गर्न उनले प्रतिबद्धता जाहेर गरेका छन्।

वनक्षेत्रको संरक्षणबाट हरियाली बढ्ने, वनक्षेत्र घना भई वर्षा हुँदा पानीको स्रोत रहिरहने र चुरे क्षेत्रको संरक्षणमा टेवा पुग्नेछ। पानीको स्रोतविना तराई–मधेसका खेतीयोग्य जमीन सुक्खा हुने बताउँदै मानवजीवन, वन्यजन्तुलगायत यहाँ रहेका हरेक प्राणीको प्राण रक्षाका लागि वन संरक्षण कार्यलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने डिभिजन वन कार्यालय बाराका प्रमुख अहमद बताउँछन्।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here