चितवन, ३१ साउन/रासस
कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वी चितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको समेत सुरुआत गरेका छन् । उत्पादित बिजुली कुखुराका खोरमा प्रयोग गरिएको छ । उनका अनुसार सुलीबाट मासिक रु एक लाख हाराहारीको विद्युत् उत्पादन भएको छ ।
खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको अन्नपूर्ण पोल्ट्री बिडर्स फार्म प्रालिमा जडित बायोग्याँस प्लान्टबाट विद्युत् उत्पादन हुँदै आएको हो । फार्मले ६२ केभिएको जेनेरेटर ग्याँसबाटै सञ्चालनमा ल्याएको छ । यससँगै तीन फार्मलाई आवश्यक पर्ने विद्युत् यहींबाट उत्पादन भएको छ । फार्मका सञ्चालक अर्यालका अनुसार शुरूमा रु १२ लाख खर्च गरेर ग्याँस उत्पादन थालिएको हो ।
यसको प्रभावकारिता राम्रो देखिएपछि रु एक करोड ६५ लाख खर्च गरेर अत्याधुनिक सिएसटिआर प्रविधि अन्तर्गत ५०० घनमिटरको आधुनिक डोमबाट ग्याँस उत्पादन हुँदै आएको छ । यसका लागि विश्व बैंकले ऊर्जा विकास कम्पनीमार्फत रु ५२ लाख अनुदानसमेत दिएको उनको भनाइ छ ।
सुलीबाट ग्याँस उत्पादन भएपछि गन्ध हराउने र मल थप प्रभावकारी हुने भएपछि उनी यसप्रति आकर्षित भएका हुन् । यससँगै इन्धन बचाउने काममा ग्याँस प्रभावकारी भएको छ । निकट भविष्यमा दुर्ई हजार घनमिटरको डोमबाट बायोग्याँस उत्पादन गर्ने तयारी उनको छ ।
उनका अनुसार बैंकले प्रस्ताव स्वीकृत गरेको छ । यो परियोजना सम्पन्न हुँदै गर्दा दुर्ई लाख १५ हजार कुखुरालाई आवश्यक पर्ने सम्पूर्ण इन्धन ग्याँसबाट पूरा हुनेछ । यसका लागि करीब रु १२ करोड खर्च हुनेछ । सोमध्ये रु चार करोड विश्व बैंकले अनुदान दिने उनको भनाइ छ । यसबाट २५० केभिएको जेनेरेटर चल्नेछ । यसले अत्याधुनिक वातानुकूलित खोरमा आवश्यक विद्युत् पूरा गर्ने उनले बताए ।
अहिले खोरमा एक लाख कुखुरा छन् । केही महीनाभित्रमा दुर्ई लाख १५ हजार पु¥याउनका लागि आधुनिक खोर बनिरहेका छन् । नेपालमा उच्चस्तरको केज प्रविधि भिœयाउने अर्याल सरकारी जागीर छाडेर यो पेशामा लागेका हुन् । २००८ असार ११ गते काठमाडौंको ज्याठामा जन्मेका उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
बुबा अदालतमा जागीर गर्ने हुँदा उनले देशका विभिन्न जिल्लामा रहेका जेपी हाईस्कूल, भुटनदेवी हाईस्कूल, ठाकुर राम क्याम्पस, त्रिचन्द्र कलेज, शङ्करदेव क्याम्पसलगायतमा अध्ययन गरेका छन् ।
अठार वर्ष नेपाल बैंकमा जागीर गरेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अर्याललाई विसं २०५० मा माध्यमिक शिक्षा विकास परियोजनाको निर्देशकमा नियुक्त गरेसँगै उनी राजनीतिक नियुक्तितर्फ लागेका थिए । लम्जुड्ढा नेपाली काङ्ग्रेसका नेता श्रीकान्त अधिकारी र उदयनाथ अधिकारीलगायतको नाता सम्बन्धका कारण राजनीतिमा प्रवेश गरेका उनी निर्देशक पदबाट हटेसँगै आफ्नै व्यवसाय थालेका हुन् ।
उनकी बहिनी डिना उपाध्याय अहिले पनि काङ्ग्रेसको केन्द्रीय नेता हुन् । विसं २०५२ मा चितवन झरेर उनले कुखुरापालन व्यवसाय शुरू गरेका हुन् । उनकी पत्नी सुमा अर्यालले जनकपुर चुरोट कारखानाको अधिकृतको जागीर छोडेर यो पेशा अँगालेकी हुन् ।
अध्ययनका कारण उनीहरूले सामान्य नभएर अत्याधुनिक प्रविधिमा जानुपर्छ भन्ने सोचका साथ व्यवसाय शुरू गरेका हुन् । सो ठाउँमा दुर्ई बिघा १० कट्ठा जग्गा खरीद गरेर उनले स्वचालित केजमार्फत व्यवसाय शुरू गरेका हुन् । उनले भने, “नेपालमा हामीले पहिलोपटक अटोमेटिक केज भिœयाएका हौं ।” उनीहरूको क्लोज हाउसमा कटनले बारिएको छ भने पूर्णरूपमा क्लोजहाउस विकास गरिने जनाइएको छ ।
उनले शुरूमा ६० हजार कुखुरापालनबाट पेशा थालेका हुन् । केजमा उत्पादन भएको अन्डा ठूलो र आकर्षक हुने हुँदा सो अन्डाको माग राम्रो छ । भविष्यमा यस पेशालाई आधुनिक बनाउने उनको योजना छ । सत्तरी वर्षको उमेरमा पनि युवाहरूसँग व्यावसायिक प्रतिस्पर्धा गर्न सफल उनी पोल्ट्री क्षेत्रमा नेपालमा चिनिएका व्यक्ति हुन् । उनी भन्छन्, “खेर जाने सुलीलाई उपयोग गर्न सक्यौं भने कसैका खोरमा विद्युत् किन्नुपर्दैन ।”
यसो त बायोग्याँस बनाउनुपूर्व गन्धका कारण स्थानीयले समय–समयमा विरोध गर्दै आएकामा अहिले खोरभित्र मात्रै होइन, बायोग्याँसपछि निस्किएको मलमा गन्ध आउँदैन । यो मलमा नाइट्रोजन प्रशस्त हुने हुँदा उर्वर मानिन्छ । यद्यपि उनले खोर वरिपरि अग्लो बार र हरियाली बनाएका छन् । उनको फार्म पुग्दा जोकोहीलाई तारे होटल पुगे जस्तो भान हुन्छ ।