काठमाडौं, २८ साउन/रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले युवामा भएको क्षमता, सोच र सीपको भरपूर उपयोग गर्नुपर्ने बताएकी छन् ।

‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषद्द्वारा आज आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिंदै उनले राज्यले युवा विकासलाई उच्च प्राथमिकतामा राखेर उनीहरूमा रहेको ऊर्जा, सोच र साहसको भरपूर उपयोग गर्नुपर्ने बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि स्वदेशमा नै रोजगारको अवसर सिर्जना गरी युवालाई उत्पादनसँग जोड्नु आवश्यक रहेको भन्दै मुलुकको सकारात्मक परिवर्तनका लागि नेपाली युवालाई सिर्जनात्मक सोचसहित प्रेरणा मिलोस् भन्ने कामनासमेत गरिन् ।

युवाशक्ति देशको शक्ति हो भन्दै उनले युवाको काँधमा परिवार, समाज र राष्ट्रको ठूलो जिम्मेवारी रहेको बताइन् । राष्ट्रपति भण्डारीले युवा जनशक्ति बेरोजगारी हुँदा मुलुकको समग्र आर्थिक र सामाजिक प्रणाली नै अवरुद्ध हुने उल्लेख गर्दै युवाको ठूलो पङ्क्ति विदेश पलायन हुँदा दिगो अर्थतन्त्रको विकासमा प्रतिकूलता सिर्जना हुन पुग्ने बताइन् । “युवा रोजगारका लागि विदेशिंदा हाम्रा कतिपय सामाजिक, सांस्कृतिक मूल्य–मान्यतामा विचलन आएको छ । यसले पारिवारिक सुख, शान्तिमा पनि खलल पुगेको छ” –उनले भनिन्– “सीपको अभावमा वैदेशिक रोजगारमा जाँदा न्यून आम्दानी हुनुका साथै स्वास्थ्य सुरक्षा र नोकरी पनि असुरक्षित हुन जान्छ ।”

राष्ट्रपति भण्डारीले कृषिजन्य पदार्थ र वनजन्य वस्तुको उच्च व्यापार घाटा सन्तुलन गर्न युवालाई कृषि क्रान्तिमा सामेल गराउनुपर्ने उल्लेख गर्दै युवालाई सीपयुक्त गुणस्तरीय शिक्षाद्वारा नवप्रवर्तनमा सहभागी गराउनु आवश्यक रहेको बताइन् । कोभिड–१९ महामारीले अर्काे चुनौती थपिएको बताउँदै उनले सङ्क्रमणकै कारण कृषि प्रणालीमा प्रतिकूलता र खाद्यान्न उत्पादन, वितरण र उपभोगमा समेत समस्या पैदा भएको उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले नवीन सोचका माध्यमबाट खाद्य प्रणालीमा रूपान्तरण तथा वातावरण संरक्षणका साथै नेपाली समाज र सिङ्गो भूमण्डलीय संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्न युवालाई सफतला मिलोस् भनेर कामनासमेत गरिन् । उनले चेतना र जागरणका संवाहक नेपाली युवाको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले स्थापित राष्ट्रिय युवा परिषद्ले विभिन्न सिर्जनात्मक काम गर्दै आएकोमा खुशी लागेको बताइन् ।

मुलुकको सामाजिक र आर्थिक प्रणालीसँग जलवायु परिवर्तनको मुद्दा अभिन्न अङ्गको रूपमा जोडिएको बताउँदै उनले हरित गृह ग्याँस उत्सर्जनमा भएको वृद्धिले विश्वमा तामपान बढ्न गई जलवायु सङ्कट उत्पन्न भएको बताइन् । “जलवायुको उच्च जोखिममा नेपाल पनि रहेको छ, यसबाट हाम्रो हिमालय क्षेत्रको तापमानमा वृद्धि भई हिमाल पग्लने, हिमताल विस्फोट हुने र सम्पूर्ण जनजीवन अस्तव्यस्त हुने सम्भावना बढेर गएको छ”–उनले भनिन् ।

राष्ट्रपति भण्डारीले अप्रत्याशित बाढी, पहिरो, अनावृष्टि, शीतलहर, प्राकृतिक तापमानमा अस्वाभाविक वृद्धिजस्ता कारणले प्राकृतिक वातावरण खलबल्याएको उल्लेख गर्दै वन विनाश, भूक्षय, आगलागी र प्रदूषणले जनजीवन थप प्रभावित बन्न पुगेको बताइन् । “जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण गर्न युवा समुदायले विशेष पहल लिनुपर्दछ”–उनले भनिन् ।

खाद्य उत्पादनमा ह्रास, असुरक्षित खाद्य व्यवस्था, खानाको गलत प्रयोग र पोषणयुक्त खानाको कमीले मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको बताउँदै उनले हाम्रो खाद्य प्रणालीमा रूपान्तरणका लागि खाद्यवस्तु उत्पादन, संरक्षण, वितरण र उपयोगमा युवाको नवीन सोच प्रयोग हुन सके मानव स्वास्थ्य सुरक्षित हुने विश्वास व्यक्त गरिन् ।

‘खाद्य प्रणालीमा रूपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि यो दिवस मनाउन थालिएको हो । दिवसकै अवसरमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको युवाको क्षमता विकास, युवा नेतृत्वसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले परिवर्तनका संवाहक युवा भएकाले युुवाको क्षमता विकास गरेर मात्र मुलुक समृद्ध हुन सक्ने धारणा व्यक्त गरे । उनले सरकारले युवालक्षित कार्यक्रम ल्याए पनि कार्यन्वयनमा समस्या भएकाले युवाका मुद्दा अझै सम्बोधन हुन नसकेको बताए । नेपालमा युवासँग काम गर्ने सङ्घ–संस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारीरूपमा परिषद्को अगुवाइमा विसं २०७३ देखि मनाउन थालिएको हो ।

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्त १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा कुल जनसङ्ख्याको ४०.३ प्रतिशत युवा रहेका छन् ।

मुलुकको दिशानिर्देशमा युवाको भूमिका महŒवपूर्णः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको दिशानिर्देशमा युवाको भूमिका महŒवपूर्ण रहेको बताए। ‘अन्तर्राष्ट्रिय युवा दिवस’को अवसरमा राष्ट्रिय युवा परिषद्द्वारा आज आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिंदै उनले युवाको विचारले नै मुलुक र भावी सन्ततिको भविष्यको रेखा कोर्ने बताए ।

प्रधानमन्त्री देउवाले युवाको नयाँ सोच, जाँगर र मेहेनतलाई सरकारले सदैव उच्च प्राथमिकतामा राखेको बताए । समुन्नत मुलुक बनाउने सरकारको योजनामा आआफ्नो ठाउँबाट हातेमालो गर्न सबैलाई आह्वान गर्दै उनले सूचना प्रविधिको विकाससँगै युवालाई थप सिर्जनशील क्षेत्रमा काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ भने । प्रधानमन्त्री देउवाले नेपाली युवालाई विकसित देशको परिकल्पनामा योगदान गर्न सकिने नवीन क्षेत्रको पहिचान गरी सरकारलाई सुझाव दिन र समुन्नत मुलुक निर्माणमा आआफ्नो क्षेत्रबाट योगदान पु¥याउनसमेत अनुरोध गरे ।

युवालाई राज्यका हरेक गतिविधिमा सहभागी हुन आह्वान गर्नुहुँदै उनले यस दिवसले विश्वभरका सबै जात, धर्म, लिङ्ग तथा समुदायका युवालाई जोड्न महŒवपूर्ण भूमिका खेलेको बताए । प्रधानमन्त्री देउवाले युवामा रहेको क्षमता उजागर गर्ने मौका प्रदान गर्दै दिगो विकास लक्ष्यको सार्थक साझेदारका रूपमा युवा सहभागितालाई अगाडि बढाउने बताए ।

‘खाद्य प्रणालीमा रूपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि यो दिवस मनाउन थालिएको छ । परिषद्ले आयोजना गरेको कार्यक्रममा लोकदोहोरी प्रतियोगिताका विजयलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।

विश्वमा सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवस मनाइरहेको बेला नेपालमा भने २००४ देखि मनाउन थालिएको हो । कार्यक्रममा युवा तथा खेलकूद मन्त्रालयका सचिव कमलप्रसाद पोखरेलले युवाको क्षमता विकासका लागि सरकारले विभिन्न कार्यक्रम ल्याए पनि कार्यान्वयनमा समस्या देखिएको बताए । उनले युवाको क्षमतालाई सीप अनुसार उद्यमशीलतासँग जोड्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here