काठमाडौं, २७ साउन/रासस
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निश्शुल्क विद्युत् उपलब्ध हुने तथा दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने बताएकी छ ।
मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले विपन्न वर्गलाई निश्शुल्क विद्युत् उपलब्ध गराउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले निर्णय गरिसकेको छिट्टै र कार्यान्वयनमा ल्याइने जानकारी दिए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत गरीबीको रेखामुनि रहेका जनतालाई निश्शुल्क विद्युत् उपलब्ध गराउन लागिएको जानकारी दिइन् ।
नेपाल विद्युत् प्राधिकरण र सामुदायिक ऊर्जा उत्पादनका गरी २६ लाखभन्दा बढी ग्राहकले यस्तो सुविधा पाउनेछन् । ऊर्जामन्त्री भुसालले भनिन्, “विद्युत् खपत बढाउन, आयातित ग्यासलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युत्को उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत् महसूल समायोजन गर्ने निर्णय भएको छ ।”
सरकारले ‘विदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं’ भन्ने नाराका साथ विद्युतीय चुलोको प्रयोग बढाउँदै लाने नीति अघि सारेको छ । संयुक्त सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम, पूर्वमन्त्री, सचिव र महाशाखा अन्तर्गतका निकाय तथा विज्ञबाट प्राप्त सुझावका आधारमा जनतालाई छिटोछरितो सेवा प्रवाह गर्ने, विद्युत् र सिंचाइलाई उत्पादनका पूर्वाधारका रूपमा लिई देशलाई समृद्ध तुल्याउने सन्दर्भमा विभिन्न निर्णय भएको सो अवसरमा जानकारी दिइयो ।