काठमाडौं, २७ साउन/रासस
नेपाललगायत विश्वमा अगस्त १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि यो वर्ष ‘खाद्य प्रणालीमा रूपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको छ ।
सरोकारवालाले बर्सेनि यो दिवस मनाए पनि युवाका मुद्दा कार्यान्वयनमा भने समस्या देखिएको छ । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्त १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । नेपालमा पनि युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन नहुँदा युवा लाभान्वित बन्न सकेका छैनन् ।
युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि विसं २०६५ मा सरकारले युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा नीति, २०७२ मा युवा विकासका व्यापक विषयवस्तुलाई नीतिगतरूपमा समावेश गरेको पाइन्छ । यसैगरी, मुलुकमा कुल जनसङ्ख्याका ४०.३ प्रतिशत रहेको युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चितताको माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यले सरकारले पहिलोपटक युवाका क्षेत्रमा काम गर्नका लागि २०७२ फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरेको हो ।
यस्तै, प्रदेश, जिल्ला र स्थानीय तहमा पनि युवाका लागि विभिन्न संरचना तयार गरिएका छन् । प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन् । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवा लक्षित धेरै कार्यक्रम सरकारले ल्याए पनि युवाको क्षमता विकासमा प्रभावकारीरूपमा काम गर्न नसकिएको बताए ।
उनले युवा क्षेत्रमा धेरै नीति र संरचना बने पनि उनीहरूको क्षमता अभिवृद्धिका लागि सरकारले प्रभावकारीरूपमा काम गर्न अझै नसकेको बताए । “युवा क्षमताको प्रभावकारी उपयोग गर्न जरुरी छ,” उनले भने, “सरकारले युवाको क्षेत्रमा विभिन्न कार्यक्रम ल्याए पनि प्रभावकारीरूपमा कार्यान्वयन हुन नसक्दा उनीहरूको क्षमताको प्रभावकारी उपयोग हुन सकेको छैन ।”
युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि विसं २०६५ मा सरकारले युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन–२०२५ ले युवा विकासका व्यापक विषयवस्तुलाई नीतिगतरूपमा समावेश गरेको छ ।
परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले नेपाली युवामा क्षमता भएपनि सरकारले उनीहरूको क्षमतालाई प्रस्फुटन गराउन नसक्दा धेरै नै क्षति बेहोर्नुपरेको बताए ।
उनले युवा वैज्ञानिक, अनुसन्धान, नवप्रवर्तन जस्ता क्षेत्रमा सरकारको ध्यान पुग्न नसकेको समेत बताए । उनले युवा क्षेत्रमा काम गर्नका लागि अलग्लै राष्ट्रिय गौरवको आयोजना स्थापना गर्नमा जोड दिए । दिवसकै अवसरमा युवा नेतृत्वमा विकास गर्नका लागि राष्ट्रिय परिषद्ले एक हप्तादेखि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले बनेका नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयन नहुँदा युवा पलायन बढेको बताए । उनले मौलिक हकको रूपमा रहेको स्वास्थ्य, शिक्षा र रोजगारलाई कार्यान्वयन गराइ युवाका मुद्दा सम्बोधन गर्नुपर्ने बताए । “युवाबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता पनि युवाका मुद्दा कार्यान्वयन गराउनतर्फ लागेको देखिएन,” उनले भने, “युवाका क्षेत्रमा काम गर्ने राज्यका संरचनाले पनि युवाका मुद्दालाई सम्बोधन गर्न गम्भीर ढङ्गले काम गरेन ।”
उनले युवालाई मुलुकमा नै रोजगारीतर्फ उन्मुख गराउनका लागि कलकारखाना, उद्यमशीलतामा अग्रसर गराउनुपर्ने बताए । राष्ट्रिय युवा सङ्घका अध्यक्ष किरण पौडेलले कानूनगतरूपमा युवाका मुद्दासमेतका लागि धेरै नीति, कानून बने पनि कार्यान्वयनमा समस्या भएको बताए । सरकारले युवा लक्षित कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।
“शिक्षा, स्वास्थ्य र रोजगारजस्ता युवा लक्षित कार्यक्रमहरू सरकारले ल्याएको छ,” उनले भने, “तर ती कार्यक्रम कार्यान्वयन नहुँदा युवाका समस्या जहाँको त्यहीं छ ।” उनले युवालाई कृषितर्फ आकर्षित गराएर मुलुकलाई कृषिमा आत्मनिर्भर गराउनुपर्ने बताए ।
यङ कम्युनिस्ट लिग (वाइसिएल)का अध्यक्ष रामप्रसाद सापकोटाले राज्यले युवाका मुद्दामा खर्च गरे पनि परिणाममुखी बनाउन नसकेको बताए । उनले नीतिगत निर्माण, राजनीतिक नेतृत्व र रोजगारमुखी बनाउनेजस्ता कार्यक्रममा राज्यको अझै ध्यान पुग्न नसकेको उल्लेख गरे । “नीति र संरचनागत रूपमा युवाका मुद्दा सम्बोधन गर्नका लागि धेरै कार्यक्रम ल्याइएका छन्,” उनले भचे, “तर ती युवाका मुद्दालाई व्यवहारमा उतार्ने ती कार्यक्रम सफल भएका छैनन्।”
एकद्वार प्रणाली अभाव
परिषद्का उपाध्यक्ष ढुङ्गेलले अहिले युवाका क्षेत्रमा काम गर्ने निकायबीच समन्वय अभाव हुँदा पनि युवाका कार्यक्रम प्रभावकारी हुन नसकेको बताए । उनका अनुसार विभिन्न ११ मन्त्रालय र १८ विभागले युवाका क्षेत्रमा काम गरे पनि प्रतिफल प्राप्त हुन नसकेको बताए । “हामीले युवा लक्षित सबै कार्यक्रम एकद्वार प्रणाली अन्तर्गत परिषद्बाट गरांै भनेर पटकपटक सरकारको ध्यानाकर्षण गरायांै,” उनले भने, “तर ती कार्यक्रम एकीकृत गर्न नसकेर प्रभावकारी हुन सकेको छैन ।”
उनका अनुसार सरकारी तवरबाट सङ्घ, प्रदेश र स्थानीय तह गरी करीब रु दुर्ई खर्बको बजेट विनियोजन हुने गरेको छ । उनले राजनीति नेताको रोजाइ पनि युवा तथा खेलकूद मन्त्रालयप्रति नपर्ने भएकाले युवाका मुद्दामा सरकारको चासो कम भएको भन्ने बुझ्न सकिने बताए ।
परिषद्का उपाध्यक्ष ढुङ्गेलले युवाका मुद्दा सम्बोधन गर्न ल्याइएका नीतिगत कानूनलाई बिस्तारै कार्यान्वयनतिर लगिरहेको बताए । परिषद् गठनपश्चात् युवाका क्षेत्रमा धेरै काम भएको उनको भनाइ छ । युवाका क्षेत्रमा उल्लेखनीय काम गरिएको भन्दै परिषद्लाई संयुक्त राष्ट्रसङ्घले सन् २०१९ मा ‘फ्युचर पोलिसी अवार्ड’ प्रदान गरेको थियो ।
सन् २०१० मा नेपाल विश्व युवा विकास सूचकाङ्कमा १४५औं स्थानमा भएकोमा अहिले ६८ देशलाई उछिनेर ७७औं स्थानमा आउन सफल भएको छ । सार्क मुलुकमा चौथो स्थानमा रहेको छ । यस्तै, नेपाललाई सन् २०२५ सम्म विकासशील राष्ट्रमा पु¥याउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारमूलक बनाउँदै सम्पूर्ण युवाको पहँुच सुनिश्चित गर्नका लागि ‘युथ भिजन २०२५ सहित १० वर्षे रणनीतिक योजना’ ल्याइएको छ ।
सरकारले नेपाली युवालाई स्वदेशमा नै उद्यमशील र स्वरोजगार बनाउने उद्देश्यले २०७५ सालमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ ल्यायो तर उक्त कार्यविधि पूर्णरूपमा लागू नहुँदा हजारौं युवा बैंकबाट सहजै कर्जा पाउन नसक्दा स्वरोजगार बन्न सकेका छैनन् । सरकारले ल्याएको १५औं पञ्चवर्षीय योजना ‘युवाको जाँगर समृद्धिको आधार’ भन्ने मूल नाराका साथ युवालाई मुलुकको समृद्धिसँग जोडेको छ । युवा रोजगार प्रधानमन्त्री कार्यक्रम, युवालाई स्वरोजगार बनाउनका लागि युवा तथा साना लगानी स्वरोजगार सचिवालयको गठन जस्ता कार्यक्रम ल्याइएका छन् ।
श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार वार्षिक पाँच लाख ३८ हजार विदेश जाने युवा अहिले तीन लाख २३ हजारमा झरेको छ । यसबाट पनि नेपालमा नै युवा केही न केही रोजगारतिर लागेको देखिन्छ । यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारणले दिवस भर्चुअलरूपमा कार्यक्रम गरी मनाउन थालिएको हो ।