काठमाडौं, २५ साउन/रासस

जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकूद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औं ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला भएको हो ।

जापानले कोरोना महामारीकै बीच ३२औं गृष्मकालीन टोकियो ओलम्पिक सफलतापूवर्क सम्पन्न गरेको छ । विश्व खेलकूदको कुम्भमेला मानिने ओलम्पिक प्रत्येक चार/चार वर्षमा हुँदै आएकामा यस वर्ष पाँच वर्षमा आयोजना भएको हो । टोकियो ओलम्पिकमा कोरोनाका कारण मैदानमा दर्शकलाई अवलोकनको अनुमति दिइएको थिएन ।

टोकियो ओलम्पिकमा कुल २०५ देशका ११ हजार ३०० खेलाडीले भाग लिएका थिए । खेलाडीले कुल ३३ खेलमा ३४० स्वर्ण, ३३८ रजत तथा ४०२ काँस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए। टोकियो ओलम्पिकमा ९३ देश पदक जित्न सफल रहे । नेपालसहित ११२ देश पदकविहीन बन्न पुगे । टोकियो ओलम्पिकमा ६५ देशले मात्र स्वर्ण पदक चुम्न पाए ।

टोकियो ओलम्पिकमा अमेरिका पदकतालिकाको शीर्ष स्थानमा रहन सफल भयो भने चीन दोस्रो तथा आयोजक जापान तेस्रो स्थानमा रहन पुग्यो । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ काँस्यसहित ११३ पदक प्राप्त गर्न सफल भयो । यस्तै, चीनले ३८ स्वर्ण, ३२ रजत र १८ काँस्यसहित ८८ पदक तथा आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ काँस्यसहित ५८ पदक प्राप्त गरेको छ ।

दक्षिण एशियाली मुलुकमध्ये भारतले एक स्वर्ण, दुर्ई रजत तथा चारवटा काँस्य पदक जित्यो । दक्षिण एशियाका अन्य कुनै पनि देशले पदक प्राप्त गर्न सकेनन् । टोकियो ओलम्पिकमा नेपालबाट चार खेलमा पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

अरू ओलम्पिकजस्तै टोकियोमा पनि नेपाली खेलाडी सहभागितामै सीमित रहे । पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा सुटिड्ढी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाए । जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीको प्रदर्शन भने सामान्य रह्यो ।

यही साउन ८ गतेदेखि शुरू भएको टोकियो ओलम्पिक १९ दिनसम्म सञ्चालन भएको थियो । सन् १९६४ मा पहिलोपटक ओलम्पिक आयोजना गरेको जापानले ५७ वर्षपछि पुनः ओलम्पिक आयोजना गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here