• कुमार रुपाखेती

वीरगंज–रक्सौल जोड्ने पुललाई हामीहरू मितेरी पुल भन्दछौं भने उतातिरकाले यसलाई मैत्री पुल भन्दछन् । नाम मितेरी पुल भएपनि यो पुलको उपयोग नेपाल–भारत आवतजावत गर्नेहरूका अलावा हडतालीहरूले प्रयोग गर्न सुगम थलो पनि बनेको छ । मधेस आन्दोलनताका आन्दोलनकारीहरू यही मितेरी पुलमा महीनौं धर्ना दिए । अस्ति नाका बन्द छ भन्दै नेपाल प्रहरीले कोरोनाको कारण देखाउँदै उतापट्टिबाट नेपाल छिर्न रोक लगाएपछि भारतीय कामदारहरूले यो पुल घण्टौं जाम गरिदिए । नेपाली पक्षबाट हेपिएको भन्दै कहिले भारतीय ट्रक ड्राइभर त कहिले भारतीयहरूले मितेरी पुलको अपमान गर्दै पुल ठप्प गर्ने गरेका छन् ।

विगतमा यो मितेरी पुल जीर्ण र कमजोर हुँदा नेपाल–भारत दुवैले मरम्मत सम्भारको जिम्मा लिन आनाकानी गर्दा यही पुलमा धर्ना दिएर मरम्मत सम्भार भएको हो । नेपालमा एमाले अल्पमतको सरकारका उपप्रधानमन्त्री माधवकुमार नेपाल र भारत पक्षको प्रतिनिधिले यो पुलको संयुक्त उद्घाटन गरेका थिए । त्यतिखेर पुल उद्घाटन कार्यक्रममा कार्यक्रमको थालनी अङ्ग्रेजी भाषाबाट गर्नुपर्ने भएकोले अङ्ग्रेजी जान्ने भनिएका ठाकुर राम बहुमुखी क्याम्पसका प्राध्यापक दामोदर शर्मा रिजालले उद्घोषणको जिम्मा पाएका थिए । मितेरी पुल बहुचर्चित अन्तर्राष्ट्रिय पुल मानिन्छ । अहिले पुलको संरचना कमजोर देखिन्छ । यस पुलबाट दैनिक हजारौं यातायातका साधन ओहोरदोहोर भइरहन्छन् । यही मितेरी पुलबाट दुवैतिरका प्रशासनलाई हातमा लिएर कालोबजारी गर्ने व्यापारीहरूले वारेन्यारे गरिरहन्छन् । नेपाल–भारत दुवैले अत्यधिक महत्वपूर्ण ठानेको यो पुल कालाबजारियाहरूलाई समेत वरदान साबित भएको छ । त्यसैले त कतिले यो पुललाई वकील पुल पनि भन्दछन् । किनकि यहाँ बसेर धर्ना, आन्दोलन गर्दा सरकारले तदारूकता देखाउँदै छिट्टै निर्णय गर्छ रे ।

 भारतको केन्द्र सरकारले काश्मीरको विशेष राज्यको दर्जा समाप्त गरी केन्द्रीय सरकारकै मातहतमा राखेपछि भारतीयहरूले यसलाई ‘नई काश्मीर’ भन्न थालेका छन् ।

विगतमा काश्मीरमा ८३ विधानसभा सिट थियो । रिसाएका काश्मीरीहरूलाई रिझाउन मोदी सरकारले त्यहाँको विधानसभा सिट थप्ने तरखरमा छ । किनकि निकट भविष्यमैं त्यहाँ विधानसभाको निर्वाचन गर्नुपर्नेछ । कतिपय नेता जम्मु–काश्मीरलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने बताइरहेका छन् ।

 तर जम्मु–काश्मीरको नजीक रहेको लद्दाख क्षेत्रमा भारतले एक्कासि आफ्नो सैनिक सङ्ख्या बढाएर दुई लाख पु-याएको छ । गत वर्ष लद्दाखको गलवानमा चिनियाँ सेनाले भारतीय सेनाका अधिकारीसहित सैनिकहरूलाई मारेको थियो । यस क्षेत्रमा अहिले चिनियाँ सैनिक गतिविधि एकाएक बढेको, हवाई मैदान र पिच सडक निर्माण भएको र लाखौं चिनियाँ सैनिकको चहलपहल बढेकाले आफ्नो सीमा रक्षार्थ भारतले पनि जल, थल, हवाई तीनैथरी गरी सैनिक सङ्ख्या दुई लाखभन्दा धेरै पु-याएको छ । भनिन्छ, अहिले चिनियाँ र भारतीय पक्षले संयमता अपनाएर शान्ति बहालीको प्रयत्न गरेनन् भने छिट्टै चिनियाँ र भारतीय पक्षबीच सन् १९६२ भन्दा ठूलो युद्ध दोहोरिन सक्छ । भनिन्छ, चिनियाँ र भारतीय सेना अहिले मात्र सात किलोमिटर पर आमनेसामने भएर पोजिशनमा बसेका छन् । भर्खरै भएको ड्रोन हमलामा प्रयोग गरिएका ड्रोनहरू चीन निर्मित र पाकिस्तानले प्रयोग गरेको भारतीय पक्षको आरोपले माहोल झनै गर्माएको छ । त्यस्तै, लद्दाखको पुँछ क्षेत्रमा समेत यी दुई देशका सेनाबीच तनावको वातावरण छ । सुरक्षाका लागि विगतमा भारतले रोक लगाएका पुँछ, लद्दाख र काश्मीरका केही महत्वपूर्ण राजमार्ग आफ्नो सेनाको परिचालनमा सुगमता हेतु सुचारु गरेको छ ।

लालुप्रसाद यादव अहिले दिल्लीस्थित एम्स हस्पिटलमा उपचाररत छन् । अस्ति आफ्नो पार्टीको रजतजयन्तीको अवसरमा पटना आउन नपाए पनि दिल्लीमैं राबडी देवी र छोरी मिसासँग पार्टी उत्सव मनाए । बिहारमा आफ्ना सहयोगीहरूलाई सन्देश दिंदै उनले भने बिहारमा मैले पच्चीस वर्षअघि आफ्नो पार्टी गठन गर्दा मेरो नीति नै ‘बाँधो गाँठ, पिछडा पावे सौ मे साठ’ थियो रे । लालु लामो समयदेखि राजनीतिक बन्दीको रूपमा जेलमा बन्द छन् । एकपटक बिहारको मुख्यमन्त्री हुँदा विधानसभामा अङ्ग्रेजीमा भाषण गर्ने सनक चढेछ । सभामा उनले अङ्ग्रेजीमा भाषण गर्दा विधानसभाका स्पीकरदेखि सबै सदस्य हाँसेर लोटपोट भएका थिए । उनको टुटफुट बिहारी अङ्ग्रेजी भाषा उट्पट्याङ खालको नै थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here