- जसपाल सिंह
श्री गुरु हरक्रिशनजी महाराजको पावन प्रकाश उत्सवमा (जन्मोत्सव) साधसङ्गतहरूलाई लाख लाख बधाई तथा शुभकामना १ गुरुजीको कृपाले निरोगिता तथा सुखशान्ति आओस् १ उनको बारेमा भनिन्छ–“श्री हरक्रिशनजी धियाइए जिस डिढे सब दुख जाए” अर्थात् उनको दर्शन, ध्यान गर्नाले सबै दुःखको नाश हुन्छ ।
श्री गुरु हरक्रिशन सिख पन्थका आठौं गुरु हुन्, पिता श्री गुरु हरराय तथा माता कृष्ण कौर हुन्, उनको जन्म श्रावण वदी १० विक्रम संवत् १७१३ (जुलाई ७, १६५६) मा भएको थियो । उनी ज्यादै सुन्दर भएकाले दर्शन गर्ने सबै अति प्रसन्न हुने गर्दथे । गुरुपिता हररायलाई सेवा गरेको देखेर उनले पनि लङ्गरमा (निश्शुल्क भोजन) आएर सङ्गतलाई भोजन पस्किने सेवा गर्थे । सानै आयुमा उनमा पाका ज्येष्ठ व्यक्ति जस्तै सहजता, दया तथा सुझ थियो । उनको बाल्यकाल गुरुघरमा सेवा सिमरनमा धेरै राम्रो व्यतीत भयो ।
श्री गुरु हरक्रिशनको जन्मको समयमा गुरुघरको दिल्ली दरबारसित असल सम्बन्ध थियो । गुरुघरमा सबैलाई एक नजरले हेरिन्थ्यो चाहे कोही फकीर होस् चाहे कोही राजा । एकपटक शाहजहाँका घनिष्ठ पुत्र दारा शिकोहलाई भयानक रोगले ग्रस्त बनायो । शाहजहाँले धेरै वैद्य हकीम बोलाए तर दारालाई स्वास्थ्य लाभ भएन, तब शाहजहाँले गुरुघरसित मदत मागे । त्यस समय गुरु हररायले जडीबुटीहरू पठाए, त्यसले दारा स्वस्थ भयो । केही समयपछि शाहजहाँको मृत्यु भएको मानेर उनको पुत्र औरङ्गजेबले दारामाथि दिल्लीमा हमला गरिदियो । दाराको फौजी ताकत कम हुनुका कारण उसको हार भयो र ऊ आफ्नो ज्यान बचाएर पञ्जाब आयो । उता शाहजहाँलाई औरङ्गजेबले जीवित देखेर कैदी बनायो । औरङ्गजेब धेरै कट्टर स्वभावको शासक थियो । शाहजहाँका सबै नातेदारलाई औरङ्गजेबले आफ्नो कट्टर दुश्मन मान्दथ्यो । गुरुघरको दिन प्रतिदिन बढ्दै गएको लोकप्रियताले औरङ्गजेब धेरै डाह गर्दथ्यो । यस्तोमा गुरुघरका केही विरोधी गुरुघरविरुद्ध गुनासो गर्नमा व्यस्त थिए ।
गुरुघरसित औरङ्गजेबको सम्बन्ध खराब हुने धेरै कारण थिए । गुरु हररायले आफ्ना जेठा छोरा रामरायलाई जब दिल्ली औरङ्गजेबको निमन्त्रणमा पठाए, तब उनले गुरुघरको मर्यादा बिर्सेर करामात देखाउन थाले । गुरुवाणीका केही पङ्क्तिलाई परिवर्तन गर्न थाले । जब यी सब कुरा गुरु साहेबलाई जानकारी भयो, तब उनले रामरायलाई भने अब यहाँ आउने कुनै आवश्यकता छैन । धीरमलको गुनासोले बलेको आगोमा घ्यूको काम ग¥यो । रामरायको यस्तै बानी र क्रियाकलापका कारण गुरु साहेबले उपरान्त उससँग मुख लगाएनन् । उपरान्त गुरु साहेबले गुरुता आफ्नो सानो पुत्र अर्थात् श्री गुरु हरक्रिशन साहेबलाई सुम्पिए । गुरु हरराय सन् ६/१०/१६६१ मा ज्योतिजोत (परलोक)मा समाए । त्यस समय श्री गुरु हरक्रिशन साहेबको उमेर ५ वर्ष ३ महीनाको थियो । उनले आफ्नो सुझबुझले तीन वर्षसम्म सिख पन्थ तथा समाजको अगुवाइ गरे । उनले आफ्ना गुरु पिताजीको जस्तै गुरुघरको मर्यादालाई चलाए ।
श्री हरक्रिशन कार्तिक ८, १७१८ को दिन ५ वर्ष ३ महीनाको सानै उमेरमा गुरु भए । गुरुमा अपार शक्ति थियो उनले दीन, दुःखी, रोगी तथा कुष्ठ रोगीहरूसँग धेरै आत्मीयता साथ व्यवहार गरेर तिनीहरूलाई निरोग पार्दै थिए । गुरुको आयु सानो भएको कारण धेरैजसो गुरुघरका दोषीहरूले गलत प्रचार गर्न थाले । तर जसले सङ्गतको रूपमा गुरुको दर्शन गर्थे, तिनीहरू गुरुकै भइहाल्थे । दिन प्रतिदिन सङ्गत दुर्ई दुगुना चार चौगुना हुन थाल्यो । गुरुको साथ बाइस सय घोडसवार हरसमय मौजुद रहन्थे । गुरुविरुद्ध औरङ्गजेबनिर गुनासो पुग्यो । तर त्यसको गुरु साहेबमाथि कुनै प्रकारको प्रभाव परेन । गुरु साहेबनिर जसवन्त राय, गेंदामल, भाइ सन्तरामजी, भाइ सदामल, भाइ रामलाल, रोपड निवासीकै फकीर नूरउद्दीन, माला शेख, मुहम्मद बख्श, नवा शहरबाट भाइ सङ्गतीआ, भाइ पञ्जाबा, भाइ भीमचन्द, भाइ शाहीराम, भाइ विश्वम्भर दियाल, भाइ महेश सजन, भाइ गजन, भाइ रामा, भाइ काहना गुरुको दर्शन गरी तृप्त भए ।
औरङ्गजेबले गुरु साहेबको बारेमा सुनेर भेट्ने इच्छाले धेरैपल्ट दिल्ली आउनको लागि आग्रह गरेर पत्र पठाए । सो कार्यको लागि राजा जय सिंहलाई पठाए, राजा जय सिंहले गुरु साहेबलाई ल्याउन मन्त्री, रथ, सेना र घोडाहरू कीरतपुर पठाए । गुरु साहेबलाई सुनका मोहरहरू चढाएर दर्शन गरेर बादशाहको पत्र दिए । उनले आग्रह स्वीकार गरे । गुरु साहेब कीरतपुरबाट प्रस्थान गर्ने बेलामा त्यहाँका मानिसहरूले धेरै दुःख मनाउ गरेका थिए । उनले बाटोभरिका सङ्गतहरूलाई आदर र माया साथ भेट्दै धर्मको प्रचार गर्दै हिंडेका थिए ।
गुरु साहेब कुरुक्षेत्र पुगेर धेरै सङ्गतलाई दर्शन र उपदेश दिए । त्यहाँ लालचन्द नाम भएको विद्वान् पण्डित गुरु साहेबकहाँ आएर धेरै प्रश्न गर्ने गरे । पण्डितजी धेरै घमण्डी थिए, गुरु साहेबलाई गीताको अर्थ बताउन भने तब गुरु साहेबले गीताको अर्थ हाम्रो छज्जुले बताउँछ भने । सबै अचम्मित भए । छज्जु नाम गरेको एकजना राम्रोसित बोल्न नसक्ने भकभकाउने मानिस थियो । गुरु साहेबले छज्जुको टाउकोमा आफ्नो हातमा रहेको छडीले छोएर गीताको अर्थ भन्न लगाए, त्यो सुनेर राजा जय सिंह, लालचन्द र सङ्गतहरू छक्क परे । गुरु साहेबले घमण्ड कहिले पनि गर्नुहुँदैन भने । यो सुनेर लालचन्द लज्जित हुँदै गुरु साहेबसित माफी मागे । त्यसपछि उनीहरू दिल्ली लागे, दिल्लीका साधसङ्गतले गुरु साहेबको धूमधामसाथ स्वागत गरे, राजा जय सिंहले उनलाई आफ्नो सुन्दर महलमा बसाए । यो पवित्र ठाउँ आजभोलि ‘बङ्गला साहेब गुरुद्वारा साहेब’को नामले दिल्ली कनाट प्लेसमा शोभायमान छ । त्यस बखत दिल्ली र आसपासका क्षेत्रमा महामारी फैलिएको थियो । त्यसले धेरैजनालाई रोगी बनाइ महाप्रकोपको रूप लिंदै थियो । उनले धेरै सङ्गतलाई निरोग गरी स्वस्थ पारेका थिए । जीवनदान दिएका थिए । गुरु साहेबले आफ्नो शक्तिले त्यस ठाउँमा एउटा जलको स्रोत पनि निकाले । त्यस अमृत जललाई पिएर धेरैजना स्वस्थ तथा निरोग भए । आज पनि त्यो परम्परा र विश्वासले टाढा–टाढाबाट आएर सङ्गतहरूले श्रद्धाका साथ जलसेवन गर्छन् । घरपरिवारमा लैजान्छन् । हजारौंको सङ्ख्यामा श्रद्धालु, भक्तालु तथा दयालुहरू बिहानैदेखि सेवा गर्न शब्द कीर्तन, कडाह प्रसाद (घ्यू, पीठो तथा चिनीको हलुवा) लङ्गर प्रसाद (निश्शुल्क भोजन)का साथै गुरु साहेबको आशीर्वाद प्राप्त गर्न आउने गर्दछन् । उनलाई बालगुरु बाला प्रीतम पनि भनिन्छ । उनको बारेमा भनिन्छ–
“श्री हरिकिशनजी धियाइए जिस डिढे सब दुख जाए” अर्थात् उनको दर्शन, ध्यान गर्नाले सबै दुःखको नाश हुन्छ । उनले आफ्नो निवास जमुना नदीको किनारमा बनाए । उनी वैशाख ३, १७२१ (मार्च ३०, १६६४)का दिनमा ज्योति जोत (परलोक) भए । त्यो पवित्र ठाउँ “बाला साहेब”को नामले प्रसिद्ध छ । उनी सिख पन्थको सबैभन्दा साना उमेरका गुरु थिए । उनी ५ वर्ष ३ महीनाको उमेरमा गुरु भई ३ वर्ष गुरु रहे । यसले प्रमाणित गर्छ कि गुरुता तथा बौद्धिकता सानैदेखि प्राप्त हुन सक्छ ।
राजा जय सिंहको भव्य दरबारमा बालगुरु बाला प्रीतम साहेब हरक्रिशन महाराजको आगमन तथा बसाइले संसारका धेरैको लागि एउटा आधुनिक पावन पवित्र आस्थाको केन्द्र बनेको छ । सामान्य दिनमा पनि हजारौंका सङ्ख्यामा श्रद्धालु भक्तालुहरूले गुरुवाणी कीर्तन, लङ्गर प्रसाद तथा पवित्र जलको सेवाले आफ्नो जीवनलाई सफल बनाइरहेका छन् । त्यसबाहेक कुनै पनि प्राकृतिक प्रकोप, आपदाविपदाको बखतमा दिल्लीलगायत आसपासका क्षेत्रमा विभिन्न प्रकारका मानव सेवा जुटाउँदै आएको छ ।
खासगरी कोभिड–१९ महामारीको दौरानमा करोड होइन करोडौंको सङ्ख्यामा त्यस स्थानलगायत वरिपरिका धेरै स्थानमा लङ्गर प्रसादको सेवा घरदैलो, बाटोघाटो, कोभिड सङ्क्रमित तथा सर्वसाधारणसम्म वितरण गरियो । साथै यो गुरुद्वारा साहेबमा केही अगाडि विश्वको सबैभन्दा अत्याधुनिक डायलोसिस मेशिन राखेर बिरामीहरूलाई निश्शुल्क उच्चस्तरीय डायलोसिस सेवा जारी नै छ । यसको लागि कुनै शुल्क, कुनै पुर्जी, कुनै काउन्टर छैन, साथै विभिन्न औषधि वितरण पनि शुरू गरिएको छ । त्यहाँ बजारको तुलनामा बीस प्रतिशतदेखि असी प्रतिशतसम्म सस्तो दरमा औषधि उपलब्ध भइरहेको छ । निश्शुल्क चिकित्सक सेवा, एम्बुलेन्स सेवा, कोभिडको दोस्रो लहरको बखतमा प्राणवायु (अक्सिजन)को हाहाकार हुँदा निश्शुल्क अक्सिजन तथा सबै सुविधायुक्त आइसोलेशन वार्ड १०० शøयाबाट शुरू गरी ४००–५०० शयासम्मको अत्याधुनिक अन्य आवश्यक साधनस्रोतको साथ तत्काल शुरू गरियो ।
योलगायत अन्य पनि विभिन्न मानवीय सेवा त्यहाँ निरन्तर जारी छ । अन्य सेवाहरू पनि थपिंदै छन् । गुरु महाराजको कृपाले उनको चरण परेको यस स्थानमा कुनै पनि समस्या तथा दुःखले पुग्ने गरेका श्रद्धालु, भक्तहरूको दुःख–कष्ट निश्शुल्क वा न्यूनतम रकममा विभिन्नखाले खाने, बस्ने, औषधोपचार सेवा निरन्तर जारी छ । यो गुरुको असीम कृपा आशिषबाट नै सम्भव भएको छ ।
यसपालि यो पावन प्रकाश उत्सव (जन्मोत्सव) १८ श्रावण सोमवार, २ अगस्त २०२१ को दिन परेको छ । उनको पवित्र प्रकाश पर्वमा उनलाइ कोटिकोटि नमन ।