काठमाडौं, १३ साउन/रासस

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतीजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ ।

यही साउन २५ गतेभित्र २०७७ को एसइई नतीजा सार्वजनिक गर्नेगरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए ।

सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतीजा आएर इन्ट्री सकेर नम्बर रूजु गर्ने काम भइरहेको बताउँदै उनले कुनै प्राविधिक कठिनाइ नआए आगामी शुक्रवारभित्र विद्यार्थीको नतीजा रूजु गरिसक्ने र त्यसको एक साताभित्र नतीजा सार्वजनिक गर्ने उनले बताए । कार्यालयका अनुसार २०७७ सालको एसइई परीक्षाको लागि पाँच लाख १७ हजार विद्यार्थीले रजिस्ट्रेशन फारम भरेका थिए ।

दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञाका कारण गत वैशाख २७ गते एसइई परीक्षा स्थगित भएको थियो । गत जेठ १३ देखि भौतिकरूपमा एसइई परीक्षा सञ्चालन गर्नेगरी बोर्डले तालिका सार्वजनिक गरे पनि कोभिडकै कारण परीक्षा हुन नसकेपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाट नतीजा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

बोर्डले एसइईको विद्यार्थी मूल्याङ्कन, नतीजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ जारी गर्दै सैद्धान्तिकतर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा सोभन्दा बढी प्राप्ताङ्क प्राप्त गर्ने विद्यार्थीको विषगत शिक्षकले के कारणले उक्त नम्बर दिएको हो भनेर कारण खुलाउनुपर्ने जनाएको छ । कोभिडकै कारणले २०७६ सालको एसइई परीक्षाको नतीजा पनि आन्तरिक मूल्याङ्कनबाट प्रकाशित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here