- कुमार रुपाखेती
राणा शासनकालमा रोलक्रम अनुसार प्रधानमन्त्री (श्री ३) बन्ने चलन थियो । पञ्चायती व्यवस्थामा राजाले पत्याएकाहरू प्रधानमन्त्री बन्न पाउँथे । लोकतन्त्रमा जनादेशको कदर गर्दै प्रधानमन्त्री नियुक्त गर्ने चलन थियो । गणतन्त्र नेपालमा अदालती परमादेशबाट प्रधानमन्त्री नियुक्त गर्ने चलन चल्यो ।
यस अघि पूर्वराजा ज्ञानेन्द्रको हुकुमबाट प्रधानमन्त्री बनेका देउवा, जनादेशको आधारमा पनि प्रधानमन्त्री बने, अहिले सर्वोच्चको परमादेशबाट यो सौभाग्य प्राप्त गरे । आफूले मागेको खेलौना नपाउँदा झगडा गर्ने केटाकेटीहरू आफूले चाहेको खेलौना पाउँदा दङ्ग परेझैं देउवा अहिले दङ्ग छन् भने ओली खेलौना खोसिएको केटाकेटी झै बिलौना गर्दैछन् ।
नेपाली राजनीति सदा व्यक्तिगत झगडामा अल्झिरहेको देखिन्छ । राणाकालमा श्री ३ बन्न पारिवारिक कलह हुने, डाँडा कटाउने चलन थियो । पञ्चायतकालमा दरबारिया भाइ भारदारहरूको कोपभाजनको शिकार हुने र अचेल ओली, माधव, प्रचण्ड र देउवा, पौडेलको हानाथाप कसैसँग छिपेको छैन । व्यवस्था पटक–पटक परिवर्तन भए पनि नेतृत्वमा जानेहरूको आचरण कमोबेस उस्तैउस्तै छ ।
मुलुकमा ओलीकाल अन्त्य भई देउवाकाल शुरू भएको छ । पटक–पटक (पाँचपटक) प्रधानमन्त्री बनिसकेका देउवाको आचरण हामीलाई थाहै छ । सियार उहे ह, पोछवा रङागइल बा। कुर्सीका खातिर पार्टी विभाजन गर्ने, राजा ज्ञानेन्द्रसँग हिमचिम गर्ने, पुनः पार्टीमा फर्कने, झर्ला र खाउँला भन्दै अदालतको ताबेदारी गर्ने, पार्टी कब्जा गर्ने आदि इत्यादि कर्म गर्न देउवा खप्पीस मानिन्छन् ।
ओली प्रधानमन्त्री बन्दा माधव नेपालको निद्रा हराम भएझैं देउवा प्रधानमन्त्री बन्दा रामचन्द्र पौडेल कालोनीलो भएका छन् । पृथ्वीनारायण शाहको आधुनिक नेपाल कालदेखि अहिलेसम्म नेपालको प्रधानमन्त्री बन्न कुनै खास योग्यताको आवश्यकता पर्दैन । सधैं अयोग्यहरूले प्रधानमन्त्री पद ओगट्नाले अहिलेसम्म यी अयोग्यहरूले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको सबैलाई थाहै छ ।
अयोग्यताको योभन्दा ठूलो प्रमाण के नै होला र ? नेपालमा उहिलदेखि नै प्रधानमन्त्री बन्ने जो कोहीको विपक्षमा षड्यन्त्र र ढाल्ने तानाबाना नियुक्तिको दिनदेखि नै आरम्भ हुन्छ । यिनै देउवाले प्रधानमन्त्रीमा टिकिराख्न पुरुष सांसदहरूलाई सुत्केरी भत्ता, पजेरो, प्राडो सुविधा दिएर विगतमा राम्रै बदनामी कमाएका थिए ।
राजा वीरेन्द्रलाई रानी ऐश्वर्याले ओभरटेक गरेझैं आरजु राणाको अगाडि देउवाको एक चल्दैन रे १ नेपाली काङ्ग्रेसमा देउवाको छवि राम्रो छैन । यिनको भरपर्दो सारथि विमलेन्द्र निधिले यिनको साथ छाडिसकेका छन् । विपी पुत्र शशाङ्क, गणेशमान पुत्र प्रकाशमान र महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधि र सिटौलाहरू देउवाको पत्ता साफ गर्न एकजुट देखिन्छन् । रामचन्द्र पौडेल देउवाको सदाबहार प्रतिपक्षी हुन् ।
यस्तो सङ्कटपूर्ण अवस्थामा प्रधानमन्त्रीको कुर्सी र महाधिवेशनको सफल छलाङ लगाउन देउवा सामु ठूलै चुनौती छ । त्यसो त आम नेपाली जनताले देउवाबाट मुलुकमा कुनै चमत्कार होला भन्ने आशा नै राखेको छैन । तर पनि देउवा पक्षीय कार्यकर्ताहरूमा चञ्चलता देखिन थालिसकेको छ । चार दिन की चाँदनी भनेको यही हो ।
अचेल त नेपालमा गरिमामय राष्ट्रपति पद र प्रधान न्यायाधीशसम्मलाई बाँकी राखिंदैन । राष्ट्रपतिलाई तथानाम भनेर र चोलेन्द्र शम्शेर जबराको त पुत्लासमेत दहन भइरहेको छ । देउवा पटकपटक चुनौतीपूर्ण अवस्थामा प्रधानमन्त्री बनेका र पद अनुसार आचरण र कर्म गर्न नसकेका व्यक्तित्व हुन् ।
राजा ज्ञानेन्द्रले यिनलाई अक्षम भन्दै बर्खास्त गरेकै हुन् । अर्थोक क्यै गर्न नसके पनि महाधिवेशन अघि परमादेशबाट पाएको प्रधानमन्त्रीको पदले उनलाई पुनः पार्टी सभापतिमा विजय हासिल गर्न सहज हुने प्रस्ट देखिन्छ । त्यस्तै अब छोरा जयवीरलाई समेत टाङ मुनिबाट राजनीतिमा छिराउने सुवर्ण अवसर जुरेको छ । पत्नीपछि छोरा क्याबात !
माधव नेपालको विभीषणमुखी भूमिकाले ओली चारोखाना चित्त भएका छन् । एमालेबाट अब माधव नेपाल भन्ने नाम सदाका लागि टिपेक्स लाग्ने पक्कापक्की र एमाले अब आफ्नो पुरानो र तगडा स्वास्थ्यमा फर्कन पनि निकै पापड बेल्नुपर्ने स्पष्ट छ ।
नयाँ प्रधानमन्त्री देउवाले मुलुक र जनताभन्दा महाधिवेशनलाई ध्यानमा राखी काम गर्ने पक्कापक्की भएकोले आम नेपाली जनताले कोरोना, महँगी, भ्रष्टाचार र कुव्यवस्था झेल्नुपर्ने स्पष्ट देखिन थालेको छ ।
पटकपटक प्रधानमन्त्रीको पगडी भिरिसकेका देउवालाई बधाई दिनुको सट्टा विगतभन्दा जिम्मेवार भएर देश र जनताको सेवामा लाग्ने अर्ती–बुद्धि दिनु श्रेयस्कर हुन्छ । चमचाहरू ओइरो लागेर देउवालाई बधाई दिएको देख्दा हाँसो उठ्छ ।
निकै ठूलो तामझाम र लावालस्कर लिएर बालुवा छाड्ने ओली र निकै ठूलो हल्लाखल्लाका साथ पदमा आसीन देउवाबीच खासै अन्तर छैन । अस्तिसम्म देउवा त ओलीकै पेटेन्ट थिए । विपी कोइरालाले भनेजस्तो देउवा कुर्सीमा बस्ने अन्धो मान्छे नबनून् ।