काठमाडौं, १० साउन/रासस
सोमवारदेखि मनसून सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसून न्यूनचापीय रेखा नेपालको तराई भूभागनजीक बिस्तारै आउने क्रम शुरू भएकाले सोमवारदेखि मनसून सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।
“आज रातिसम्म उक्त रेखा नेपालको तराई भूभागसम्म आइपुग्ने सम्भावना रहेकोले मनसून सक्रिय भई बुधवारसम्म वर्षा हुने सम्भावना देखिएको हो,” मौसमविद् पौडेलले भने । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आज देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ । विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुर्ई स्थानमा भारी वर्षाको सम्भावना रहेकोे छ ।
सोमवार देशभर सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगंजको अधिकतम तापक्रम ३६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।