काठमाडौं, ८ साउन/रासस
विश्व खेलकूदको कुम्भमेला ३२औं ग्रीष्मकालीन ओलम्पिकको औपचारिकरूपमा उद्घाटन शुक्रवार भएको छ । जापानको राजधानी टोकियोमा आयोजना भएको एक विशेष कार्यक्रमबीच अपराह्न ४ः४५ मिनेटमा ओलम्पिक खेलको उद्घाटन भयो ।
उद्घाटन आज भएपनि केही खेलको प्रतिस्पर्धा भने बुधवारदेखि नै शुरू भइसकेको छ । ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी टोकियो पुगिसकेका छन् । नेपालबाट पाँचजना खेलाडी र चारजना प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ ।
उद्घाटन समारोहको मार्चपासमा नेपालको झन्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर (एलेक्स) शाहले बोकेका थिए । सन् २०२० मा आयोजना हुने मिति तय भएको ओलम्पिक कोरोना भाइरसको महामारीका कारण एक वर्ष ढिला हुन लागेको हो । दर्शकको उपस्थितिविना प्रतियोगिता सञ्चालन हुन गइरहेको छ ।
सुटिङ्की कल्पनाले शनिवार बिहान प्रतिस्पर्धा गर्ने
नेपालबाट टोकियो ओलम्पिकमा सहभागी पाँचजना खेलाडीमध्ये सुटिड्ढी कल्पना परियारले शनिवार बिहान प्रतिस्पर्धा गर्ने भएकी छन् । परियारले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनले एक साताअघि नै जापान पुगेर अभ्यास थालेकी थिइन् । परियारको खेल बिहान ५ः१५ बजे शुरू हुनेछ ।
टोकियो ओलम्पिकमा पौडीबाट गौरिका, एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिड्ढी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछन् । सिंहले दोस्रोपटक ओलम्पिक खेल्न लागेका हुन् भने अन्य चारजना खेलाडी पहिलोपटक ओलम्पिकमा सहभागी भएका हुन् ।
पौडीकी गौरिकाले पहिलोपटक सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन् ।
उनले महिला १०० मिटर फ्रि स्टाइल तथा शाहले पुरुष १०० फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा सहभागिता जनाउनेछन् । टोकियो ओलम्पिक यही साउन २४ गते सम्पन्न हुनेछ ।