काठमाडौं, १ साउन/रासस

कोरोना भाइरसविरुद्ध खोप ‘भेरोसेल’ लिन यही साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ । चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकोले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो । यस अघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो।

निगमका अपरेशन विभाग प्रमुख दीपुराज ज्युहार्चनले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने जानकारी दिए । उनका अनुसार चीनसँग खरीद गरिएका खोप लिन पौनै ६ः०० बजे गएर अर्काे दिन अर्थात् साउन ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ ।
यस्तै साउन ७ गते पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर साउन १० गते खोप नेपाल ल्याउने छ ।

चीन सरकारसँग ननडिस्क्लोजर सम्झौतानुसार सरकारले ‘भेरोसेल’ खोप खरीद गरेर ल्याउन थालेको हो । यस अघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । सरकारले चीनबाट खोप ल्याएपछि नियमित खोप अभियान पनि सञ्चालन गरिरहेको छ ।

यसैगरी सरकारले खरीद गर्नेबाहेक कोभ्याक्स सुविधामार्फत पनि खोप ल्याइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धतानुसार खोप आइरहेको जानकारी दिए ।

सरकारले असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एन्ड जोन्सन खोप कोभ्याक्स सुविधा अन्तर्गत अनुदान सहयोग प्राप्त गरेको हो । यस अघि कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप भारतबाट प्राप्त भएको थियो ।

यस्तै जापान सरकारले कोभ्याक्स सुविधा अन्तर्गत जापानमैं उत्पादित कोभिड–१९ विरुद्ध एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।

स्वास्थ्य सेवा विभागका खोप तथा बालस्वास्थ्य शाखाका प्रमुख डा झलक शर्मा गौतमले कोभ्याक्समार्फत थप खोप आउन थालेको जानकारी दिए । कोभ्याक्स अन्तर्गत तीन लाख ५० हजार खोप आउन थालेको हो । सरकारले चीन र अमेरिकाले उपलब्ध गराएको खोप प्राथमिकताका आधारमा लगाइरहेको छ ।

असार २९ देखि यही साउन २ गतेसम्म मुलुकभरि नै खोप लगाउन थालिएको हो । भेरोसेल ५५ वर्ष र सोमाथि उमेर समूह तथा जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई लगाइँदैछ । सरकारले १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।

नेपालमा अहिलेसम्म पहिलो मात्रा २६ लाख २१ हजार ४७६ र दोस्रो मात्रा ११ लाख आठ हजार ८६८ ले लगाइसकेका छन् । यहाँ कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here