चितवन, ३० असार/रासस

पहिरोले खाल्डै खाल्डा बनाएको नारायणगढ–मुग्लिन सडकको स्तरोन्नतिसँगै धेरैले सहज यात्राको अपेक्षा गरेका थिए । यो लामो समय बित्न नपाउँदै सडक ठाउँठाउँमा भत्किएका छन् भने पहिरो रोक्नका लागि गरिएको प्रयास सफल हुन सकेको छैन ।

धेरै ठाउँ सुरक्षित भएपनि पछिल्ला वर्षमा नयाँ ठाउँमा पहिरो खस्न थालेपछि यात्रा जोखिमपूर्ण बनेको छ । यस वर्ष सो सडकका चार ठाउँमा घाम र पानी दुवैमा पहिरो खसेर दुःख दिएको छ । वर्षासँगै सेती दोभान र कालीखोलामा नयाँ पहिरो झरेका हुन् भने चार किलो र पाँच किलोमा पुरानै स्थानमा पहिरो खसेका छन् ।

सेतीदोभान भरतपुर महानगरपालिका वडा नं २९ मा पर्दछ भने अन्य इच्छाकामना गाउँपालिकामा पर्दछ । विगत ६ वर्षदेखि सो सडक हेर्दै आएका डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार सेती दोभानमा ८० मिटरमाथिसम्म पहाड छ । सोही पहाडबाट पहिरो झर्ने गरेको छ ।

माथिल्लो ६ मिटर भागमा माटो छ भने अन्य भागमा गेग्रान र चट्टान रहेको छ । बीचमा पानीको मुहान भएको उनले जानकारी दिए ।

चार किलोमा माथि १५० मिटरसम्म जाली लगाएर पहिरो रोक्ने काम गरिएको छ । त्योभन्दा माथिबाट पहिरो झरेको उनले जानकारी दिए । त्यहाँ फुटेका चट्टान रहेका छन् । पाँच किलोमा माथिबाट खोलिएको शाखा सडकसँगै लेदो झरेर दुःख दिइरहेको छ ।

कालीखोलानजीकै पहिलोपटक पहिरो खसेको हो । पहिरो रोकिएका सामग्रीसहित रूखबिरुवा पहिरोसँगै झरेका थिए । त्यहाँ पनि चार किलोको जस्तै फुटेका चट्टानसहितको पहिरो झर्ने गरेको छ ।

नयाँ पहिरो झरेका दुवै ठाउँ अझै पहिरो झरेर भिरालो नबनेसम्म पहिरो नरोकिने देखिएको छ । पानी पर्दा लेदोसहितको पहिरो र घाम लाग्दा सुक्खा पहिरो झर्ने गरेको छ । खनालका अनुसार पानी पर्दा भित्र छिर्ने र घाम लागेसँगै सुकेर माटो खुम्चिंदा पहिरो खस्ने गरेको छ ।

जसले गर्दा सडक वर्षात्को सबै समय जोखिमपूर्ण बनेको हो । यो सडक हुँदै १० हजार हाराहारी सवारीसाधन दैनिक गुड्ने गर्दछन् । राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य सडकका रूपमा यसलाई लिइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here