काठमाडौं, २९ असार/रासस

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा मङ्गलवार पाँचौंपटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै सोमवार पुनस्र्थापनाको फैसलाका साथ सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।

सोही फैसला अनुसार राष्ट्रपतिले आज देउवालाई प्रधानमन्त्रीको शपथ गराउने तयारी गरेको बुझिएको छ ।

विसं २०४८, २०५१, २०५६ र २०७४ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।

विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले त्यसपछि पटक–पटक गरी चारपटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका थिए ।

त्यसपछि उनी २०५८ साउन ७ देखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भए । सोही वर्ष असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए ।

प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बने पनि राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए ।

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा काङ्ग्रेस विभाजन भई गठित नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)का उनी सभापति बने ।

पछि विसं २०६४ मा काङ्ग्रेस र काङ्ग्रेस (प्रजातान्त्रिक)को एकतापछि उनी काङ्ग्रेसको वरिष्ठ नेता भएका थिए ।

त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न काङ्ग्रेसको १३औं महाधिवेशनमा उनी तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए ।

सभापति एवं संसदीय दलका नेता देउवा व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ जेठ २३ गते चौथो प्रधानमन्त्री निर्वाचित भएका थिए ।

संविधान कार्यान्वयनका लागि उनकै नेतृत्वमा २०७४ सालमा सम्पन्न तीनै तहका निर्वाचनमध्ये प्रतिनिधिसभाको निर्वाचनमा काङ्ग्रेसले पराजय बेहोरेपछि उनले २०७४ फागुन ३ गते पदबाट राजीनामा दिएका थिए ।

सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेशनलका उपाध्यक्ष उनी सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here