सलाम छ ओलीलाई

  • कुमार रुपाखेती

वृद्ध, रोगी, असहाय, महिला र केटाकेटीहरूलाई संसारभरि नै माया र सम्मान गरिन्छ तर नेपालमा त सर्वशक्तिमान र बिमार प्रम अनि शक्तिशाली महिला राष्ट्रपतिलाई बरु हेपिन्छ। भारभुरेका कुरै छाडौं।

नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओली, जो सदैव बिमार र कमजोर देखिन्छन्। बिचरा बडीगार्डहरूले समातेर कुर्सीमा बसाउने, तलमाथि गराउने गर्दछन्। राष्ट्रले पटक–पटकगरी देश–विदेशमा उनको उपचारमा झन्डै–झन्डै १८ करोड खर्चिसकेको छ। स्वास्थ्य उपचारको नाममा नेपालका प्रमका लागि यति ठूलो रकम खर्च गर्ने सौभाग्य पाउने एकमात्र हस्ती ओली नै हुन्। देशीविदेशी उपचारको क्रममा पटक–पटक किडनी चेन्ज गरी शरीर नै थिलथिलो र कमजोर भएको तथा देशले करोडौं लगानी गरेको मान्छेलाई प्रचण्ड र माधव मिलेर बाख्रा धपाएझैं धपाउन खोज्नु, देउवा र बाबुरामसँग मितेरी साइनो जोड्नु, नानाथरी आरोप लगाउनु कहाँसम्म उचित छ ? त्यसमा पनि ओली सधैं देउवाझै स्कच (ह्विस्की) को बोतल रित्याउँदैनन्। ओली त बिहान अलिकति दाल, भात, तरकारी र बेलुका दुईवटा रोटी, दूध र फलफूल खान्छन्। दिनको २४ घण्टामध्ये उनी देशको महत्वपूर्ण कामकाज थाती राखी १८ घण्टा विपक्षीलाई तह लगाउन खर्च गर्छन्। माधवहरूले उनलाई राजा, महाराजाको पगरी भिराएपछि अनि राजा महेन्द्रकै पारामा प्रचण्ड, माधवहरूलाई तडी पार गराउन सक्रिय छन्। गनिमत छ, राजा महेन्द्रले झैं दलहरूमाथि प्रतिबन्ध लगाएका छैनन्, अराष्ट्रिय तत्व घोषित गरेका छैनन्।  तर एउटा महत्वपूर्ण कुरा के छ भने राजा वीरेन्द्रले दरबार हत्याकाण्डमा आफू र आफ्नो परिवारलाई बचाउन नसके पनि बिचरा ओलीले थुप्रै बदनामी सहेर पनि महिला राष्ट्रपति विद्यादेवी भण्डारीको रक्षा गरेका छन्। राष्ट्रपतिमाथि विपक्षीहरूले लगाउने प्रयास गरेको महाभियोगलाई ओलीले ‘फू’ गरेर उडाइदिए। राजा महेन्द्रको २०१७ सालको ‘कू’ र ओलीको ‘फू’ त्यत्तिकै शक्तिशाली हो भन्ने पनि चर्चा छ।

ओलीको दुईपटक किडनी चेन्ज भयो। लाखौं त्यागी कार्यकर्ता भएको भनिने एमालेका कुनै पनि कार्यकर्ताले किडनी नदिएपछि आफ्नै महिला नातेदारले उनलाई किडनी दान र जीवनदान दिएकी हुन्। त्यसै उपकारलाई स्मरण गरेर उनी महिलाहरू र महिला राष्ट्रपतिलाई उचित सम्मान दर्शाउन तनिक हिचकिचाउँदैनन्। मुलुकभर हुने महिला हिंसा र बलात्कार काण्डहरू उनको पहुँच बाहिर भएकोले रोक्न उनी असमर्थ छन्। सधैं टेन्शन दिंदासमेत ओली शारीरिकरूपमा (भले देखावटी नै किन नहोस्) झन्झन् बलियो देखिन थालेपछि उनलाई गलाउन प्रचण्ड–माधवहरूले नून–चुक लगाउन ‘हामी यहाँ छौं’ भन्दै सडकमा बस्ने, भीड जम्मा गर्ने गरे पनि क्यै ख्याँस्न सकेका छैनन्। जो मान्छे (ओली) लाई स्वास्थ्यभन्दा कुर्सी प्यारो छ, जसको अन्तिम इच्छा नै पार्टी अध्यक्ष र प्रधानमन्त्रीको कुुर्सी हो, त्यस्तो लाचार, कमजोर, अशक्तलाई कुर्सीबाट ओराल्न नसक्नेहरू शारीरिक र मानसिक रूपमा झन् कति कमजोर होलान् ?

प्रचण्ड र माधव प्रधानमन्त्रीको कुर्सीमा लामो समयसम्म टिक्न नसकेको इतिहास नै छ। अनि पार्टी अध्यक्ष, प्रधानमन्त्रीको कुर्सी र आठवटा मन्त्रालय सकी नसकी सम्हाल्ने ओली बलियो कि प्रचण्ड–माधव ?

उमेरले ओली त्यसै पनि यो देशका ज्येष्ठ नागरिक हुन्। त्यसैले त उमेरले गर्दा काम गर्न नसक्ने, हिंडडुल गर्न असमर्थ ज्येष्ठ नागरिक भत्ता बढाएर चार हजार गरे। सरकारी दबाई, दारू र सरकारी मानापानी, दानापानी खाएर हुर्केका ओली कसरी कमजोर, लाचार र थकित हुन्छन् ? सरकारी भकारीको अन्नपात खानेहरू त्यसै पनि उमर पचपनका र दिल बचपनका हुन्छन्। त्यसैले त झटारो लागेर खस्ने आँप बनेका ओली अचेल रातोपिरो बनेको नाटक गर्दै माधवहरूलाई तह लगाउँदै छन्। यस्तो अवस्थामा कम्युनिस्टहरूका गुरु माक्र्स, एन्जल, लेनिन र माओ जिउँदो भएको भए ओली पक्षकै वकालत गर्थे होलान् जस्तो लाग्छ मलाई।

बिचरा ओली पनि माओजस्तै बलियो हुँदा चार कदम अगाडि र कमजोर हुँदा दुई कदम पछाडि गरेकै छन्। अहिले पनि दुई कदम पछाडि हटेर माधव समूहको साथ चाहेका छन् तर माधवहरू घोडाझैं दुलत्ती हान्दैछन्।

महिला राष्ट्रपतिको पनि बिजोग छ। फेसबूक हेर्दा त लाजै लाग्छ। धन्य ओलीले काँध थापेकोथाप्यै छन्। जानकी मन्दिरमा विद्या भण्डारीको सवारी हुँदा मन्दिर अपवित्र भयो भन्दै धोइपखाली गर्ने, संविधान जारी हुँदा संविधान जलाउने राजेन्द्र महतोहरू ओलीको आशीर्वादले लाजै नमानी राष्ट्रपतिको उपस्थितिमा शपथ लिए। जय होस् तराईको ! राष्ट्रपति विद्या भण्डारीजस्तै अबला नारीलाई फेसबूकमा जथाभावी सम्बोधन गरेर लेखिन्छ। यस्तो लेख्न नपाइने कानून पनि छ तर ठूलादेखि साना सबैले यहाँ कानून नमान्ने शायद कसम नै खाएका छन्। तर यस्तालाई पनि छुट दिएर ओलीले गणतन्त्रको सम्मान गरेकै हुन्। कतिपयले मदन भण्डारी हत्याकाण्डको कुरा चर्को स्वरमा जपिरहेका छन्। तर ओली भन्छन्–इतिहासको अर्थ इति माने बिती, हास माने कहानी, अब यो बितेको कहानी रटेर केही फाइदा छैन। यस्तो कुरा उठाएर महत्वपूर्ण समय खेर फाल्नु हुँदैन। म यो कुरामा शतप्रतिशत सहमत छु। त्यो माधव नेपाल, जसलाई ठाकुरराम कलेज वीरगंजमा पढ्दापढ्दै ओलीले कम्युनिस्ट बनाए, उनले उटपट्याङ काम गर्दै हिंड्न सुहाउँछ ? प्रहरी र सेनाझैं आफूभन्दा सिनियरले भनेको टेर्नुपर्छ कम्युनिस्टहरूले, चाहे त्यो सरासर सफेद भूmट नै किन नहोस्। बिचरा माधव नेपालले त पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमा –याल चुहाएको त ‘नहुनु मामाभन्दा कानो मामा बेस’ मात्र हो नि !

अब हेर्नुस् न अशक्त, बिमार ओलीले देश र पार्टी दुवै हाँकेकै छन्, पराई भनिने राजेन्द्र महतो (जो आफ्नो बुवाभन्दा पहिले जन्मेको भनिन्छ) लाई पराईबाट आफन्त बनाएकै छन्, पशुपतिनाथमा सुनको जलप लगाएकै छन्, महिला राष्ट्रपतिको रक्षाकवच बनेकै छन्, दमननाथ ढुङ्गानालाई भक्तपुरबाट हराउने छोटा डन महेश बस्नेतलाई जिरोबाट हिरो बनाएकै छन्। पत्रकारहरूलाई जम्मा गरेर विकासको मूल फुटाएकै छन्, प्रतिपक्षीहरूलाई थाङ्नामा सुताएकै छन्, न्यायालयको आँखा छलेकै छन्, राजा हरिश्चन्द्र बनेर सरकारी खजाना लुटाएकै छन्, सकी नसकी कुर्सीमा बसेकै छन्, स्वास्थ्यभन्दा कुर्सीलाई महत्वपूर्ण ठानेकै छन्, आफन्तलाई ओहदा दिएकै छन्, भागबन्डा लगाएर खाएकै छन्, राणाहरू झै विपक्षीलाई तडी पार लगाएकै छन्। म भन्छु एउटा नागरिकको स्वास्थ्य रक्षा गर्नु विपक्षीको पनि धर्म हो, त्यसैले ओलीको दीर्घायुको लागि विपक्षीले ओलीलाई कुर्सीविहीन गर्दा पाप लाग्छ। जङ्गबहादुर राणापछि नेपालले यस्तो दुस्साहसी प्रधानमन्त्री पाएको छ, जो मौकामा चौका हान्न खप्पीस छ। जङ्गबहादुरले श्री ३ बन्नका खातिर थुप्रैको हत्या गरे तर ओलीले त्यस्तो कुनै बिराम (गल्ती) गरेका छैनन्। ठकुरी र ब्राह्मणमा शायद यही फरक छ। ६–६ महीनामा परिवर्तन हुने अस्थिर प्रधानमन्त्रीको कुर्सीलाई ओलीले जोरजबर्जस्ती झन्डै चार वर्षदेखि स्थिर र बपौती बनाउनु ख्यालठठ्ठा होइन। जसरी भए पनि, सके पनि नकसे पनि, लैला–मजनूझैं कुर्सीमा चेपिएर बस्ने ओलीको लालसालाई मेरो पनि सलाम छ।

अचेल धेरैले उनले ल्याएको २०७८–०७९ को अध्यादेशमार्फत् आएको बजेटको विरोध गर्छन्। देश विकासको लागि बिचराले जनतामा अलिकति करको बोझ बढाएको र वैदेशिक ऋण बोकाएको मात्र हो। प्रजातन्त्र ल्याउने नाममा सयौंलाई शहीद बनाउन हुने, रित्तो देश भर्न अलिकति कर र ऋण थोपर्न नहुने पनि कहीं हुन्छ ?

यस्ता थुप्रै कारणले मलाई ओलीलाई स्यालुट गर्न बाध्य बनाएको छ। लालसलाम त म भन्दिनँ किनकि अचेल न ओली कम्युनिस्ट छन् न उनका अनुयायी म नै। त्यसैले ओलीबालाई एकपल्ट फेरि मेरो सलाम छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here