• जसपाल सिंह

नदी, समुद्र र महासागरहरूले ढुङ्गेयुगदेखि मानवका लागि पानीको महत्वपूर्ण स्रोतको रूपमा काम गरेका छन्। नेपाल विश्वमैं दोस्रो ठूलो जलविद्युत् क्षमता भएको मुलुक हो। गण्डकी, कोशी र कर्णालीजस्ता प्रमुख नदीहरू भारतको गङ्गाजीमा मिल्दछन्। साना नदीहरूले पनि ठूलो महत्व राखेका छन्। ‘श्रीसिया’ नेपाल र भारत दुवैका लागि यस्तै नदी हो, जुन नेपाल–भारत सीमामा बग्दछ। श्रीसिया चुरे क्षेत्रको घना रामवनबाट जन्मन्छ र रक्सौल पुग्नुअघि बारा र पर्सा दुवै जिल्ला भएर दक्षिणतिर बग्दछ र बूढीगण्डकीमा मिल्छ। यो नदी मानिसहरूको लागि शुद्ध र स्वच्छ पिउने पानीको स्रोत हुने गर्दथ्यो। यस नदीमा मानिसहरू नुहाउँथे। सबैले यसलाई पवित्र नदीको रूपमा मान्छन्। विभिन्न धार्मिक गतिविधि र विशेषगरी छठपूजा यसको किनारमा गरिन्छ। सबै जात, धर्मको एउटा आस्थाको केन्द्र हो, श्रीसिया नदी। तर उद्योग र सरकारको लापरवाहीका कारण श्रीसिया नेपालको सबैभन्दा प्रदूषित नदीमध्ये एक भएको छ। यो अहिले औद्योगिक फोहर विसर्जन गर्ने नालामा परिणत भएको छ। श्रीसियाको पानी अहिले एकदमै विषाक्त छ। जलचर तथा जनावरहरूले पनि यसलाई बहिष्कार गरिसके। यस पानीले धोएको तरकारी र फलहरू दूषित हुन्छ र रोगको कारण बन्छ। यो लाजमर्दो कुरा हो कि हामीले यस्तो पवित्र नदीको यस्तो दुर्दशा गरेका छौं। आफ्नै संस्कृति, सम्पदा, सभ्यता र प्रकृतिलाई हामी कसरी गुमाइरहेका छौं उदेकलाग्दो छ। उद्योगी–व्यवसायी स्वकेन्द्रित र अर्थ मानसिकताले ग्रस्त छन्। उनीहरू व्यक्तिको स्वास्थ्य र वातावरणबारे पटक्कै चिन्तित छैनन्। सरकारले पनि मतलब राखेको छैन। यसका लागि वातावरणविद्, प्रकृतिप्रेमी र विशेषज्ञहरूले नेपाल सरकार र भारत सरकार दुवैलाई ज्ञापनपत्र बुझाए। यो मुद्दा भारतीय संसद्मा उठेको थियो र बिहारको विधानसभामा पनि छलफलको विषय बन्यो। सीमा क्षेत्र प्रदूषित हुँदा समय–समयमा सडक घेर्ने, चक्काजाम आदि विरोध प्रदर्शन हुँदै आएका छन्। उद्योगहरू कसरी निर्माण हुन्छन् वा कसरी उनीहरू उत्पादनमा लाग्छन् भन्ने कुराको उचित जाँच र सन्तुलन छैन। उद्योग दर्ता गर्दा विभिन्न नियम अन्तर्गत सञ्चालन इजाजत दिइन्छ, तर न उद्योगी, न सम्बन्धित निकायले अवैध कार्य रोक्छ, न तिनलाई नियमन गर्ने निकाय नै संवेदनशील हुन सकेको छ।

अवैध निर्माण, अनियोजित उद्योगीकरण, नदीमा प्रत्यक्ष विषाक्त प्राणघातक फोहर विसर्जन गर्ने प्रवृत्तिले प्रायः देशभरिका नदीहरूले प्रत्यक्ष अभिशाप भोग्दै आएका छन्।

उद्योग मात्र होइन, व्यापारिक भवन, घर, अपार्टमेन्टआदिको निर्माणमा कुनै आधिकारिक जाँच र नियमनको सन्तुलित पालना गरिएको छैन। उद्योगलाई वातावरणीय मापदण्ड पालना गर्दै उद्योगजन्य फोहर प्रशोधन गरेर मात्र नदीमा पानी विसर्जन गर्ने सरकारी शर्तका विपरीत नाफा कटौती हुने भएकोले उद्योगहरू नियमको अवहेलना गरिरहेका छन् र सरकार मौन छ। मानिसको स्वास्थ्य र समस्त पर्यावरणमा परेको प्रतिकूलता उनीहरूको चासो बन्नै सकेको छैन। उनीहरू के बिर्सन्छन् भने उनीहरू, उनका परिवार पनि यसै हावापानी माटोमा बाँचेका छन् र यो प्रदूषणले उनीहरूलाई पनि निल्न सक्छ। जब हामी प्रदूषणविरुद्ध आवाज उठाउँछौं, उद्योगहरूले कि हाम्रो चिन्ताको बेवास्ता गर्छन् वा सरकारी अधिकारीहरूसँग मिलेमतो गरी मुद्दालाई मेचमुनि मिलाउने गर्दछन्।

उद्योगहरूबाट राजनीतिज्ञहरूको पोषण हुन्छ। पार्टी सञ्चालन, सरकार निर्माण, सरकार टिकाउन लगानीसमेत हुन्छ। अनि सरकारी पदाधिकारीहरूले कसरी प्रदूषणको मामलामा हेर्ने, अर्थात् आफ्ना मालिकका दाताविरुद्ध कसरी कारबाई गर्ने ? यो असम्भवप्रायः देखिन्छ। त्यसैले उद्योगविरुद्ध कुनै नियम लगाउन चाहँदैनन्। प्रकृति सेवा प्रतिष्ठान, नेपालले यस मुद्दामा काम गर्दैछ र विगत सात वर्षदेखि सचेतना फैलाउँदै छ। प्रतिष्ठानले श्रीसिया नदीको किनारमा कतिपटक पत्रकार सम्मेलन गरेको छ ं। यसले व्यक्तिमा चेतना फैलाउन सहयोग पु–याएको छ। विगत केही वर्षदेखि जिल्ला प्रशासन कार्यालय, स्थानीय अधिकारी, सम्बन्धित मन्त्रालय र प्रधानमन्त्रीलाई समेत ज्ञापनहरू बुझाइयो, सम्बन्धित प्रमाणित कागजातका प्रतिलिपिसहित ज्ञापनपत्र लेखेर निवेदन गर्दा, निरन्तर सचेतना अभियान, जुलूस, धर्ना तथा विरोध प्रदर्शनले पनि रोकथामको कुनै प्रभावकारी कार्य भएको छैन। बिबिसीका अनुसार सन् १९५७ मा नेचुरल हिस्ट्री सङ्ग्रहालयले थेम्सलाई जैविक दृष्टिले मृत घोषित ग–यो। त्यस युगका समाचार रिपोर्टहरूले यसलाई विशाल गन्धको बन्धनको रूपमा वर्णन गरेका थिए। त्यहाँ जलचर बाँच्न सक्दैन थिए। प्रदूषण र प्लास्टिकको फोहोरका कारण थेम्स नदीको अवस्था यही थियो। त्यस्ता उदाहरणहरू धेरै छन्।

र आजको मितिमा, थेम्सलाई त्यस क्षेत्रमा स्वच्छ नदीको रूपमा मान्यता दिइएको छ। उक्त परिवर्तनले दुई लाख बीस हजार डलरको अन्तर्राष्ट्रिय थेसिस नदी पुरस्कार जितेको छ। हामी कहाँ छौं ? हामीले देख्न सक्ने सबैभन्दा ठूलो उदाहरण भनेको वाग्मती नदी र यसको सफाइ अभियान हो।

निस्सन्देह वाग्मती पहिलेभन्दा सफा भएको छ, प्रकृति प्रतिष्ठानले पनि शुरूमा केही साता हातेमालो गरेको थियो। नदीहरू हाम्रो देशका गौरव हुन्, नदी यति सफा हुनुपर्छ कि यसमा तपाईंको प्रतिविम्ब देखियोस्। जब हामी हाम्रा नदीहरूलाई हेर्दछौं, यसले हामीलाई प्रतिविम्बित गर्दछ। तर हाम्रा नदीहरूले नकारात्मक सोच, फोहोर, प्रदूषण, ज्ञानको अभाव र महत्वाकाङ्क्षा मात्र प्रतिविम्बित गर्दछन्। नदी र पानी मात्र होइन, नेपालमा सम्पूर्ण प्रकृति समस्याग्रस्त देखिन्छ। वनविनाश, ध्वनि प्रदूषण, उद्योग–कारखानाबाट निस्कने धूवाँ, टायर बाल्ने, प्लास्टिकजन्य वस्तुको अन्धाधुन्ध प्रयोग, खेती र खाद्यान्नमा प्रदूषण, रासायनिक मल र कीटनाशकको अत्यधिक प्रयोग यी सबले जल, थल र नभलाई नै प्रदूषित पारिरहेको छ। यस्ता गतिविधिमा कहिले रोक लाग्ने ? पर्यावरणबारे जनचेतना बढ्नुको सट्टा विगतका वर्षहरूमा झन् बढेको देखिन्छ। वन कटानले पहिरो र दुर्घटनाको जोखिम बढाएको छ। चुरे उत्खनन र यसको दोहन एक जीवित उदाहरण हो। यसले अपरिहार्यरूपमा बाढी, माटोको क्षति र मृत्युको सङ्ख्या बढाएको छ। यसले प्रत्यक्ष्Fरूपमा भूमण्डलीय ऊष्मीकरण (ग्लोबल वार्मिङ), हिमस्खलन बढाएको छ। समुद्रको सतह उठ्नु, जलस्रोतको कमी हुँदै जानु र प्रकृतिसँग पौंठेजोरी खेल्ने मानवीय प्रवृत्तिले नै विभिन्न महामारीलाई निम्त्याएको हो। गौरवशाली देश भएको कारण नेपाल हरियालीका लागि परिचित छ, कार्बन डाइअक्साइडलाई अवशोषित गरेर अन्य राष्ट्रलाई सहयोग गर्नुको सट्टा हामी प्रत्येक वर्ष झन् बढी कार्बन उत्सर्जन गर्न लागेका छौंं। “हरियो वन नेपालको धन” अब लामो समयसम्म रहनेछैन। मातृ प्रकृतिको शोषण कुनै पनि हालतमा कुनै पनि व्यक्तिको नियन्त्रणमा हुनुहुँदैन, यो बाढी, पहिरो, सुनामी, ज्वालामुखी, भूकम्प, चक्रवात, महामारी आदिको कारक हो। हामीले यसलाई बुझेर पनि अन्यथा लिइरहेका छौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here