खै कस्तो प्रजातन्त्र हो

  • कुमार रुपाखेती

दरबार हत्याकाण्ड भएको २० वर्ष बितेछ। राजा वीरेन्द्रले आफ्ना पिता राजा महेन्द्रको स्वर्गवास (२०२७) पछि २०४६ सम्म सक्रिय शासन गरे। २०४७ सालपछि सक्रिय राजतन्त्र त्यागेर सरकारको अभिभावकीय भूमिकामा थिए। नेपाल र संसारको जुनसुकै कुनामा बस्ने नेपालीसमेत दरबार हत्याकाण्डपछि स्तब्ध र दुःखित भएका थिए। दरबार हत्याकाण्डका बखत नेपाली काङ्ग्रेसको जगजगी थियो र गिरिजाप्रसाद कोइराला मुलुकका प्रधानमन्त्री थिए। यो हत्याकाण्ड अझै रहस्य र शङ्काको घेरामा छ। त्यतिखेर शक्तिमा रहेका सबैले एकै स्वरमा युवराज दीपेन्द्रलाई अपराधी घोषित गरी यो रहस्यमय हत्याकाण्डलाई थान्को लगाएका थिए। तर हत्याकाण्ड भएको २० वर्ष बितिसक्दा पनि अधिकांश जनताले न राजवंश र राजा वीरेन्द्रको परिवारलाई बिर्सिन सकेको छ, न दीपेन्द्रलाई अपराधी मान्न तयार छ। सरकारी आयोगले दीपेन्द्रलाई यो हत्याकाण्डको नायक देखाए पनि अलि बौद्धिक जनताले यसमा अमेरिका र भारतको मिलिभगत भएको चोर औंलाले देखाए भने केहीले पूर्वराजा ज्ञानेन्द्रप्रति समेत धारेहात लगाए। जसलाई यो हत्याकाण्डबारे अलिकति भनक थियो तिनीहरू पनि डर र त्रास अनि आफ्नो समेत हविगत सम्झेर मुख थुनेर बस्न बाध्य पारिए। जय हो प्रजातन्त्र !

त्यतिखेर दिल्लीबाहिर सुदूर भारत भ्रमणमा रहेका भारतीय प्रम अटलबिहारी वाजपेयीसमेतले चोरको खुट्टा काट भन्दा चोरले खुट्टा तानेझैं झटपट दीपेन्द्रको नाम लिए। अनि त बस तत्कालीन नेपाल सरकारसमेतले दीपेन्द्रकै नामको सुगा रटाइ गर्न थालिहाल्यो। संसारका अमेरिकाजस्ता ठूलो मुलुकहरूमा जस्तै नेपालीका प्रिय राजाको वंश विनाशको वास्तविकता पनि रहस्य र षड्यन्त्रकै शिकार बन्यो। एउटा कुरा त स्पष्ट छ, घटनाका दिन लागू पदार्थले मात्तिएका र लठ्ठ भनिएका दीपेन्द्र साँझ ७ बजेसम्म दशरथ रङ्गशालामा र उनका भाइ निरञ्जन दरबार बाहिर घुमफिर गरिरहेका थिए। नारायणहिटीमा प्रत्येक शुक्रवार साँझ पारिवारिक जमघट, खानपिन र रमझम हुने गर्दथ्यो।

राजा वीरेन्द्रको वंश विनाश गर्ने षड्यन्त्रकारीहरूका लागि यो जमघट एउटा अवसर साबित भयो, जहाँ हत्या गर्नुपर्नेहरूलाई छानीछानी मारियो। पूर्व राजा ज्ञानेन्द्रको सपरिवार बचाउनु वा बाँच्नु पनि हत्याराहरूको प्रि–प्लान हो। आक्षेप लागोस् भनेरै पनि उनका परिवारलाई हत्याराहरूले छोएनन्। ज्ञानेन्द्र त त्यतिखेर पोखरामा थिए। हत्याकाण्डबाट बाल–बाल बाँचेकी धीरेन्द्र शाहकी पत्नीलाई समेत पोल खुल्ने डरले मारिदिए। त्यतिखेरको सरकार नै डराएको र माधव नेपालसमेत डराएर हत्याकाण्ड छानबीन समितिमा बस्न नमानेको अवस्थामा नेपाली पत्रिका र पत्रकारहरू तैं चुप मैं चुप भएका थिए। त्यसै पनि नेपालमा खोज पत्रकारिताको अभाव छ। झन् २० वर्ष अघिको यो घटना त पत्रिका र पत्रकारहरूको पहुँच र बुता बाहिरको कुरा थियो। आफ्नै प्रिय मदन भण्डारीको घटना कि दुर्घटनाबारे चुइँक्क बोल्न नसक्नेहरूले दरबारको हाइ प्रोफाइल हत्याकाण्डको वास्तविकता बुझ्ने औकात हुने कुरै भएन। यति लामो (दुई दशक) बितिसक्दासमेत अधिकांश नेपालीको मनमा राजारानीको अमिट छाप देखिन्छ। राजनैतिक दलहरूको सत्ता र कुर्सीको छिनाझपटीले दिक्क र वाक्क भएका नेपाली कुनै बखत खलनायक भनिने ज्ञानेन्द्र शाहलाई अचेल नायक ठान्न थालेका छन्। त्यसैले त अचेल ठूलो जमात ज्ञानेन्द्रलाई नारायणहिटी भिœयाउने आन्दोलनमा सक्रिय छ। झन् अस्ति पशुपति शम्शेर राणाले कमल थापाको हँमा हँ मिलाउँदै राजा भिœयाउने र हिन्दू राष्ट्र बनाउने घोषणा गरेपछि राजावादीहरू तातेका देखिन्छन्। २०४६ सालताका नायक ठानिएका काङ्ग्रेस, एमाले र तिनका नेताहरू अचेल धेरैको नजरमा हदैसम्मका खलनायक प्रतीत हुन थालेका छन्। पद, कुर्सी, पैसा र पावर नै यिनको लोकतन्त्र र गणतन्त्र बनेको छ। पद र कुर्सीका लागि यिनीहरूले मुलुक र जनतालाई बन्धक बनाउन पनि तनिक बेर लाउँदैनन् भन्ने यिनको क्रियाकलापले देखाउँदैछ। यिनको त्रियाचरित्र हेर्दा त नेपालजस्तो मुलुकका लागि साँच्चै राजा भनेको राजै हो भन्ने आम नेपालीलाई लाग्न थालेको छ। यति मात्र होइन, रजाइँ गर्न नेताहरूले राजाले खडा गरेको १४ अञ्चल, ७५ जिल्ला र ५ विकास क्ष्Fेत्रलाई खण्डित गरी ७ प्रदेश बनाएको समेत आम जनताको आँखाको किरकिरी साबित भएको छ।

शासनमा जमिरहन भर्खरै हत्या आरोपमा बन्दी जीवन बिताइरहेका रेशम चौधरीहरूलाई मुक्ति दिने घिनलाग्दो प्रपञ्च हुँदैछ। यदि अवस्था यस्तै रहेमा सबै खुङ्खार हत्याहरूलाई राजनीतिको जामा पहि–याउँदै मुक्ति दिने तरखर नहोला भन्न सकिंदैन।

राजा महेन्द्रलाई गाथगद्दी ताकेर हत्या गर्न हेतु जनकपुरमा बम प्रहार गर्नेलाई समात्दा राजा तानाशाह हुने, तर राष्ट्रसेवक र शान्ति सुरक्षामा रहेका सुरक्षाकर्मी मार्नेहरू बाइज्जत बरी हुनुलाई कस्तो लोकतन्त्र, गणतन्त्र भन्ने ? आफ्नो सरकार बन्नेबित्तिकै मनपरी निर्णय गर्ने प्रचलन प्रजातन्त्रको नाममा खुबै फस्टाएको छ। धन्दा नमान्नुस्, रौतहटमा जिउँदै मान्छेलाई भट्टीमा चलाउने काङ्ग्रेस सांसद पनि केही समयपछि स्वतन्त्र हुने नै छन्। राजनीतिमा काम लाग्ने र भोट जुटाउन सक्ने थुप्रै अपराधीहरू कालीबहादुर खामझै तपाईं हामीसामु ङिच्च हाँस्दै ठिङ्ग उभिन सक्छन्। अन्त्यमा पुनः वंश विनाश हत्याकाण्डमा शिकार भएका राजा वीरेन्द्रको परिवारप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु। २०४७ सालमा बहाल प्रजातन्त्रले राजा बचाउन नसकेकोमा खेदसमेत प्रकट गर्दछु। खै यो कस्तो प्रजातन्त्र हो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here