कोरोनाले देशको अर्थतन्त्र तहसनहस गरेको छ भने गरीबलाई झन् भीषण गरीबीमा धकेलेको छ। भारतको एसबिआई रिपोर्ट अनुसार भारतीयले यस वर्ष अस्पताल खर्चबापत भारु ६६ हजार करोड अतिरिक्त खर्च गरेका छन्। कोरोनाको कहरले देशलाई तबाह गरेको छ, धेरैजनाले परिवारको सदस्य गुमाएका छन्, जुन परिवारमा यस बिमारीले ताण्डव मचाएको छ, उनीहरूलाई निकै आर्थिक समस्या भएको छ।
घर किन्न, शिक्षामा खर्च तथा घुमफिर गर्न जसले रकम जोगाएका थिए, उनीहरू अक्सिजन किन्न, अस्पताल र औषधिमा खर्च गरेका छन्। लाखौं परिवारले ऋण लिएका छन्। टिओआईमा प्रकाशित समाचार अनुसार २४ वर्षीय शक्ति प्रशान्तसँग एक वर्ष पहिले सबैथोक थियो तर आज उनीसँग केही छैन। प्रशान्त मास्टर डिग्रीको लागि क्यानडा जान चाहन्थे तर महामारीको प्रकोपमा पिता सङ्क्रमित भए र अस्पतालको चक्कर लगाउँदा लगाउँदै उनको भारु १२ लाख खर्च भयो। अब उनीसँग एक रुपियाँ पनि छैन, उनको सपना धूमिल भएको छ।
प्रशान्त यस घटनाको एउटा पात्र मात्र हुन्। उनीजस्ता सयौं युवाले जसले आफ्नो मेहनतको कमाइ अस्पतालको चक्कर लगाएर स्वाहा गरेका छन्। जिन्दगी बचाउनु नै अहिले मानिसको पहिलो प्राथमिकता भएको छ। अस्पतालमा सबैभन्दा बढी खर्च भइरहेको छ। एसबिआईको रिपोर्टले भनेको छ भारतमा यस वर्ष ६६ हजार करोड अस्पतालमा अतिरिक्त खर्च गरिएको छ। कोभिडभन्दा पहिले कहिल्यै पनि स्वास्थ्य उपचारको लागि भारतले यति धेरै रकम खर्च गरेको थिएन।
भारतको सरकारी तथ्याङ्क अनुसार यदि कुनै व्यक्तिले स्वास्थ्य उपचारमा सय रुपियाँ खर्च गर्छ भने त्यसमध्ये ६५ रुपियाँ उसले आफूसँग रहेको अर्थात् आफ्नो गोजीबाट खर्च गरेको छ। चीनमा यो आँकडा ३५ प्रतिशत छ जबकि थाइल्यान्डमा आफ्नोतर्फबाट मानिसले सयमध्ये रु १० मात्र खर्च गरेका छन्।
एसबिआईको रिपोर्ट अनुसार यो अनावश्यक खर्च धेरै कारणले गर्नुपरिरहेको छ। एक त अचानक महामारीमा अस्पताल जानुपरिरहेको छ, अर्कोतर्फ मेडिकल सेवा र औषधिको दरमा अचानक वृद्धि भएको छ। गरीबदेखि धनीसम्म हरेक व्यक्तिको आम्दानी कैयौं गुना कमी भएको छ। सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमीको एउटा रिपोर्ट अनुसार भारतका ९७ प्रतिशत व्यक्तिको आम्दानी कम भएको छ।