आज विश्व दूध दिवस हो। धेरैजसोले दूध नै क्याल्सियमको राम्रो विकल्प भन्छन् तर यो भ्रम हो। नेशनल इन्स्टिच्युट अफ न्युट्रिशन अनुसार सय एमएल दूधमा १२५ मिलिग्राम क्याल्सियम हुन्छ, जबकि सय ग्राम रागी (कोदो)मा ३४४ मिलिग्राम क्याल्सियम हुन्छ। विज्ञ अनुसार शरीरमा क्याल्सियम पचाउनका लागि भिटामिन डी पनि पर्याप्त मात्रामा हुनुपर्छ।
भनिन्छ, दूध उमालेपछि त्यसको पोषक तत्व कम हुन्छ तर यो भ्रम हो। दूधलाई बिग्रिनबाट जोगाउन उमाल्नुपर्छ, यसो गर्दा दूधलाई नोक्सान पु–याउने ब्याक्टेरिया नष्ट हुन्छ। दूधलाई उमाल्दा यसको पोषक तत्वमा असर पर्दैन। आहार विशेषज्ञका अनुसार दूधलाई धेरैपटक उमाले पनि यसको पोषक तत्व नष्ट हुँदैन। आहार विशेषज्ञका अनुसार बिहान दूध पिउन सकिन्छ तर खाली पेट सेवन गर्नुहुँदैन। यस्तो गर्दा पाचनशक्ति बिग्रिन सक्छ, ग्यास बन्छ। आयुर्वेद अनुसार यदि तपाईंलाई वात र कफ दोष छ भने बिहान खाली पेट दूध सेवन गर्नुहुँदैन। जसलाई प्रायः खोकीको समस्या रहन्छ, उसले पनि बिहान खाली पेट दूध सेवन गर्नुहुँदैन।
सुनौलो दूधको फाइदाः कोरोनाकालमा गोल्डेन मिल्क (सुनौलो दूध) पिउनेहरूको सङ्ख्या निकै बढेको छ। भारतको आयुष मन्त्रालयका अनुसार रोगसँग लड्ने क्षमता बढाउनको लागि बेसार मिसाएको दूध पिउनुपर्छ। धेरैजसोले बेसार–दूधले इम्युनिटी बढाउँछ भनेर पिउँछन्। तर गोल्डेन मिल्क पिउँदा शरीरको दुखाइ कम, निद्राको समस्या तथा शरीरमा बढ्दो उमेरको असर कम गर्न सकिन्छ।
कसरी गोल्डेन मिल्क बनाउनेः एक कप दूधमा एक चम्चा बेसार, एउटा सानो अदुवाको टुक्रा, आधा चम्चा दालचिनीको धूलो र एक चिम्टी मरिचको पाउडर मिलाएर दूधलाई कम आँचमा १० मिनेटसम्म उमाल्नुपर्छ। मीठोको लागि चिनीभन्दा मह मिसाउनु राम्रो हुन्छ।
सुन्निने र जोर्नीको दुखाइ घटाउँछः एउटा अनुसन्धान अनुसार बेसार–दूधमा एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्लेमेट्री हुन्छ, जसले शरीर सुन्निएको घटाउँछ। जोर्नीको दुखाइ र गठियामा पनि यसले राहत दिन्छ। प्रतिदिन एक गिलास गोल्डेन मिल्क सेवन गर्दा बढ्दो उमेरसँगै हुने समस्या ओस्टियोआर्थराइटिसमा फाइदा पुग्छ।
हृदयरोगको खतरा १४ प्रतिशत कम गर्छः इङ्गल्यान्डको रिडिङ युनिभर्सिटीका शोधकर्ताका अनुसार मुटुको रोग र स्ट्रोकको खतरालाई १४ प्रतिशत घटाउन चाहनुहुन्छ भने प्रतिदिन एक गिलास दूध पिउनुपर्छ। यसले कोलेस्ट्रोलको स्तर कम गर्छ।
ब्लड सुगरको स्तर घटाउँछः जसको ब्लड सुगर स्तर बढेको छ, उसले पनि गोल्डेन मिल्क सेवन गर्न सक्छ। मधुमेहका रोगीको लागि बेसार, अदुवा र दालचिनी हालेको दूधले निकै फाइदा पु–याउँछ। ब्रिटेनमा गरिएको एक अनुसन्धान अनुसार दूध पिउँदा ब्लड सुगरको लेबल बढ्दैन। बेसार–दूध पिउँदा क्यान्सरको खतरा कम हुन्छ। बेसारमा हुने करक्युमिन तत्वले क्यान्सर फैलाउने कोशिकालाई नष्ट गर्छ। – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)