भारतको मध्यप्रदेशमा कोरोना सङ्क्रमण रोक्नको लागि सडकमा घुमफिर गर्नेलाई कारबाई गर्ने तयारी गरिएको छ। बडवानी जिल्लामा प्रशासनले विनाकारण घुमेर निषेधाज्ञा उल्लङ्घन गर्नेहरूको भिडियो र फोटो सामाजिक सञ्जालमा भाइरल गर्ने बताएको छ।
बडवानीका कलेक्टर शिवराजसिंह वर्माले भने, एक जूनदेखि जारी भएको लकडाउनको पालना सबैले गर्नुपर्छ। उनले लकडाउन उल्लङ्घन गर्नेहरूको भिडियो बनाएर सामाजिक सञ्जाल र ह्वाट्सएपमा पठाउन सरोकारवालालाई निर्देशन दिए। भिडियो बैठकमा कलेक्टरले सबै राजस्व अधिकारीलाई आदेश दिंदै आआफ्नो क्षेत्रमा लकडाउन पालना गराउनुपर्ने बताए। लकडाउनको अवज्ञा गरेर खुलेका पसलहरूको भिडियो बनाएर ह्वाट्सएपमा पठाएको खण्डमा त्यस्ता पसलेलाई कारबाई गर्ने बताए। उनले पसलमा सामाजिक दूरी, सेनिटाइजरको व्यवस्था, ‘पसलमा ग्राहकले मास्क लगाएको छैन भने सामान छैन’ जस्ता पोस्टर लगाउन आदेश पनि दिएका छन्। – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)