सन् २०२१ देखि २०२५ सम्मको कुनै एक वर्ष धर्तीको तापमान अत्यधिक हुने वैज्ञानिकहरूले बताएका छन्। सन् २०१६ मा भएको सबैभन्दा बढी गर्मीको रेकर्डलाई यसले तोड्न सक्ने उनीहरूको दाबी छ। उनीहरूले तापमान ४० प्रतिशतसम्म बढ्ने बताएका छन्। तापमान बढेपछि लू, अत्यधिक वर्षा र पानीको अभाव हुन सक्छ। यो दाबी अमेरिका, चीनलगायत संसारभरिका १० देशका वैज्ञानिकले वल्र्ड मेट्रोलोजिकल अर्गनाइजेशन (डब्लुएमओ)को रिपोर्टमा गरेका छन्।
पछिल्लो एक दशकमा १.५ डिग्री तापमान बढ्ने आशङ्का मात्र २० प्रतिशत थियो तर नयाँ रिपोर्टले खतरा ४० प्रतिशतसम्म बढेको बताएको छ। यस्तो भयो भने सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौतामा निर्धारित तापमानभन्दा माथि उठ्नेछ। मौसम वैज्ञानिक लियोन हरमेन्सनको भनाइ छ, दुनिया १.५ डिग्री तापमानतर्फ लम्कँदै छ, यसलाई रोक्नुपर्छ किनभने समय बित्दैछ।
डब्लुएमओका महासचिव प्राध्यापक पेटेरी तालास अनुसार बढ्दो तापमानबाट बरफ पग्लिन्छ र समुद्रको जलस्तर बढ्छ, यसबाट मौसम बिग्रन्छ। परिणामस्वरूप भोजन, स्वास्थ्य, पर्यावरण र विकासमाथि प्रतिकूल प्रभाव पर्छ। रिपोर्टले भनेको छ, यतिबेला सतर्क हुनुपर्छ। संसारभरिका ग्रीन हाउस ग्यास उत्सर्जन घटाउनको लागि तीव्र गतिले काम गर्नुपर्छ।
रिपोर्ट अनुसार संसारको करीब एक चौथाइ जनसङ्ख्या दक्षिण एशियामा बस्छ। यो क्षेत्र पलिहेदेखि नै बढी गर्मीको मार झेल्दै आइरहेको छ। तसर्थ तापमान बढेपछि यहाँको लागि ठूलो खतरा हुनेछ। यस क्षेत्रमा करीब ६० प्रतिशत मानिस खेती किसानी गर्छन्। उनीहरू खुला मैदानमा काम गर्नुपर्छ, तसर्थ लूको जोखिम पनि बढ्छ।
के हो पेरिस जलवायु सम्झौता ः सन् २०१५ को ३० नोभेम्बरदेखि ११ डिसेम्बरसम्म १९५ देशका सरकार फ्रान्सको पेरिसमा जम्मा भएका थिए। सरकारले संसारभरिका ग्रीन हाउस ग्यास उत्सर्जन कम गर्ने लक्ष्य तय गरेका थिए, जसबाट तापमान २ डिग्रीसम्म कम गर्न सकियोस्।
–प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)