वीरगंज महानगरपालिकाले अब घरघरमा स्वाब सङ्कलन कार्य शुरू गरेको छ। साथै कोरोना सङ्क्रमितको सङ्ख्या अचाक्ली बढ्दै गएपछि एक सय शय्याको कोभिड अस्पताल र एक सय शय्याको आइसोलेशन वार्ड सञ्चालनमा ल्याउने तयारी गरेको छ। वीरगंजमा दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएको सन्दर्भमा महानगरपालिकाको यो पहल यद्यपि ढिलो भयो, तर शुरू भयो। अनिर्णयको बन्दी बनिरहनुभन्दा ढिलै भएपनि शुरू गर्दा नगरवासी आश्वस्त हुन्छन्। खासमा कोरोना महामारीमा उपचारभन्दा मनो–सामाजिक परामर्श र सन्देशले बढी काम गर्ने कुरा मनोचिकित्सकहरूले विभिन्न सञ्चार माध्यममार्फत बताउन थालेका छन्। मन के हारे हार है, मन के जीते जीत भन्ने हिन्दी उखान नै छ। नेपालीमा पनि कुनै पनि परिस्थितिमा हरेश खानुहुँदैन भन्ने अर्ती दिइन्छ। यो भनेको मन बलियो पार्नु हो। कोरोनाको प्रहारको सफलता पनि मनको निर्बलतामा केन्द्रित देखिएको छ। जो मनले हताश भयो, ऊ कोरोनाको शिकार बन्यो। यसो भनिरहँदा जथाभावी कुनै डर–धक नमानी स्वास्थ्य मापदण्ड पालना नगरी हिंड्नुलाई मनबाट बलियो भएको ठानिंदैन।

                सामान्य रुघाखोकीमा पनि मानिसमा हताशा देखिन थालेको छ भने कोरोना पोजिटिभ भएका व्यक्ति पनि हाँसीखुशी रहँदा निको भइरहेको देखिएको छ। यस सन्दर्भमा महानगरपालिकाले घरघर पुगेर स्वाब परीक्ष्Fण गर्ने कार्यलाई आफूखुशी बनाउनु बढी उपलब्धिपूर्ण हुनेछ। किनकि सबै मानिसको मनोबल एकनासको हुन्छ भन्ने छैन। धेरै मानिस परीक्ष्Fणमा पोजिटिभ देखिएपछि मनले हरेश खाने देखिएका छन्। एउटा घटना यस्तो पनि भएको छ वीरगंजमैं कि एकजना स्वस्थ व्यक्ति कोरोनाको चर्चा चल्दाचल्दै एक्कासि थला परे र उनको तुरुन्तै ज्यान पनि गयो। सङ्क्रमित व्यक्तिको मनोबल दृढ भयो भने ऊ समाजमा उदाहरणीय बन्छ, स्वस्थ व्यक्तिको मनोबल बलियो भयो भने ऊ आफू त आफू समाजलाई पनि सङ्क्रमित बनाउने माध्यम बन्न सक्छ। गाउँ–देहातमा आज अत्यधिक मृत्यु त्यस्तै व्यक्तिको बढी हुने गरेको छ, जो कोरोना कुनै रोग होइन भनी फाइँफुट्टी लगाउँदै हिंड्थे। भीरबाट खस्न लागेको गाईलाई राम राम मात्र भन्न सकिन्छ, काँध धाप्न सकिन्न। उद्दण्ड र हठीहरू सबै समाजमा सबै कालमा हुन्छन्।

                कोरोनाको कुनै उपचार छैन, एकमात्र आशा खोपमा टिकेको छ। खोपको व्यवस्था गर्ने काम सरकारको हो। सरकार नै अहिले आइसियुमा छ। तसर्थ तत्काल खोपको व्यवस्था होला भन्ने आशा देखिंदैन। कोरोनाको एक मात्र उपलब्ध औषधि रेमडिशिभिर जुन ठाउँमा कालाबजारीमा बिक्री हुन्छ, राजधानीले प्रशस्त मात्रामा छ भनी फलाकिरहँदा, मोफसलमा मानिस औषधिको पर्याप्त मात्रा नपाएर छटपटिइरहेको छ, त्यस ठाउँमा स्वनियन्त्रणबाहेक अरू कुनै उपचार छैन। रोग लागेपछि देखाजाला होइन, रोग लाग्नै नदिने उपाय नै सर्वोपरि देखिएको छ। हामीमा देखाजाला भन्ने थेगो पनि नानीदेखि लागेको बानी हो। कोरोनाकालभरि यो थेगो त्याग्नमैं भलाइ छ। महानगरपालिकाले परीक्षणमा कम र सङ्क्रमितको उपचारमा बढी ध्यान दिनु आवश्यक छ। जो स्वेच्छाले परीक्ष्Fण गराउन चाहन्छ, उसका लागि परीक्ष्Fण उपलब्ध गराउने र आवश्यक औषधिको जोहो गर्ने कामलाई प्राथमिकता दिनुपर्छ। आइसोलेशन र कोभिड अस्पताल यस मानेमा सर्वथा उपयुक्त पाइला हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here