पूँजीवादको पुनः परिभाषा आवश्यक

0
  • विश्वराज अधिकारी

                कोरोना–सङ्कटले गर्दा संसारभरिका विभिन्न राष्ट्रका अर्थतन्त्र अहिले अति सङ्कटग्रस्त भएको छ। अर्थतन्त्र मात्र होइन, संसारभरिका व्यक्तिहरूको जीवन नै उच्च जोखिममा छ, अनिश्चित छ। छिमेकी भारतमा कोरोना–महामारी नियन्त्रणभन्दा बाहिर पुगेको छ। त्यहाँ कोरोना–सङ्क्रमितहरूको मृत्यु–सङ्ख्या वेगवान् हुने क्रममा छ। भारतमा स्थिति यतिसम्म भयावह भएको छ कि कोरोनाले मृत्यु भइ नै हाले पनि सद्गत गर्ने ठाउँसम्म को अभाव छ। सामूहिकरूपमा, ठूलो सङ्ख्यामा सद्गत गर्नुपर्ने बाध्यात्मक स्थिति छ। सङ्क्रमितहरू उपचार नपाएर एम्बुलेन्समा मरेको वा मर्नुपर्ने स्थिति छ। भर्ना हुन बिरामीले अस्पताल अगाडि घण्टौं कुर्नुपर्ने बाध्यता छ। अक्सिजनको ठूलो अभाव छ। भन्ने हो भने अहिले भारतभरि एक किसिमको सन्त्रास फैलिएको छ। स्थिति नियन्त्रणभन्दा बाहिर पुगेको छ।

                कोरोना महामारीको उच्च जोखिममा रहेको भारत नेपालको निकट छिमेकी मात्र होइन, धार्मिक र सांस्कृतिकरूपमा पनि समान रहेको र नेपाल–भारतबीच सिमाना खुला र अनियन्त्रित भएकोले भारत अहिले जुन रूपमा कोरोना भाइरसबाट सङ्कटग्रस्त भएको छ, नेपाल पनि त्यही रूपमा पुग्ने सम्भावना प्रबल भएको छ। यस्तो स्थितिमा कोरोना–सङ्कटबारे चर्चा गर्नु अति उपयुक्त हुने देखिन्छ। तर अहिले जुनरूपमा नेपाल र भारतमा कोरोना महामारी फैलिरहेको छ त्यो विचार गर्दा कोरानाबाट सङ्क्र्रमित हुनबाट जोगिनु नै उत्तम उपचार रहेको र यसका लागि कम्तिमा पनि दुई हप्ता उच्च जोखिममा रहेका स्थान र स्थितिमा निषेध व्यवस्था जारी गर्नु र त्यसको अनुपालन गर्नु उत्तम देखिन्छ। अहिले कोरोना भाइरसबाट सङ्क्रमित हुनुभन्दा त्यसबाट जोगिनु उत्तम उपचारको रूपमा देखिएको छ। यो अति सङ्कटको स्थितिमा केही समय निषेध व्यवस्था आवश्यक स्थानहरूमा जारी गर्नुको विकल्प नै देखिंदैन।

                यस घडीमा कोरना महामारीप्रति उच्च सतर्कता रFख्दै आउनुस् यस आलेखमा एक फरक विषयमा कुरा गरौं। तर त्यो विषय सान्दर्भिक किन छ भने जुन राष्ट्रहरूलाई घोर पूँजीवादी राष्ट्र भन्दै कर्मकाण्डी कम्युनिस्टहरूले नित्य सत्तोसराप गरे वा गरिरहेका छन् ती राष्ट्रहरू अहिले कोरोना–सङ्कट व्यवस्थापन गर्न अति सफल देखिएका छन्। अमेरिका अहिले विश्वमा नै आफ्ना लगभग सम्पूर्ण देशवासीलाई कोरोनाविरुद्ध खोप लगाउन सफल भएको छ। अमेरिका आफ्ना सबै नागरिकलाई सर्वसुलभ किसिमके खोप उपलब्ध गराउन विश्वमा नै पहिलो राष्ट्र हुन पुगेको छ। अमरिकीहरूले निश्शुल्क कोरोनाको खोप पाएका छन्। जबकि कोरोना महामारीले पहिलो लहरमा विश्वभर आफ्नो ताण्डव प्रदर्शन गर्दा यस महामारीको सङ्क्रमणबाट विश्वमा अमेरिकामा नै सर्वाधिक व्यक्तिको ज्यान गएको थियो। तर अहिले अमेरिकाले कोरोना–सङ्कटमा एक किसिमको नियन्त्रण कायम गर्न सफलता प्राप्त गरेको छ।

                पूँजीवादी कहलिएका देशहरू अहिले कोरोना महामारीमा आफ्ना नागरिकको जीउज्यानको रक्षा गर्न तथा उनीहरूलाई आर्थिकरूपमा सहयोग गर्न सफल देखिएका छन्। यस तथ्यलाई विचार गर्दा पूँजीवादको पुनः परिभाषा गर्नु सान्दर्भिक हुन आउँछ। बेलायत, फ्रान्स, जर्मनी, इटली, अमेरिका आदि अहिले कोरोना–सङ्कट व्यवस्थापन गर्न सक्षम एवं कुशल देखिएका छन्। आफ्ना नागरिकलाई आर्थिक पीडाबाट मुक्ति दिन निकै सफल देखिएका छन्।

                कम्युनिस्ट र आफूलाई माक्र्सको चेला भन्नेहरूले जुन किसिमले पूँजीवादको अपव्याख्या र साम्यवादको अति प्रशंसा गरे त्यो अहिले आएर पूर्णतया गलत र विपरीत देखिएको छ। आफूलाई साम्यवादी वा समाजवादी भन्ने राष्ट्र वा सरकारहरू आफ्ना नागरिकको जीउधनको रक्षा गर्न त सफल भएका छैनन्, उल्टो आफ्ना नागरिकको ज्यान र धनको शोषण गर्न उद्धत भएका छन्। र यस तथ्यको ताजा उदाहरण हो, उत्तर कोरिया। उत्तर कोरियाका शासकहरूले साम्यवादको नाममा दशकौंदेखि आफ्ना नागरिकको जीउज्यानको शोषण गर्दै आइरहेका छन्। उत्तर कोरियाका अहिलेका मुख्य शासक किम जोङ–उनका लागि, आफ्ना विरोधीहरूको सफाया गर्नु कुनै ठूलो कुरा होइन। उनले आफ्ना धेरै विरोधीहरूको निर्ममतापूर्वक सफाया गरिसकेका छन्। साम्यवादको नाममा त्रूmर, सनकी र तानाशाह किम जोङ–उनको निरङ्कुश शासन व्यवस्था भोग्न उत्तर कोरियाका नागरिक अभिशप्त छन्।

                आफ्ना नागरिकको ज्यान र धनको रक्षा गर्न नसक्ने राष्ट्रहरूमा भेनेज्युएला र क्युबा पनि देखिएका छन्। यी दुवै राष्ट्रले आफूलाई साम्यवादको निकै नजीक ठान्दछन्। यी राष्ट्रहरूमा निर्वाचन हुँदा जहिले पनि तोकिएका व्यक्तिहरू नै विजयी भएर आउने व्यवस्था वा चलन छ। मदुरोको निरङ्कुश शासन व्यवस्थामा आफ्नो भविष्य सुरक्षित नदेखेर विदेश पलायन हुने भेनेज्युएलीहरूको सङ्ख्या लाखौंमा छ। अहिले गरीबीको चपेटामा परेको भेनेज्युएला विश्वमा नै सर्वाधिक पेट्रोलियम पदार्थको भण्डार भएको राष्ट्र हो। तर यस्तो राष्ट्रलाई त्यहाँका स्वार्थी कम्युनिस्ट नेताहरूले गरीब पारे। आफूहरू सत्तामा बस्न राष्ट्रलाई गरीब पारे।

                गरीबप्रति कडा र धनीहरूप्रति नरम व्यवहार गर्ने तथा गरीबहरूको आर्थिक शोषण गरेर धनीहरूलाई झनै धनी पार्ने पूँजीवादी अमेरिकाको सामन्ती चरित्र रहेको भनेर अमेरिकालाई घोर पूँजीवादी भन्ने कर्मकाण्डी कम्युनिस्टहरू यो कुरा थाहा पाएर तिनछक्क पर्नेछन् कि कोराना–सङ्कटले गर्दा आर्थिक सकस भोगिरहेका तथा कम आय भएका अमेरिकी नागरिकहरूलाई आर्थिक सहयोग गर्न घोर पूँजीवादी कहलिएको अमेरिका विश्वमा नै अहिले प्रथम भएको छ। सन् २०२० र २०२१ मा गरी दुई वर्षभित्र वा महीनाको हिसाबले १८ महीना भित्र अमेरिकाको सङ्घीय सरकारले आफ्ना कम आय भएका नागरिकलाई ३२ (१२००+६००+१४००) सय डलर आर्थिक सहयोग प्रदान गरेको छ। यो यस्तो सहयोग हो जुन प्राप्तकर्ताले ऋण जस्तो फर्काउनुपर्दैन। साथै प्राप्तकर्ताले आफ्नो स्वेच्छा अनुसार खर्च गर्न पाउँछ पनि। यसरी पूँजीवादी कहलिएको वा गरीबहरूप्रति अनुदार भनिएको देश अमेरिकाले गरीबहरूलाई बेलाबेला आर्थिक सहयोग गर्नुले यो देश कसरी र कुन किसिमबाट गरीबहरूप्रति अनुदार रहेको पुष्टि हुन्छ ? वा पूँजीवादी देशहरू गरीबहरूप्रति अनुदार र धनीहरूप्रति उदार रहेको कम्युनिस्टहरूको आरोपको कसरी पुष्टि हुन्छ ?  सन् २००८–२००९ तिर अन्तर्राष्ट्रिय तथा अमेरिकी अर्थ व्यवस्थामा मन्दी (recession) आएको समयमा पनि अमेरिकाको सङ्घीय सरकारले आफ्ना कम आय भएका नागरिकलाई आर्थिक सहयोग उपलब्ध गराएको थियो। यी विभिन्न किसिमका कार्यहरूको सूक्ष्म विश्लेषण गर्दा अमरिकाको पूँजीवाद समाजवादको घेराभित्र रहेको देखिन्छ। अर्थात् अमेरिकाको पूँजीवाद धनीहरूलाई धन आर्जन गर्न दिने, तर गरीबहरूको हितको पनि रक्षा गर्ने किसिमको व्यवस्था भएको पूँजीवादी राष्ट्रको रूपमा देखिएको छ। यही स्थिति बेलायत, फ्रान्स, जर्मनी आदिको पनि छ। अर्थात् कम्युनिस्टहरूले गाली गर्ने पूँजीवाद उनीहरूको भनाइ विपरीत गरीबहरूको हितको संरक्षण गर्ने व्यवस्थाको रूपमा देखिएको छ।

                कार्ल माक्र्सले पूँजीवादको व्याख्या कुन किसिमले गरे त्यो कुरा ठ्याक्कै भन्न सक्ने स्थितमा म छैन, तर आफूलाई माक्र्सको अनुयायी भन्नेहरूले चाहिं पूँजीवादको व्याख्या गलत किसिमले गरेका रहेछन्। पूँजीवादलाई शोषकको रूपमा प्रस्तुत गरका रहेछन्। तर व्यवहारमा भने त्यस्तो रहेन छ। यस कारणले पनि सर्वसाधारणले सजिलै बुझ्न सक्नेगरी पूँजीवादको पुनः व्याख्या हुन वा यसलाई पुनः परिभाषित गर्न आवश्यक देखिएको छ। कोराना महामारीले पूँजीवादलाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकता झनै टडकारोरूपमा प्रस्तुत गरको छ।

                पूँजीवाद शोषकहरूको व्यवस्था हो। खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने व्यवस्था हो। धनीहरूको पृष्ठपोषण गर्ने व्यवस्था हो। गरीबहरूको श्रमको शोषण गर्ने व्यवस्था हो। यस्ता कुरा भनेर गरीबहरूलाई नेपाली कम्युनिस्टहरूले र खासगरी स्वार्थी कम्युनिस्टहरूले गलत र भ्रामक सपना देखाएर सत्तामा आफ्नो पकड निरन्तर कायम गर्न सफल भएका छन्। २०४७ सालदेखि नेपालको राजनीति कम्युनिस्ट नेताहरूको वरिपरि घुमेको छ। तर यी क्युनिस्टहरूले जनताको सपनालाई आफू सत्तामा पुग्ने भ–याङभन्दा बढी केही ठानेका छैनन्। तर आश्चर्य ! यी स्वार्थी कम्युनिस्ट नेताहरूलाई नेपाली गरीब जनताले अहिले पनि पत्याउन छाडेको छैन। जनता अहिले पनि यी नेताहरूको उक्त व्यवहारबाट प्रस्ट हुन सकेको छैन। नेपाल मात्र होइन, विश्व–सन्दर्भमा नै कम्युनिस्ट दर्शन स्वार्थी नेताहरूको लगि सत्तामा पुग्ने भ–याङबाहेक केही हुन सकेको छैन। उल्टो कम्युनिस्टहरूले गाली गर्ने पूँजीवादी व्यवस्था गरीबहरूको नजीक हुन पुगेको छ।

                गरीबहरूको मसिहा भनिएको कम्युनिस्ट व्यवस्था गरीबहरूदेखि पर तर गरीबहरूको शत्रु भनिएको पूँजीवादी व्यवस्था गरीबहरूको नजीक। कस्तो विडम्बना!

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here