सञ्जय मित्र
मनुस्मृतिमा एउटा श्लोक यस्तो छ ः
द्विधा कृत्वाऽऽत्मनो देहमर्धेन पुरुषोऽभ्यत्ः।
अर्धेन नारी तस्यां स विराजमसृजत्प्रभुः।।
यसको भावार्थ के बताइएको छ भने ब्रह्माले आफ्नो शरीरलाई दुई भाग गरी आधाबाट पुरुष र आधाबाट नारी बनाएर त्यसमा विराट् पुरुषको सृष्टि गरे।
मानिसको सृष्टि वा सिर्जना कसरी भयो वा मानिसको विकासक्रम के हो भन्ने विषयमा अनेक वादविवाद रहेको छ। धर्मशास्त्र र विज्ञानले फरक–फरक तर्क राख्दै आएका छन्। मानवको उत्पत्ति कसरी भयो भन्ने विषयमा अनेक तर्क र बहसहरू लामो समयदेखि चल्दै आएको सत्य हो। सबै तर्क र सिद्धान्तलाई मान्नेहरू छन् र सबैमाथि प्रश्न उठाउनेहरू पनि छन्।
मनुस्मृतिको उपर्युक्त श्लोकबाट एउटा कल्पना उभिन्छ कि ब्रह्मामैं स्त्री र पुरुष दुवैको शक्ति थियो। ब्रह्मालाई सामान्यतया वृद्ध पुरुषको रूपमा चित्राङ्कन गरिएको पाइन्छ र यस श्लोकमा भनिएको जस्तो प्रस्तुति सितिमिति कुनै प्रसङ्गमा गरिएको पाइन्न। तर मनुस्मृति पनि हिन्दू धर्म–दर्शनमा दख्खल राख्ने ग्रन्थ भएकोले एकैचोटि ठाडै अस्वीकार गर्न पनि सकिन्न। यस ग्रन्थले ब्रह्मा एकै देवतामा नारी र पुरुष दुवै रूप भएको अवस्थाको स्पष्ट सङ्केत गरेको देखिन्छ।
हुनत ब्रह्मालाई सृष्टिकर्ता पनि भनिन्छ। मनुस्मृतिले पनि ब्रह्मालाई सृष्टिकर्ता मानेको छ। हिन्दू धर्मका अन्य शास्त्रहरूले पनि यस कुराप्रति सम्मति जनाएका छन्। स्रष्टामा मातृभाव हुन्छ। यसै कारण एक सर्जकलाई जननी पनि भनिन्छ। कुनै कला, साहित्य वा अन्य नवीन सिर्जना गर्नेलाई सर्जक वा स्रष्टा भन्नुका साथै त्यसका जननीको भाव भन्नुको तात्पर्य यो पनि हुन्छ कि त्यस सिर्जनाको रचना गर्भ के हो ? यसरी मातृत्वभाव खोजिएको वा भएको हुनु स्वाभाविक हो। यस अर्थमा कुनै पनि सिर्जनाका सर्जक महिला वा पुरुष जो भएपनि उनमा मातृभाव हुन्छ भन्ने देखिन आउँछ। भन्नुको तात्पर्य नारीमा पनि पुरुषको भाव र पुरुषमा पनि नारीको भाव हुन्छ। यही भावको अवस्थालाई ब्रह्माको कल्पना त्यसरी अद्र्धनारी वा अद्र्धपुरुषको मनुस्मृतिमा गरिएको होला वा मान्यता स्थापना भएको होला भन्ने अनुमान लगाइन्थ्यो। यसै सन्दर्भमा यो पनि उल्लेखनीय रहेको छ कि अद्र्धनारीश्वर भनेर सामान्यतया शिवलाई बुझाउँछ। हिन्दू शास्त्रहरूले अद्र्धनारीश्वरको कल्पना शिव र पार्वतीमा पनि गरेका छन्।
बजारमा सम्पूर्ण शरीरको एक भाग नारी र अर्को भाग पुरुष गरी एकै मानिसको स्वरूपमा शिव–पार्वतीको चित्र पाइन्छ। यस किसिमको चित्रले चित्रकारको विशिष्ट कल्पनालाई मात्र दर्शाउँदैन, हिन्दू मिथक वा शास्त्रलाई पनि स्पष्ट पार्दछ। अझ कतिपयले त अद्वैतवादको नमूना भनेर पनि प्रस्तुत गर्दछन्। यस रूपको पनि पूजा हुने गरेको छ र भारतको हिमाञ्चल प्रदेशको काँगडा जिल्लामा अद्र्धनारीश्वर महादेवको मन्दिर रहेको जानकारी पनि पाइन्छ। अर्थात् अद्र्धनारीश्वरको कल्पनालाई धार्मिक यथार्थमा पनि पाइएको छ। एकै शरीरमा आधा नारी र आधा पुरुषको कल्पनालाई पुष्टि गर्ने एउटा वैज्ञानिक घटना पनि हालै देखिएको छ, त्यो पनि अमेरिकामा।
एउटै शरीरमा भाले र पोथीको रङसहित अन्डाशय र डिम्बाशय दुवै अङ्गसमेत भएको चरा निकै दुर्लभ भएको छ तर दुवै लिङ्गी चरा भएको नर्थन कार्डिनल चराको बारेमा अमेरिकाका चराविद् जेमी हिलले हालै फोटो र अन्य जानकारी सार्वजनिक गरेका छन्। विगत करीब पाँच दशकदेखि चराको अध्ययन गरिरहेका जेमी हिलले दुवै लिङ्गी चरा भेटिनु निकै दुर्लभ भएको बताएका छन्। वंशानुगतरूपमैं दुई लिङ्गको यो चराको रङ बायाँमा भाले अङ्ग तथा दायाँमा पोथी अङ्ग रहेको पाइएको सार्वजनिक गरेका छन्। जेमी हिलको कुरालाई वेस्टर्न इलनोई विश्वविद्यालयका प्राध्यापक एवं अध्येता ब्रायन पियरले यस्तो असम्भव नभएको बताएका छन्।विज्ञानमाथि आँखा चिम्लेर विश्वास गर्ने वा धर्ममाथि आँखा चिम्लेर विश्वास गर्ने दुवै फरक तर्क हुन सक्छन् तर जब दुवैले एकसाथ कुनै कुरालाई बताउँछन् भने मान्नुपर्ने हुन्छ कि धार्मिकशास्त्रका तर्कहरूमा सत्यता छ। मनुस्मृतिले ब्रह्माको आदि स्वरूपमा नारी र पुरुष दुवै भएको लेखेको, शिवका अनुयायीहरूले शिवलाई अद्र्धनारीश्वर मानेर त्यस स्वरूपको चित्रादि प्रचलनमा ल्याइसकेको मात्र नभई यस प्रकारको मन्दिरमा आदि युगदेखि पूजा हुँदै आएको र विज्ञानको उत्कर्ष मानिएको यस युगमा आएर अमेरिकामा नै दुई लिङ्गी चरो फेला परेको प्रसङ्गले कतै नयाँ सम्भावनाको ढोका उघारेको त छैन ? कतिपयले त के अनुमान लगाउन थालेका छन् भने हिन्दूशास्त्रहरूमा वर्णन गरिएका नृसिंह (आधा नर र आधा सिंह) तथा त्यस्तै गणेश (आधा नर र आधा हात्ती) तथा दुवै स्वरूपमा पनि प्रवृत्तिगत भिन्नताको पनि अध्ययनले कुनै दिन पुष्टि गर्न सम्भव छ। यो कुनै धार्मिक मनोरञ्जन वा लेखकले आफ्नो दर्शनलाई स्पष्ट पार्न पाठकको ध्यानाकृष्ट गर्ने किसिमको फरक शरीरको पात्र सिर्जना गरेका होइनन्। यी दुवै स्वरूपको कल्पनालाई पनि कुनै दिन विज्ञानले प्रमाणित गर्न सक्ने सम्भावनातर्फ सङ्केत गर्दछ। र जबसम्म यो प्रमाणित हुँदैन, तबसम्म तटस्थ किसिमले स्वीकार गर्नुपर्ने तर्क राख्छ।
अमेरिकी चराविद् जेमी हिलको खोजले पूर्वीय संस्कृतिका केही मान्यतालाई पुष्टि गरेको छ त ?