प्राचीनकालमा तिलक, गौना र दोङ्गाको महत्व

0

राजेश मिश्र

कालान्तरमा तिलक दहेजको आवरणमा थिएन। किनभने विवाहलाई धार्मिक अनुष्ठान मानिन्थ्यो। धार्मिक संस्कार अन्तर्गत दुलहालाई विवाहपूर्व तिलक गर्ने परम्परा थियोे। विवाहमा धार्मिक संस्कार, पूजापाठ र लोकपरम्परा आदि उच्च प्राथमिकतामा थिए। बेहुला पक्षलाई पूज्य मान्ने उहिलेको मान्यता अहिले पनि निरन्तर छ। पुरोहित, हजाम र नितान्त आफन्तजनको उपस्थितिमा तिलकोत्सव हुन्थ्यो। एकाध सम्भ्रान्तजनबाट तिलकमा शुरू भएको दहेज प्रदर्शनको सङ्क्रमण समाजमा फैलिंंदै गयो। एकअर्काको अनुसरण हुन थाल्यो। तिलकमा दहेज लिने/दिने मात्र होइन, प्रदर्शनजन्य परम्पराको सुरुआत भयो। तिलकोत्सव बिस्तारै दहेज प्रदर्शनको केन्द्र बन्दै गयो। तामझाम बढ्न थाल्यो। खर्चिलो बन्दै गयो। उच्च भीड र अकुत दाइजो प्राप्तिलाई ‘सामाजिक औकात मापक यन्त्र’ मान्न थालियो। अहिले अस्ताउँदो तिलकको प्रचलन ‘छेका’ र ‘अँगुठी समारोह’ जस्ता नयाँ स्वरूपमा उदीयमान छ।तिलकलाई स्थानीय भाषामा ‘तिल्काउने’ अर्थात् तिलक गर्ने भनिन्छ। मधेसको सन्दर्भमा ‘तिलक’ अति प्रचलित शब्द हो। तिलक के हो ? भन्ने प्रश्नको जिज्ञासामा अपवादबाहेक मस्तिष्कमा दहेज लेनदेनको मनोभाव छताछुल्ल छ। चेतनामा दहेजरूपी मनोवृत्ति बसेको पाइन्छ। बेहुली पक्षसँग तय भएको दहेज तिलकमा पाइने/दिने मनोविज्ञान स्थापित छ।
प्राचीनकालमा वैवाहिक परम्परा
प्राचीनकाल अन्तर्गत विवाहमा छोरीलाई गुप्तदान दिने प्रचलन थियो। दूरदर्शी ऋषिमुनिहरूले स्वार्थपकरता र दुष्टताको सम्भावनालाई मध्यनजर गरी गुप्तदानको नियम बनाए। दहेजदान सर्वथा गुप्त हुनुपर्छ भन्ने धारणा थियो। दहेजको विषयमा चर्चा गर्ने अधिकार कसैलाई पनि नहुने नियम स्थापित गरिएको थियो। पीठोको लोईभित्र एक रुपैयाँको दान पनि गुप्तदानको प्रतीकको रूपमा पर्याप्त थियो। दानको रूपमा के दिनुपर्छ भन्ने कुरा बेहुलापक्षले माग्ने वा सोध्ने अधिकार थिएन। न त त्यो सार्वजनिक गर्ने विषय थियो। गरीब–धनी जो भएपनि वा दानमा जे दिए पनि सार्वजनिक प्रदर्शन गर्ने परम्परा थिएन। आजको जस्तो कम पाए निन्दा र बढी पाए प्रशंसा वा अनुकरण वा प्रतिस्पर्धाको विषय थिएन। कालान्तरको विशुद्ध संस्कार समयसँगै विलुप्त हुँदैछ।कालान्तरमा विवाह पाँच चरणमा क्रमशः देखासुनी, तिलक, विवाह, गौना र अन्तिम चरणमा दोङ्गा गर्ने परम्परा थियो। समयसँगै छेका वा पुजाई पनि थप भई वर्तमान अवस्थामा निरन्तरता पाइरहेको छ। विवाहको यावत् चरण स्थापित गर्नुको मुख्य कारण थियो, बालविवाह। विवाहका बखत बेहुला र बेहुलीको लालाबाला उमेर हुन्थ्यो। त्यसैले वरवधूलाई सहयोगस्वरूप गुप्तदान दिने प्रचलन रहेको अनुमान गर्न सकिन्छ।
गौना र दोङ्गाको प्रावधान
गौना र दोङ्गाको विषयमा यहाँ जिकिर गर्नु आवश्यक छ। कालान्तरमा बेहुला र बेहुली पक्षको मन मिलेपछि नाबालक उमेरमैं विवाह गरिदिने प्रचलन थियो। शिक्षालय थिएनन्। त्यसैले शिक्षाको महत्व समाजमा स्थापित थिएन। समाज कृषिमा आधारित थियो। छोरा वा छोरीको विवाह अभिभावक वर्गको लागि नितान्त जिम्मेवारीपूर्ण अभिभारा थियो। हाम्रा पुर्खाहरू हामीभन्दा पनि विज्ञ थिए भन्नुपर्छ। किनभने उहिलेको सामाजिक अवस्थाअनुरूप सामाजिक व्यवस्थालाई प्रक्रियागत निरन्तरता दिए। उमेर बढेपछि ‘गौना’मा बेहुलीलाई बिदाइ गराइन्थ्यो। गौना विवाहको सानो रूप हो। विवाह जस्तै भव्य हुँदैन। यद्यपि विवाहका सबै प्रक्रिया पूरा गर्नुपर्छ। गौनाको जन्तीमा दुलहा र निकटतम आफन्त मात्र जान्छन्। बेहुला र बेहुलीको उमेर अनुसार सामान्यतया विवाहको पाँच वर्षपछि वा सोभन्दा बढीमा गौना हुन्थ्यो। विवाहको अन्तिम चरण अर्थात् ‘दोङ्गा’ हुँदासम्म वरवधू जिम्मेवारी बोध हुने उमेरका भइसक्थे। उहिलेको समाज शिक्षा आदिमा अहिलेको जस्तो विकसित थिएन। यद्यपि विवाहका यावत् चरणहरूले वैवाहिक प्रक्रिया पूर्णरूपेण वैज्ञानिकतामा अधारित थियो भन्ने आकलन गर्न कठिन छैन। हाम्रा पुर्खाहरूले वैज्ञानिकतालाई आत्मसात गरेको पाइन्छ। उमेर परिपक्व भइसकेपछि ‘दोङ्गा’ गर्ने प्रचलन थियो। दोङ्गाको जन्तीमा दुलहा र परिवारका सदस्यहरूमा दुलहाको कान्छो भाइ र ज्वाइँहरू मात्र जान्थे। अपवादबाहेक विगतका अनेक लोकमान्यता अहिलेको वैज्ञानिक युगमा समेत अकाट्य छन्।
विगतदेखि वर्तमानसम्म
समयको गतिसँगै तिलकको मूलभूत उद्देश्य परिवर्तित हुँदै गयो। तिलक लेनदेनमा आधारित हुन थाल्यो। बेहुलीले तिलकमा दिन नसकेको नगद र अन्य सामग्री गौनामा दिनुपथ्र्यो। गौनामा पनि बाँकी रहेका सामग्री दोङ्गामा जसरी भएपनि पूरा गर्नुपथ्र्यो। दहेजको निहुँमा दुलहीलाई चरम यातनाजन्य आपराधिक क्रियाकलापहरू आधुनिक र शिक्षित समाजको उदाङ्गो चरित्रको पराकाष्ठा हो। कानूनी तन्त्रको उपहास हो। अहिले शिक्षा आदिमा सक्षम समाजबाट विकृतिहरू निर्मूल नहुनु विडम्बनापूर्ण हो।
उहिलेको ‘गुप्तदान’ अहिले ‘गोप्य–माग’मा परिणत भएको छ। अहिलेको आधुनिक समाजमा संस्कृति, लोकमान्यता र परम्परा ओरालोलाग्दो छ। अचेल अपवादबाहेक विवाह भनेको लेनदेन र हैसियत प्रदर्शन आदिमा रूपान्तरित भएको छ। सकारात्मकतामाथि नकारात्मकता हावी छ। मानवीय अवचेतनमा ‘तिलक, छेका, औंठी समारोह’ आदि ‘दहेज’को पर्यायवाची बनेका छन्। तिलकको वास्तविकता सङ्कुचित हुँदै गयो। तिलकको आध्यात्मिक र धार्मिक महत्व लुप्त हुँदै गयो। मधेसमा विभिन्न आवरणमा बेहुला–बेहुली पक्षबीच अदृश्य लेनदेन स्थापित छ। कानून बनेको छ तर कार्यान्वयन फितलो हुँदा विकृति झाङ्गिदो छ।
शिक्षाको विकाससँगै उहिलेका कतिपय सन्दर्भ परिवर्तन भएका छन्। जुन अहिलेको आवश्यकता हो। जस्तै वैवाहिक उमेर कानूनले तोकिदिएको छ। बालविवाह वर्जित छ। यद्यपि तिलकको मूलभूत उद्देश्य दहेजमा परिणत हुँदै गयो। अर्थात् दहेज लेनदेनको कारण ‘तिलक’ बदनाम छ।
अन्ततोगत्वा, कानूनले ‘तिलक’लाई असामाजिक गतिविधि ठहर गरेको छ। ‘सामाजिक व्यवहार (सुधार) ऐन, २०३३’ मा तिलक लिन/दिन हुँदैन अङ्कित छ। अतः तिलकको वास्तविक भावार्थ कानूनी परिभाषामा समेत द्विविधापूर्ण छ। तिलक भनेको के हो ? वर पूर्वाभिमुख तथा तिलक गर्ने पिता/दाइ/भाइ आदि पश्चिमाभिमुख बसेर धार्मिक संस्कार अनुसार निधारमा टीका लगाउनु नै तिलक हो। यावत् प्रसङ्ग हिन्दू धार्मिक ग्रन्थहरूमा उल्लेख रहेको पाइन्छ।
तिलक के हो ?
हिन्दू धार्मिक मान्यता अनुसार तिलक कार्य प्राचीन परम्परा हो। हरेक शुभ कार्य र अनुष्ठान आदि धार्मिक कार्यको थालनीपूर्व तिलक लगाइन्छ। यो प्रश्न उत्पन्न हुनु स्वाभाविक हो कि तिलक किन लगाइन्छ ? के यसको वैज्ञानिक रहस्य पनि छ ?
वास्तवमा तिलक लगाउनुको आध्यात्मिक र वैज्ञानिक कारणहरू छन्। आँखीभुइँंको बीच भागमा तिलक लगाइन्छ। अध्यात्म अनुसार, यो आज्ञा चक्रको स्थान हो। यहाँ भगवान् विष्णुको निवासस्थान हुन्छ। तिलकको रङ्गको पनि महत्व उत्तिकै छ। रातो रङ्गको तिलक जहाँ ऊर्जा, शक्ति, पराक्रम र शुभत्वको प्रतीक मानिन्छ। त्यस्तै, पहेंलो रङ्गको तिलक ज्ञान, विवेक र सदाचारको प्रतीक हो। चन्दनको तिलकले पवित्रता, वैराग्य र ईश्वरभक्तिलाई अभिव्यक्त गर्दछ। तिलकले अनुहारको सौन्दर्यमा पनि अभिवृद्धि गर्दछ। यसले सात्विक भावनाको प्रसार हुन्छ।
विज्ञान अनुसार तिलक लगाउनाले मनुष्यको आज्ञाचक्र जागृत हुन्छ र उसको ‘पिनियल ग्रन्थि’ सक्रिय हुन्छ। शरीरका विभिन्न अङ्गमा सकारात्मक प्रभाव पर्दछ। साथै मनुष्यको मनोवृत्ति पनि सात्विक हुन्छ। तिलक अर्थात् टीका लगाउनाले तन, मन र जीवनमा शुभ भावनाको प्रसार गर्दछ। तन्त्रशास्त्रको मान्यता अनुसार निधारमा तिलक लगाउनु आफ्नो इष्टदेवको चरण धारण गर्नु हो। यसले भक्त स्वयंले इष्टदेवको सानिध्य अनुभव गर्दछ। माङ्गलिक संस्कारमा तिलकरहित निधार अशुभ मानिन्छ।
प्राचीनकालमा तिलकलाई विशेष शपथ र दृढ प्रतिज्ञाको निशानीको रूपमा ठानिन्थ्योे। युद्धमा जानुभन्दा अगाडि योद्धाहरूलाई तिलक लगाएर विधिवत् बिदाइ गरिन्थ्यो। अतः तिलक लगाउने प्रथा अध्यात्मको साथै विज्ञानसँग पनि घनिष्ठ सम्बन्ध रहेको पाइन्छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here