प्रस, जनकपुरधाम, ६ फागुन/
कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो समय धनुषामा बढेको छ। बिहीवार खोपकेन्द्रमा खोप लगाउनेको भीड थियो।
खोप लगाउनेहरू उत्साहित भएर विभिन्न खोपकेन्द्रमा पुगी खोप लगाइरहेका केन्द्रमा खटेका स्वास्थ्यकर्मीहरूले बताए। जिल्ला स्वास्थ्य कार्यालय धनुषाले धनुषाका सबै स्वास्थ्य केन्द्रमा खोपकेन्द्र स्थापना गरेर दोस्रो चरणको सूचीका आधारमा खोप लगाइरहेको छ। दोस्रो चरणमा कर्मचारीहरू, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूलाई खोप लगाउने निर्देशन छ। पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्सका चालक, सफाइकर्मी तथा शव व्यवस्थापनमा संलग्न रहेकाहरूलाई खोप लगाइएको थियो। पहिलो चरणमा धनुषा जिल्लामा ३ हजार ८ सय ३ जनालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा बुधवार साँझसम्म १ हजार ३ सयजनाले खोप लगाइसकेका छन्।
शुरूमा खोप लगाउनका लागि डराए पनि अहिले भने खोप लगाउन आउनेहरूको भीड बढेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप प्रमुख राजदेव यादवले जानकारी दिए।
भारत सरकारको सहयोगमा प्राप्त भएको कोरोनाविरुद्धको खोप निकै प्रभावकारी एवं सुरक्षित भएकाले निर्धक्क भएर खोप लगाउन लक्षित वर्गका व्यक्तिलाई उनले आग्रह गरेका  छन्।
नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजका प्रमुख डा सञ्जय ठाकुरले पनि खोप निकै सुरक्षित एवं प्रभावकारी भएकोले खोप लगाउन आग्रह गरेका छन्। आफूले पनि शुरूमैं खोप लगाएको र यसको कुनै असर पनि नदेखिएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here