घरपालुवा कुकुरमा प्राणघातक भाइरस सङ्क्रमण

0

प्रस, जनकपुरधाम, ६ फागुन/
केही समययता घरपालुवा कुकुरमा प्राणघातक पार्भाे भाइरसको सङ्क्रमण देखिएको छ। कुकुरका लागि निकै घातक भाइरसको रूपमा पार्भाे भाइरस मानिन्छ। यसबाट कुकुरलाई जोगाउनका लागि नियमितरूपमा खोप लगाउनका लागि पशु चिकित्सकहरूले आग्रह गरेका छन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषामा मात्र पार्भाे रोगले ग्रसित कुकुर हाल दैनिकरूपमा ३–४ वटा ल्याइने गरेको पशु चिकित्सक डा जिवेन्द्रकुमार झाले जानकारी दिए। यो भाइरस लागेपछि ५० प्रतिशत मृत्युदर हुने भएकाले कुकुर जन्म लिएको ४५ दिनदेखि खोप दिनुपर्ने डा झाले सुझाव दिए। घरपालुवा कुकुर घरधनीले पाल्ने गरेको तर समयमा खोप नलगाएको कारण भाइरसले सङ्क्रमित बनाएपछि उपचारका लागि ल्याउने गरेको उनले सुनाए। समयमा खोप दिए दुई सय रुपैयाँँको खर्चले हुनेमा पछि धेरै महँगो पर्ने डा झाले बताए।
पार्भाे भाइरस लागिसकेपछि कुकुरले बान्ता गर्ने, डायरिया हुने, ज्वरो आउने, आन्तरिक रक्तस्राव भई कमजोर भएर समयमा उपचार नगरे मृत्युसमेत हुन सक्छ।
जनकपुरका सञ्चारकर्मी विकास साहले आफ्नो कुकुरलाई पार्भाे भाइरसको सङ्क्रमण भएको र विगत तीन दिनदेखि भेटेरिनरी अस्पतालमा उपचार गराइरहेको जानकारी दिए। भाइरस लागेपछि यसको उपचार नभए पनि लक्षण अनुसारको उपचार गरेर निको बनाउने प्रयास आफूहरूले गर्ने गरेको भेटेरिनरी अस्पताल जनकपुरधामले जनाएको छ।
खासगरी चीसोको समयमा भाइरसले चाँडो आक्रमण गर्ने भएपनि अहिले यसको सङ्क्रमण निकै फैलिएका कारणले धेरै कुकुरमा समस्या देखिएको छ। तीन महीनामुनिका कुकुरमा पार्भाे भाइरसको प्रकोप तथा मृत्युदर बढी मात्रामा हुने गरेको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here