सञ्जय मित्र

आसपासका पर्यटकीय क्षेत्रहरूबारे पनि सामाजिक सञ्जालमा हेरेपछि पुग्न रहरलाग्दो रहेछ। अझ नजीकका कोही चिनेजानेका मानिसले मनमोहक शब्दशैलीमा पोस्ट गरेपछि अझ खुल्दुली बढ्ने रहेछ।
एक दिन यस्तै भएको थियो। एकजना अग्रजले फोटो हालेको देखेपछि वास्तवमा त्यो ठाउँ हेर्ने रहरले नै गुजरा फन पार्क पुगेका हौं।
१७ माघ २०७७ का दिन निकै जाडो थियो तर पूर्वनिर्धारित कार्यक्रम अनुसार पुग्नुपर्ने थियो। रौतहटको गरुडा बजारमा बिहानको ११ बजे जम्मा हुनुपर्ने थियो र झन्डै सवा एघार बजेसम्म पुग्नुपर्ने जति आइपुगिसकेका पनि थिए। गरुडाबाट बालचनपुर पुगेर अनि पश्चिमतिर लाग्ने हो भने पिचैपिच झन्डै फन पार्कसम्म पुग्नलाई बढीमा दुई किलोमिटर गिट्टीवाला सडक पर्ने रहेछ तर पिचको बाटो त सधैं हिंडेकै हौं। ठाउँ हेर्ने उद्देश्य हो भने हेर्दै जाँदा झन् राम्रो भन्ने मेरै प्रस्तावमा सहमत भई सबैजना महम्मदपुर गाउँ भएर नहर हुँदै जङ्गलको बाटो भएर जान अगाडि बढ्छौं।
हामी आठजना छौं। मैले चलाएको स्कुटरमा धर्मपत्नी रेणु गुप्ता र छोरो गरी तीनजना छौं। किशुनदयाल यादव श्रीकृष्णले चलाएको मोटरसाइकलमा विश्वनाथ सञ्जेल र श्रीकृष्णपुत्र आदित्य गरी तीनजना छन्। यसैगरी, केदार यादवले चलाएको स्कुटरमा राजेन्द्रप्रसाद साह गरी दुईजना छन्।
उद्देश्य हो गुजरा फन पार्कमा साहित्य गोष्ठी। बज्जिका साहित्य सङ्गम रौतहटमा नयाँ नेतृत्व आएदेखि साहित्य गोष्ठी नै हुन सकेको छैन। गत असोजको शुक्ल पञ्चमीका दिन सङ्गमले नयाँ नेतृत्व पाएको हो। अघिल्लो नेतृत्वले पाँच वर्षमा चालीसवटा साहित्यिक कार्यक्रम गरेका थिए। गत कात्तिकमा नै एकचालीसौं हुनुपर्ने हो तर नयाँ नेतृत्व आएपछि प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा गर्दै गर्दा ढिलो भइसक्यो।
पहिलेदेखि नै मेरो सुझाव हुने गरेको छ कि हरेक महीना एउटा कार्यक्रम कम्तीमा हुनुपर्छ। जहाँसम्म मलाई सम्झना छ– सङ्गमको गठनमा मेरो अहम् भूमिका छ। मेरै अध्यक्षतामा बज्जिका साहित्यप्रेमीहरूको बैठकले पाँच वर्षअघि सङ्गमको जन्म भएको हो। सोही बैठकले श्याम सहनी चन्द्रांशुको अध्यक्षतामा बज्जिका साहित्य सङ्गम रौतहट गठन गरेको हो। संस्थाको नाम पनि मैले नै जुराएको हुँ। सङ्गमका चालीसवटा कार्यक्रममध्ये कुनै पनि कार्यक्रम नछुटाउने म मात्रै हुँ। चार महीना विलम्ब गरेर पाँचौं महीनामा कार्यक्रम हुन थालेको छ। र यस नयाँ कार्यसमितिको पहिलो कार्यक्रम म आफ्नो खर्चमा गर्छु नामचाहिं संस्थाको होओस्। संयोजन संस्थाले गरोस्, आर्थिक पाटो म सम्हाल्छु भन्ने प्रतिबद्धता व्यक्त गरेको थिएँ। मेरो तयारी पनि यस्तै छ। सामान्य चियाखाजामा जे खर्च लाग्छ, त्यो म बेहोर्न तयार छु।
अपेक्षाकृत सहभागिता कम छ। सहभागिता कम हुने अनेक कारण छन्। मानिसका निजी व्यस्तता पनि हुन्छन् र प्रकृतिले साथ दिएको पनि हुनुपर्छ। आजको मौसम अत्यन्त खराब छ। हिजो र अस्ति दुई दिन दिउँसो घाम लागेको पनि थियो तर आज भने घाम लाग्ने कुनै लक्षण देखिंदैन। कुहिरोले आकाशलाई ढपक्कै छोपेको छ र पश्चिमी हावाले जनजीवनलाई कक्रक्क पारिराखेको छ। झन् सञ्जेल सरलाई हल्का ज्वरो तीन दिनदेखि आइरहेको छ। उनको भनाइ यो पनि छ कि एक्लै कोठामा बसिरहनुभन्दा बरु घुम्न गएकै बेस। तर आफूले भने मोटरसाइकल नचलाउने, कोही साथीको पछाडि बसेर जाने। आफैंले चलाउँदा चीसो हावाले झन् खराब असर गर्ला भन्ने सोचाइ सही नै हो। यसैले सङ्गमका वर्तमान अध्यक्ष श्रीकृष्णका पछाडि बसेका छन् उनी।
उद्देश्य नै घुम्ने र ठाउँ हेर्ने किसिमको भएपछि सोझो बाटो किन जाने ? अझ गएकै बाटो किन फर्किने ? मेरो यही प्रश्न र यही जिज्ञासामा सबै सहमत भएका छन्। यद्यपि मेरोलागि नयाँ भन्ने यसमा केही पनि हुनेछैन। यदि हुन्छ भने गोष्ठी मात्र हो, जसको नयाँ शृङ्खला जोडिंदैछ।
यसैले गुजरा जाने पनि अर्को बाटो र फर्किने पनि अर्कै। मूर्तरूपमा भन्नुपर्दा गरुडाबाट पश्चिम महम्मदपुर भएर उत्तर निस्कने र केही किलोमिटर ग्रामीण बाटो तय गरेर नहरको बाटो समातेर नहरै नहर जङ्गलमा पुग्ने तथा जङ्गलबाट फेरि नहरकै अर्को बाटो गुजरा फन पार्क पुग्ने। त्यहाँ कार्यक्रम सकेर उतैबाट कटहरियाको बाटो समात्ने र गरुडा आउने। यसरी पूर्वयोजना बनाएर गरुडा चोकबाट पश्चिमतिर सबै सवारीसाधन सोझ्याउँदा दिउँसोको बा–ह बज्न केही मिनेट मात्र बाँकी छ।
गरुडाका अग्ला भवनहरू नछिचोल्दै लमाहा खोला आइपुग्छ। खोलामा करीब सात दशक पुरानो बैरेज छ। सर्वसाधारणले बैरेज भनेर यसलाई चिन्दछन्। वास्तवमा यहाँबाट नहर निकालिएको छ र पुल बनाइएको छ। साँघुरो पुल छ। निकै पुरानो भइसकेको छ। के सुनिएको छ भने देशमा प्रजातन्त्र आइसकेपछि विपी कोइराला गृहमन्त्री भएको समयमा स्वीकृत भएको हो रे। वास्तविकता के हो थाहा छैन तर दिनानुदिन जीर्ण भइरहेको यस बैरेजमा कहिलेकाहीं दुर्घटना पनि हुन्छ। जतिखेर अहिलेको गरुडाको कल्पना पनि थिएन, त्यतिखेरदेखि यस पुलले वारिका मानिसलाई पारि र पारिका मानिसलाई वारि लगिरहेको छ। युगले फड्को मारिसकेको छ तर यस पुलले भने काँचुली फेर्ने अवसर पाउन सकेको छैन।
मलाई सम्झना आउँछ, बैरेजको माथिल्लो भागमा चढेर कतिपटक झ्वाम्म हाम फालेको छु चीसो पानीमा। गर्मीको महीनामा। अहिले त आफैं यतिधेरै चीसो वातावरण छ कि नुहाउने कल्पनै गर्न सकिन्न यस खोलामा।
पुल नाघेर नदीको किनारै किनार उत्तरतिर बढ्दछौं। बाटो नै त छैन तर बाटो छैन नै भन्न पनि नसकिने। नदी किनारमा हिंड्नलायकको भने छ। खोलामा झन्डै भरी पानी छ। परसम्म सुन्दर दृश्य देखिन्छ। कतै कतै चरा उडिरहेका छन्। मलाई कहिलेकाहीं घरमा एक्लै काम गर्दा गर्दा थकान लागेपछि यही किनारमा आएर सुस्ताउने गरेको छु। गरुडास्थित घरबाट दशदेखि पन्ध्र मिनेट पैदल हिंडेपछि यो रमणीय र एकान्त प्राकृतिक ठाउँमा आइपुग्छु। धेरैपटक तरोताजा हुन साथीहरूसित पनि आएको छु। यसलाई जलपर्यटनसित जोड्न सकिन्छ, बोटिड्ढो व्यवस्था गर्ने हो भने दुई किलोमिटरसम्म मानिसले पानीमा मज्जाले बोटिङ गर्न पाउँछन्। जलविहार गर्न पाउँछन्। केहीले रोजगार पाउँछन् भन्ने कुरा धेरै ठाउँमा गरेको छु। तर सुन्नेले कुरा नसुनिदिएपछि… बुझ्नेले कुरा नबुझिदिएपछि… कसको के लाग्छ।
तीनवटा सवारीसाधनमध्ये सबैभन्दा पछाडि मेरो रहेको छ। सबैजना अगाडि बढिरहेका छौं। नदीको किनारै किनार, कहिले अलिक घुमाउरो बाटो भएर फेरि किनारलाई समात्दै अगाडि बढ्दैछौं। चराको चिरबिराहट, फूलबारीको सौन्दर्य र नदीको किनार सबै लोभ्याउने नै छन्। जाडोले पनि हात कठ्याङ्ग्रिएर रोक्न खोजिरहेको छ तर सबैलाई छिचोल्दै अगाडि बढिरहेका छौं। कोही कोही खेत, खलिहान वा फूलबारीतिर घुम्न आएका, घाँस काटिरहेका मानिसहरूले एकैचोटि तीनवटा सवारीसाधनमा आठजनालाई देखेर कता गएका होलान् ? भन्ने जिज्ञासासूचक दृष्टिले हेर्दछन्, हाम्रो यात्रा गन्तव्यतिर निरन्तर अगाडि बढ्दैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here