थाहै नदिई सङ्घर्षको परिणामनजीक आइरहेको हुन्छ

0

राजेश मिश्र

“सङ्घर्ष हो जीवन
जीवन सङ्घर्ष हो
जीवनदेखि थाकेर बस्छु नभन
जीवनदेखि हारेर मर्छु नभन।”

श्याम तमोटको उपरोक्त गीत सबैले मनन गर्नुपर्छ। जीवनमा सङ्घर्ष गरेर लक्ष्य हासिल गरेका थुप्रै व्यक्तित्व पहिले पनि थिए र आज पनि छन्। कुनै पनि व्यक्ति जीवनमा कति सफल वा असफल हुन्छ भन्ने कुरा ऊ बाल्यावस्था र किशोरावस्थामा कसरी हुर्किएको छ भन्नेमा निर्भर गर्छ। ‘सङ्घर्ष’ शब्दले के जनाउँछ ? यसको भावार्थ अपवादबाहेक सबैलाई अवगत हुनुपर्छ। हो, अठोटसहितको अथक सङ्घर्ष सफलताको संवाहक हो।
आज यस स्तम्भमा एक महिलाको सङ्घर्षको कथा प्रस्तुत छ। एक महिलाको लगनशीलता र सङ्घर्षले लक्ष्य हासिल गरेको कथा सबैका लागि प्रेरणादायी हुन सक्छ। विसं २०३८ सालमा बाआमाको दोस्रो सन्तानको रूपमा उनको जन्म रौतहट जिल्लाको वनबहुअरीमा भएको थियो। अहिले उक्त गाउँ रौतहटको चन्द्रपुर नगरपालिका–७ मा पर्छ।
बुबा गोविन्द अधिकारी र आमा भैरवी अधिकारी निकै खुशी थिए। पुरोहितसँग छोरीको ग्रहगोचर आदि देखाए। पुरोहित बाजेको सल्लाह अनुसार बाआमाले छोरीको औपचारिक नाम नर्मदा अधिकारी राखिदिए। अहिले उनी ३९ वर्षकी भइन्। उनी बैंकको शाखा प्रबन्धकको जिम्मेवारी मात्र होइन एक बुहारी, पत्नी र आमाको जिम्मेवारीप्रति पनि उत्तिकै कर्तव्यनिष्ठ छिन्। बाल्यकालदेखि अहिलेसम्मको उनको जीवनयात्रा केलाउँदा उनी अठोटपूर्ण लगनशीलताले लक्ष्य हासिल गरेकी छोरी हुन् भन्नुपर्दा कुनै अतिशयोक्ति नहोला। बाआमा चाहन्थे उनी नर्सिङ पढून्। नर्स बनून्। तर उनलाई वाणिज्यशास्त्रमा बढी रुचि थियो। वाणिज्य विषयमा उनी स्नातकोत्तर धारक हुन्। उनको बाल्यकालीन जीवन, शिक्षादीक्षा, लोकसेवाको तयारी र सरकारी जागीरलगायतका विषयमा उनीसँग भएको कुराकानीको संक्षिप्त अंश प्रस्तुत छ।
माध्यमिक तहसम्म गाउँमा
बाआमाको काँखमा खेल्दै, डुल्दै र हुर्कंदै उनी विद्यायल जाने उमेरकी भइन्। छोरीलाई पढाउनुपर्छ भन्दै गाउँकै कालिका माध्यमिक विद्यालय वनबहुअरीमा बाआमाले कक्षा १ मा उनको नामाङ्कन गराइदिए। कहिले बुबा त कहिले आमाको औंला समातेर उनी विद्यालय जान थालिन्। बिस्तारै उनलाई विद्यालय जाने बानी पर्न थाल्यो। विद्यालय पनि घरजस्तै लाग्न थाल्यो। उनी नियमित विद्यालय जान्थिन्। पढाइमा उनको रुचि दिन प्रतिदिन प्रगतिउन्मुख हुँदै गयो। समयसँगै उनको उमेर र चेतनाको विकाससँगै कक्षागत स्तरोन्नति हुँदै गयो। कक्षा ७ उत्तीर्ण भइन्। उनका निकटतम आफन्तहरूका अनुसार बाआमा र दाइले मात्र होइन, छिमेकीहरू पनि उनको लगनशीलताको सराहना गर्थे। उनको प्रशंसा गर्नेहरूमा शिक्षकहरू पनि थिए। आफन्तहरूको बुझाइमा अभिभावक र शिक्षकहरूको प्रशंसाले उनी ऊर्जाशील भएको हुन सक्छिन्। उनी विसं २०५४ सालमा एसएलसी उत्र्तीण भइन्।
दोस्रो गन्तव्य ठाकुर राम बहुमुखी क्याम्पस, वीरगंज
एसएलसीपछि कहाँ पढ्ने भन्ने तनाव थियो। अघिल्लो कक्षाको पढाइको लागि घरपायक सुविधा सम्बन्धमा एकमात्र चन्द्रनिगाहपुर (अहिलेको चन्द्रपुर) थियो। गाउँकी दिदीहरू ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा अध्ययनरत थिए। दिदीहरूले क्याम्पसमा राम्रो पढाइका साथै छात्रावासको पनि सुविधा रहेको बताए। बाआमाले वीरगंज पढ्न जाने अनुमति दिएपछि उनी वीरगंज पुगिन्। प्रवीणता प्रमाणपत्रमा भर्ना भइन्। छात्रावासको बसाइसहित पढाइ शुरू भयो। त्यति बेला ठाराब क्याम्पस विद्यार्थीहरूको आकर्षणको केन्द्र थियो। उच्च शिक्षाको लागि वीरगंज भरपर्दो गन्तव्य थियो। पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर र चितवनसम्मका विद्यार्थीहरू शिक्षा आर्जनको लागि वीरगंज आउने गरेको उनले बताइन्।
भनिन्छ, मानवमा शारीरिक वृत्ति विकाससँगै चेतनाको विकास र अरूको दृष्टिकोण मूल्याङ्कन गर्ने क्षमता पनि क्रमशः बढ्दै जान्छ। जसले आमाबुबाको पसिनाको कमाइलाई महत्व दिन्छन्, तिनीहरू पढाइलाई सबैथोक ठान्छन्। उनीहरूले आफूसँगै बाआमा, गुरुवर्ग र शैक्षिक संस्थाको नाम उचाइमा पु–याउँछन्। उनका विगतकालीन स्मरण अनुसार जो विद्यार्थीले क्याम्पसलाई मनोरञ्जन स्थलको रूपमा ठान्थे, तिनीहरू रमाइलो गर्नमा व्यस्त रहन्थे। छात्राहरूप्रति केटाहरूको मनोविज्ञान उनीहरूको चालचलनले प्रस्ट झल्किन्थ्यो। केही छात्राले छात्रहरूको अवाञ्छित गतिविधिको कडारूपमा प्रतिवाद पनि गर्थे।
दुई वर्षको अध्ययनपश्चात् उनी विसं २०५६ सालमा प्रवीणता प्रमाणपत्र उत्तीर्ण भइन्। उत्तीर्ण हुनेमा उनी आफ्नो ब्याचमा एक्ली थिइन्। प्रायःजसो एक/दुई वा सोभन्दा बढी विषयमा अनुत्तीर्ण भएका थिए। त्यस बेला उनले अध्यापक, बाआमा र दाइभाइसँगै अध्ययनरत साथीहरूबाट बधाई पाएकी थिइन्।
तेस्रो गन्तव्य पद्म कन्या क्याम्पस
आईकम सकेपछि दाइको आदेशानुसार उनी काठमाडौं गइन्। दाइ नारायण अधिकारी पहिलेदेखि काठमाडौंमा बस्थे र पढ्थे। एसएलसीपछि भाइ निरञ्जन अधिकारी पनि काठमाडौं हानिए। तीनैजना भाइबहिनीको बसाइ र पढाइ काठमाडौंको शिक्षण संस्थामा हुन थाल्यो। पद्म कन्या क्याम्पसमा वाणिज्यशास्त्र स्नातक तहमा उनको नामाङ्कन भयो। उनी भन्छिन्, “परिवारको आर्थिक अवस्था राम्रो थिएन। हामी तीनजना सन्तानलाई काठमाडौंमा राखेर पढाउनु बाआमाको लागि धेरै चुनौतीपूर्ण थियो। कोठा भाडा, क्याम्पसको शुल्क, किताब, कापी, खाद्यान्न, लत्ताकपडालगायत सबैथोक पूर्ति गर्नु पारिवारिक आर्थिक अवस्थाभन्दा धेरै माथि थियो।” उनका शब्दहरूले उनलाई बाआमाको आर्थिक पीडाको अनुभूति थियो भन्ने कुरा ठम्याउन कठिन परेन। विभिन्न आरोह–अवरोहका बावजूद उनले स्नातक तह पनि उत्तीर्ण गरिन्।
दुःखसुखका साथै अघिल्लो कक्षा स्नातकोत्तर तहमा भर्ना भइन्। उनलाई शुरूदेखि नै जीवनमा केही गर्नुपर्छ भन्ने अठोट थियो। सँगैका प्रायः साथीसङ्गीहरू वैवाहिक सूत्रमा बाँधिएर सुदूर हुँदै गइरहेका थिए। पछि छुट्दै गए। यिनी अघि बढ्दै गइन्। शिक्षा आर्जनको सवालमा उनको सङ्घर्ष अहिलेसम्म जारी थियो। थाकेकी थिइनन्। गाउँका काका पर्ने एकजना आफन्त नेपाल विद्युत् प्राधिकरण काठमाडौंमा जागीरे थिए। उनले पढाइसँगै लोकसेवा आयोगको तयारीसमेत गर्न सुझाए। उनले भनिन्, “स्नातकोत्तर तहको अन्तिम परीक्षा सकेपछि लोकसेवा आयोगको तयारीमा पूर्णरूपेण सक्रिय हुने मनोकाङ्क्षा थियोे।” उनले लोकसेवा आयोगमा नाम निकाल्नुपर्छ भन्दै मनमा दृढ सङ्कल्प लिइन्।
दाम्पत्य जीवनको शुभारम्भ
कठ्याङ्ग्रिदो जाडोको महीना थियो। उनी स्नातकोत्तर तहको अन्तिम परीक्षाको तयारीमा जुटेकी थिइन्। बुबासँग एकजना आफन्तले एकजना राम्रो केटा छ, छोरीको बिहे गर्नुपर्छ भनेका रहेछन्। उनले भनिन्, “बिहेको प्रस्ताव सुनेर म अक्क न बक्क भएकी थिएँ। मलाई केही बन्नु थियो। त्यसैले, मैले लिएको लक्ष्य अब स्वाहा होला कि भन्ने चिन्ता बढ्यो।” उता उनका बुबालाई के पीर थियो भने छोरीको लागि प्रस्ताव आएको केटा सभ्य, सुशील र योग्य भएकाले अवसर गुमाउन चाहन्थेनन्। अर्कोतर्फ सुयोग्य वर फेरि पाइला कि नपाइएला भन्ने चिन्तामा बुबा थिए। अन्ततः उनी स्नातकोत्तर तहको परीक्षा सकेर मात्र बिहे गर्ने भन्दै बिहेको लागि समर्थन जनाइन्। अन्ततोगत्वा २०६२  माघ १० गते वीरगंज निवासी समीर भट्टराईसँग उनी परिणय सूत्रमा बाँधिइन्।
सफलतामा पतिको योगदान
दाम्पत्य जीवनमा बाँधिएपछि पनि उनको लक्ष्यप्राप्त गर्ने मनोकाङ्क्षामा –हास आएन। यद्यपि विवाहपछि सबै सपना चकनाचुर होला भन्ने चिन्ता थियो। तर पतिको साथले चिन्ता खुशीमा परिणत भयोे। किनभने उनका पति बैंकमा जागीरे थिए। अहिले उनका पति समीर भट्टराई वीरगंजको एक निजी बैंकमा वरिष्ठ अधिकारीको रूपमा कार्यरत छन्। पतिको साथ पाएपछि लोकसेवा आयोगको उनको तयारी झन् तीव्र भयो।
यसै साथ वीरगंजको एक निजी विद्यालयमा अध्यापन गराउन थालिन्। एक अर्को संस्थामा समेत आबद्ध भई काम गर्न थालिन्। लोकसेवा आयोगमा नाम निकाल्न नसकिएला कि भन्ने भावसमेत कहिलेकाहीं मनमा उत्पन्न हुन्थ्यो। यहाँ केही गर्न सकिन्न। अब विदेश जानुपर्छ भन्ने विचार पनि मनमा आउँथ्यो। त्यो बेला पतिको हौसलापूर्ण लवजले ऊर्जा प्राप्त भएको उनी बताउँछिन्।
हरेक निकायको लागि लोकसेवा आयोगको फाराम भर्न थालिन्। परीक्षा दिन थालिन्। अन्ततः विसं २०६८ मा प्रथमतः नेपाल विद्युत् प्राधिकरणमा नाम निस्कियो। लगत्तै कृषि विकास बैंकमा पनि नाम निस्कियो। दुवैमा पाँचौं तहको लागि परीक्षा दिएकी थिइन्। नाम निकाल्न सफल भएकी थिइन्। अब कुन जागीर रोज्ने भन्ने कुरा आयो। पतिको सल्लाह अनुसार उनले बैंकको जागीर रोजिन्। उनको पहिलो पोस्टिङ वीरगंजको घण्टाघरस्थित कृषि विकास बैंकमा भएको थियो। दुई वर्षअघि विसं २०७५ मा छैटौं तहको आन्तरिक प्रतिस्पर्धामा पनि नाम निकाल्न सफल भइन्। प्रतिस्पर्धीहरूमध्ये उनको नाम दोस्रो नम्बरमा थियो। अहिले उनी कृषि विकास बैंक, श्रीपुर शाखामा प्रबन्धक छिन्।
अन्त्यमा,
पति–पत्नी बिहान सँगै उठ्छन्। घर व्यवहारको काम मिलेर गर्छन्। बिहान घर बढार्ने, नुहाउने, खाना पकाउने, बच्चालाई विद्यालय पठाउनेलगायतका काम गर्दागर्दै समय कति छिटो बित्छ पत्तै हुँदैन। हतारहतार खाना खाएर कार्यालयको लागि निस्कनुपर्छ। उनी जीवनमा सबैभन्दा बढी खुशी भएको क्षण विद्युत् प्राधिकरणमा नाम निस्केको बेला र सबैभन्दा दुःखको क्षण ससुराबा दिवङ्गत भएको बेला बताउँछिन्। अहिले सासूआमा, पति, एक छोरी र एक छोरा गरी पाँचजनाको परिवार छ। बच्चाहरूलाई हुर्काउने कार्यमा सबैभन्दा बढी सासूआमाको योगदान रहेको बताउँछिन्।
उनका अनुसार नवपुस्ताले गन्तव्य निर्धारण गरेर अठोटका साथ अघि बढ्दा लक्ष्य हासिल गर्न कठिन छैन। यद्यपि लक्ष्यप्रति केन्द्रित हुनुपर्छ। दीर्घकालीन सोच्नुपर्छ। अहिलेको परिवेशमा अवसर धेरै छन्। प्रथमतः आफ्नो रुचि र क्षमताको क्षेत्र आफैं पहिचान गर्नुपर्छ। सोही क्षेत्रमा सङ्घर्ष गर्दै जानुपर्छ। हामी सङ्घर्ष गर्छौं तर छिट्टै आतिन्छौं। थकित हुन्छौं। धैर्यता पनि एक प्रकारको परीक्षा नै हो। आत्मविश्वास राख्नुपर्छ। हामीलाई थाहै नदिई सङ्घर्षको परिणाम हाम्रोनजीक आइरहेको हुन्छ। त्यसैले आत्तिनुहुँदैन। परिणामको पछि लाग्नुहुँदैन। जिम्मेवारी र कर्तव्यप्रति बढी केन्द्रित रहनुपर्छ। ढिलो–चाँडो सफलता अवश्य नै प्राप्त हुनेछ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here