महोत्तरी, १७ असोज/रासस
    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण अहिलेको आवश्यकता रहेको औंल्याएका छन्। शनिवार महोत्तरीको बर्दिवासमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रदेश नं २ स्तरीय शाखा कार्यालय उदघाटन गर्दै मन्त्री पोखरेलले यस आवश्यकतालाई ह्दयङ्गम गरेर सरकारले प्राविधिक र व्यावहारिक शिक्षामा जोड दिएको बताए।
    सरकारले मुलुकका सबै स्थानीय तहमा प्राविधिक शिक्षा पु–याउने उद्घोष गरेअनुरूप हालसम्म ६३७ पालिका
(स्थानीय तह)मा प्राविधिक शिक्षाको पठनपाठन थालिएको पोखरेलको भनाइ छ। जीवनोपयोगी व्यावहारिक शिक्षा बढाउन अब जडीबुटी, आयुर्वेद, प्राकृतिक चिकित्सा र योगजस्ता विषय समावेश गरिएको मन्त्री पोखरेलले बताए। शिक्षाले ज्ञान, सीप दिनसँगै चरित्र निर्माण गर्ने उद्देश्य बोकेको हुनपर्ने मन्त्री पोखरेलको भनाइ छ।
    पछिल्लो समय कोभिड–१९ सङ्क्रमण सन्त्रासले विद्यालय सञ्चालनमा ल्याउने अवस्था नरहेको हुँदा शिक्षकले विद्यार्थीसँग घरघरै सम्पर्क बढाएर वैकल्पिक सिकाइका अभ्यास गराउनुपर्ने मन्त्री पोखरेलले बताए। “परिस्थितिवश विद्यालय बन्द हुन सक्छन्, जस्तो कि अहिले बन्द गरिएका छन्,” मन्त्री पोखरेलले भने, “तर शिक्षा लिने/दिने प्रक्रिया बन्द हुँदैन, बन्द गरिनुहँुदैन।” वैकल्पिक सिकाइ पद्धतिभित्र जहाँ जुन विकल्पको सम्भावना छ, त्यहाँ त्यो पद्धति समातेर अघि बढ्नुको अहिले विकल्प नभएको पोखरेलको भनाइ छ।
    बर्दिवासमा स्थापना भएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रदेश नं २ स्तरीय शाखा कार्यालयले यसै शैक्षिक सत्रदेखि नै चार वर्षे ब्याचलर इन होटल मेनेजमेन्टको पठनपाठन र प्रयोगात्मक अभ्यास शुरू गर्ने जनाएको छ। यसका लागि कक्षा १२ मा कम्तीमा ‘डि प्लस’ अङ्क ल्याइ उत्तीर्ण गरेका छात्रछात्राले आवेदन गर्न सक्ने प्रतिष्ठानले स्पष्ट पारेको छ। यसपालि ८० जना यो लेभलको अध्ययनका लागि छनोट हुने नवस्थापित शाखा कार्यालयका प्रमुख शिवेन्द्र मल्लिकले जानकारी दिए। यसका अतिरिक्त छोटो अवधिका सीपसम्बन्धी तालीम पनि सञ्चालन गरिने प्रतिष्ठान बर्दिवास शाखाले जनाएको छ।
    नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले पहिलोपटक यसपालि होटल व्यवस्थापनका तालीम र पठनपाठन सञ्चालनका लागि शाखा सञ्चालनमा ल्याएको छ। यसपालि प्रदेश नं २ को बर्दिवास, प्रदेश नं १ को बिर्तामोड र पश्चिम नेपालको नेपालगंजमा पहिलोपटक शाखा स्थापना गरी सञ्चालनमा ल्याइएको प्रतिष्ठानका कार्यकारी निर्देशक दीपककुमार थापाले जानकारी दिए।
    प्रतिष्ठानको शाखा कार्यालय सञ्चालनले अहिले विश्व श्रमबजारमा राम्रो ठाउँ ओगटेको होटल मेनेजमेन्ट विषयको प्रयोगात्मक पठनपाठन र सीप अभिवृद्धिका छोटो अवधिका तालीम आफ्नै ठाउँमा लिन पाइने कुराले महोत्तरी र आसपासका क्षेत्रमा उत्साह छाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here