अनन्तकुमार लाल दास
महान् गणितज्ञ गाउजले भनेका छन्– “गणित सबै विषयको रानी हो। यो विज्ञान र प्रौद्योगिकीको एउटा महत्वपूर्ण उपकरण हो। भौतिक, रसायन र खगोल विज्ञान गणितबेगर बुझ्न गा–हो हुन्छ। ऐतिहासिक रूपले हेर्दा वास्तवमा गणितको शाखाहरूको विकास नै प्राकृतिक विज्ञानमा यसको आवश्यकताको कारण भएको छ।
केही क्षणका लागि गणित यस संसारबाट लुप्त भइसक्यो भन्ने कल्पना गरौं हामीले गणितविहीन संसारका सबै द्रव्य अनुशासनहीन भएको अनुभव गर्छौं। कति समयमा स्वयं आफ्नो धुरीमा घुम्नु छ भन्ने कुरा धर्तीले बिर्सन्छ। धर्तीलाई कति समयमा सूर्यको परिक्रमा गर्नुछ भन्ने कुरा उसलाई थाहा हुँदैन। बोट–बिरुवा र फूलको विन्यास–समरूपता गायब भइसकेको हुन्छ। रात र दिनको परिवर्तनको क्रम हराउँछ। हावापानीमा कुनै प्रकारको परिवर्तन देखा पर्दैन। बाल संसारका धेरै खेल लुप्त भएको अनुभव हुन्छ। कतिसम्म भने खानामा नून मसलाको कुनै तालमेल थाहा हुँदैन।
यदि यो कुनै दुस्वप्न हो भने ठीक छ, अन्यथा विश्व कति कुरूप, नीरस र बेस्वादिलो हुन जान्छ माथिको कल्पनाबाट बुझिन्छ। गणित हाम्रो जीवनसँग यस प्रकार जोडिएको छ कि यसबाट टाढा हुने कल्पना सम्भव छैन। सही कुरा गर्ने हो भने सम्पूर्ण विश्व नै एक प्रकारको गणित हो। हिंड्नु–बस्नु, खानु, एक अर्कासँग मेलजोल र व्यवहार सबै एक प्रकारको गणित नै हो। दिन हुनेबित्तिकै गणित पनि त्यससँग हिंड्न थाल्छ।
बिहानको अलार्म बज्नासाथ सबैलाई उठ्नुपर्छ। समयको प्रतीक घडीलाई पढ्नु पनि गणित नै हो। महिलाहरू बिहानदेखि सन्तानलाई विद्यालय पठाउनु छ, पुरुषहरूलाई आआफ्नो काममा जानु छ भन्ने कुरा सोच्न थाल्छन्। शेष समय घरका अन्य सदस्यहरूको आवश्यकताका लागि कसरी वितरण गर्नुछ भन्ने कुरा पनि एउटा गणित हो। पानीको टङ्कीमा कति पानी छ र दिनभरिका लागि कति पानी आवश्यक हुन्छ भन्ने पनि गणित हो। घरका सदस्यहरूका लागि उचित मात्रामा नाश्ता बनाउनु र उनीहरूको स्वादको ख्याल राख्दै कति मात्रामा मसला प्रयोग गर्ने कुरा पनि गणित हो। केटाकेटीहरूको खेल्ने, आराम गर्ने र गृहकार्य गर्ने समय तालिका निर्माण गर्नु पनि गणित हो। आफ्नो आम्दानीको हिसाबले घरका सबै आवश्यकता पूर्ति गर्नु पनि गणित हो। बिहानदेखि बेलुका सम्म गरिने प्रत्येक कार्य विभाजनले गणितको विभिन्न स्वरूपलाई दर्शाउँछ।घर सजाउने काममा पनि गणित विचार नगरेजस्तो गर्न मिल्दैन। दराजको खण्डमा कागज बिछ्याउने कुरा होस् वा फर्शमा कार्पेट वा टेबुलमा कभर, तन्ना–तकियाको लागि क्षेत्रफलको जानकारी आवश्यक हुन्छ। आकर्षक देखिनका लागि कुन कुरालाई कुन क्रममा राख्नु छ यसका लागि पनि समान आकार वा नापको आवश्यकता हुन्छ। यी सबै कुरा गणितको एउटा हिस्सा हो। एउटा चित्रकारको लागि चित्रमा कति अनुपातमा रङ्ग मिलाउने भन्ने कुरा थाहा हुनु आवश्यक हुन्छ। कुनै नदी छेउको दृश्य ठूलो र परको दृश्य सानो भन्ने कुराले हामीलाई नजीक र टाढाको अनुभूति गराउँछ। जब कुनै चित्रकारले यी सबै कुरालाई गणितीय ज्ञानको आधारमा संयोजन गर्छ अनि चित्र सजीव देखिन्छ।
यस प्रकार सिलाइ, कढाइ, बुनाइ, चित्रकला, मूर्तिकला वा कुनै पनि प्रकारको कलाका लागि ज्यामितिको प्रारम्भिक ज्ञान हुनु आवश्यक हुन्छ। प्रयोग गरिने सबै थोक–जस्तै लुगा, तन्ना, टाइल्स आदिमा ज्यामितीय संरचना प्रत्येक दिन देख्न पाइन्छ। विद्यार्थीहरूको सुन्दर लेखोटका लागि पनि गणितको उपयोग गरिन्छ। यस कारण ससाना केटाकेटीहरूको नेपाली, अङ्ग्रेजी र गणितको कापीका लाइन र खण्डहरू बराबर र त्यही अनुपातमा कोरिएका हुन्छन्। उनीहरूलाई निर्धारित ठाउँमा नै अङ्क, शब्द वा वाक्य लेख्ने अभ्यास गराइन्छ। उदाहरणका लागि ‘ब’ को अनुपातमा ‘द’ को आकार कस्तो हुनुपर्छ ? जब उनीहरूले यस कुरालाई बुझ्न थाल्छन् आफैं तोकिएको ठाउँमा लेख्न थाल्छन्।
गणित हाम्रो कुनै कार्य क्षेत्रसम्म मात्र सीमित नभई हाम्रो रुचि, खेल र मनोरञ्जनसम्म फैलिएको छ। केटाकेटीहरूको धेरैजसो खेलमा गणित प्रत्यक्ष र अप्रत्यक्षरूपले जोडिएको हुन्छ। साँप–सीढी, लूडो, ताश, कैरम, क्रिकेट वा जुनसुकै खेलमा गणितको प्रत्यक्ष प्रयोग गरिन्छ वा अनुभवको आधारमा गरिन्छ। उदाहरणका लागि भकुन्डोलाई कुन कोणमा हान्नु छ वा कुन गतिले हान्नु छ वा कुन गतिमा आइरहेको छ, क्रिकेटमा बैटले कति बल प्रयोग गरेर कता फाल्नु छ ? यस्तो ज्ञान हाम्रो संवेदनालाई अभ्यास सँगसँगै हुन्छ। यसैगरी कैरम वा धेरै खेलमा गति, दिशा र टक्करको संयोजनको प्रयोग बुझ्न सकिन्छ। यी गणित र भौतिकीको अप्रत्यक्ष व्यावहारिक प्रयोगहरू हुन्। साँप–सीढी वा लूडोजस्तो डाइस भएको खेल केटाकेटीहरूलाई गन्ती सिकाउनका लागि प्रयोग गर्न सकिन्छ।
प्रायः आफ्नो साजसज्जा वा लुगाको लागि तीन–चारवटा वस्त्रको संयोजन गरेर महिलाहरू आफूलाई बेग्लै देखाउने कलाको प्रयोग गर्छन्। त्यस्तै भान्साकोठामा उपलब्ध सीमित सामग्रीको संयोजन गरेर त्यसलाई स्वादिष्ट परिकारमा परिवर्तनले महिलाहरूमा भएको विशिष्ट पाककलाको प्रदर्शन गर्छ। गणितको कुरा गर्दा ताशको खेलमा विपक्षी खेलाडीको हातमा कुन ताश छ र आफूसँग भएको कुन पत्तालाई कसरी प्रयोग गरेर जीत हासिल गर्न सकिन्छ भन्ने कुराले गणना मात्र हैन तर्क र अनुमान गर्ने शक्ति पनि विकसित गर्दछ।
प्रकृतिलाई पनि गणितको पूर्ण ज्ञान हुन्छ। उम्रिरहेको बोटबिरुवा हेर्दा के लाग्दछ भने जसरी बीउबाट डाँठको विकास हुन्छ र विस्तारै पात, फूल र हाँगा निस्किन्छ, यो एउटा निश्चित क्रममा गणितीय योजना अनुसार नै हुन्छ। अन्तरिक्ष र धर्तीमा स्थित सबै पिण्डहरू गणितीय आधारमा आआफ्नो कक्षमा स्थापित छन् वा परिक्रमा गरिरहेका छन्। कुनै अणुद्वारा परमाणुको निर्देशाङ्कमा परिवर्तन हुँदा त्यसको रासायनिक र भौतिक गुणमा समेत परिवर्तन हुन जान्छ। कार्बनको प्रारूप कोइला, हीरा र ग्रेफाइटभन्दा यसको राम्रो उदाहरण के हुन सक्छ ? मात्र ज्यामितीय र गणितीय योजना परिवर्तन हुनाले एउटै तत्वको बेग्लाबेग्लै रूप र गुण हामीलाई प्राप्त हुन्छ। अर्थात् प्रकृति पनि एउटा गणितको नियममा आधारित छ।
यदि संसारको उत्पत्तिमा गणितको महत्व छ भने त्यो मानव सभ्यताको विकासका लागि कम महत्वपूर्ण छैन। प्राचीन सभ्यताको अध्ययन र अवलोकन गर्दा हामीलाई के थाहा हुन्छ भने कसरी गणितको राम्रो प्रयोगले गर्दा ती सभ्यताहरूको विकास भएको थियो। मिश्रको अद्भुत पिरामिड, हडप्पा र मोहनजोदडो वा सिन्धुघाटीको सभ्यता वा ह्वांग–हो सभ्यताको सुविकसित वा सुनियोजित उच्चस्तरीय समाजबाट के थाहा हुन्छ भने गणितको माप विद्या र व्यावहारिक गणितको अद्भुत विज्ञानलाई सिकेर नै मानव विकास पथमा अग्रसर भएको हो। यदि गणितको सेतु नभएको भए चन्द्रमा मानिसको कथा र कविहरूको कवितामा मात्र सीमित हुन्थ्यो। यसबाट के प्रस्ट हुन्छ भने कुनै पनि कला, विज्ञान वा सभ्यताको विकास गणितबेगर सम्भव थिएन। यसर्थ के भन्न सकिन्छ भने मानव विकास सँगसँगै गणितको विकास एक आपसमा समानुपातिक घटना हो।
गणितको उपयोग समुद्री जहाज, रेलको इन्जन, मोटरकारदेखि हवाई जहाज निर्माणमा समेत भएको छ। राडारको कल्पना तथा मङ्गल ग्रहसम्म राकेट यान पठाउन यसको प्रयोग भएको छ। यस कारण केटाकेटी हुन् वा अभिभावक सबैलाई के थाहा छ भने गणितमा राम्रो हुनु आवश्यक छ किनभने धेरैजसो पेशागत पाठ्यक्रममा पनि यसको आवश्यकता पर्दछ। स्टैनफोर्ड युनिवर्सिटीका डा. तानिया ई वाटले गरेको एक शोधले के सङ्केत गरेको छ भने जो केटाकेटी गणितमा राम्रो हुन्छन् उनीहरूको दिमाग पनि धेरै तेज हुन्छ। उनीहरूमा निर्णय लिने क्षमता बढी र प्रश्नको जवाफ पनि सजिलै दिन्छन्।”
अनेकौं उद्देश्य र आवश्यकता छन् भने अनेकौं गणितीय साधन र त्यसको समाधान पनि छ। यस आलेखमा ती सबैको उल्लेख सम्भव छैन। गणितलाई मात्र एउटा विषय वा गणनामा आधारित विज्ञान सम्झनु त्यसको कम आकलन गर्नु हो। मेरो धारणा के छ भने यो व्यक्तित्व विकासको एउटा कडी हो। यस कारण बाल्यकालदेखि नै केटाकेटीहरूमा गणितप्रति रुचि विकसित गर्नु एउटा शिक्षक र अभिभावकको प्रमुख उद्देश्य हुनुपर्छ। जसरी आफ्नो विचारको अभिव्यक्तिको लागि भाषाको आवश्यकता हुन्छ, त्यसैगरी आफ्नो विचारलाई सही दिशा दिनका लागि तर्कशक्ति आवश्यक हुन्छ जसको एकमात्र माध्यम गणित हो। गणितको ज्ञानबेगर जीवनमा सफलता सम्भव छैन।