अनन्तकुमार लाल दास
रमेश धेरै ज्ञानी विद्यार्थी हो। ऊ सधैं कक्षामा राम्रो गर्दै आएको थियो तर कक्षा नौमा आइपुग्दा उसको परीक्षाफल बिग्रन थाल्यो। यसबाट रमेश मात्र हैन, उसका आमाबुवा, शिक्षक तथा साथीहरूलाई पनि धेरै आश्चर्य लागिरहेको थियो। आखिर रमेशको परीक्षाफल किन बिग्रियो ? यसबारे कसैले बुझ्न सकिरहेको थिएन। वास्तविकता त के हो भने उसको जीवनको सबैभन्दा महत्वपूर्ण समय नजीक आइसकेको छ। अर्थात् उसको माध्यमिक शिक्षा परीक्षा नजीक आउँदै छ। यस स्थितिमा उसको परीक्षफललाई लिएर सबै चिन्तित थिए। चिन्तित हुनु स्वाभाविक नै हो।
आखिर रमेशको परीक्षाफल किन बिग्रियो ? के तपाईंले केही अनुमान लगाउनुभएको छ ? वास्तवमा रमेश जहिले पनि पढ्न बस्छ, उसको मनभित्र अनेकौं कुरा उठ्न थाल्छन्। ऊ कहिल्यै विद्यालयसँग जोडिएको कुरा सोच्न थाल्छ भने कहिल्यै उसलाई नयाँ भिडियो गेमको सम्झना आउँछ। कहिल्यै फेसबूक हेरेर त्यसमा कमेन्ट लेख्छ त कहिल्यै ह्वाट्स एपमा साथीहरूसँग गप्प हाँक्न लम्कन्छ। कहिल्यै टेलिभिजनमा प्रसारण हुने थरीथरीको कार्यक्रमको सम्झना हुन्छ त कहिल्यै साथीहरूको लहलहैमा मन नलागे पनि घुम्न निस्किन्छ। यसरी रमेश चाहँदा नचाहँदै पढाइमा ध्यान एकाग्र गर्न सकिरहेको थिएन। यिनै कारणहरूले गर्दा कक्षा ९ को परीक्षाफल बिग्रन पुग्यो। हुनत यस्तो परेशानी रमेशको मात्र नभई रमेशका धेरैजसो साथीहरू अर्थात् तपाईं जस्ता धेरै विद्यार्थीहरूको पनि हुन सक्दछ।
आखिर अध्ययनमा एकाग्रताको कमी किन हुन्छ ? भनिन्छ मन धेरै चञ्चल हुन्छ। मनमा धेरै कुरा अनायास आउने र जाने सबैले अनुभव गरेको कुरा हो। यस्तो परिस्थितिमा कुनै पनि कुरा वा विषयमाथि ध्यान एकाग्र गर्न वास्तवमा अति नै कठिन हुन्छ। तपाईं अहिले विद्यालयमा पढ्दै हुनुहुन्छ। यस कारण पनि तपाईंको मनमा धेरै प्रश्न, खासगरी पढ्ने बेला उठ्ने नै गरेको होला। जस्तै, विद्यालयमा फलानाले किन यस्तो कुरा भन्यो ? शिक्षकले किन सबै विद्यार्थीलाई हप्काए ? मैंसँग शिक्षकले धेरै प्रश्न किन सोध्छन् ? साथीले लिएको भिडियो गेम कति राम्रो छ ? हिजो टेलिभिजनमा देखाइएको सिरियलमा कसले हत्या गरेको होला ? आजको क्रिकेट म्याच त हेर्नैपर्छ। यस्ता अनेकौं कुरा पढ्ने बेला विद्यार्थीहरूको मनमस्तिष्कमा उठ्ने गर्छ।
शिक्षाविद् र बाल मनोवैज्ञानिकहरूले पढाइमा ध्यान एकाग्र गर्न नसक्नुको पछाडि विद्यार्थीहरूको उमेर पनि एउटा कारण रहेको देखाएका छन्। उनीहरूले भनेका छन्–“सातदेखि चौध वर्षको उमेर समूहका केटाकेटीहरूको मस्तिष्क एउटा ‘इम्प्रेशनेबल माइन्ड’ हुन्छ। अर्थात् यस उमेर समूहका केटाकेटीहरूमाथि कुनै पनि कुराको असर धेरै चाँडो र बढी पर्छ। त्यसैले उनीहरूलाई पढ्ने बेला ध्यान एकाग्र गर्न कठिनाई हुन्छ।” हुनत ध्यान भङ्ग हुने अनेकौं कारण छन्। जस्तै पढाइको गलत तरीका, सही दिनचर्या नहुनु, सन्तुलित आहार नखानु, बाह्य क्रियाकलाप अर्थात् खेलकूदमा भाग नलिनु आदि।
वैज्ञानिक सर आइजेक न्यूटनले एक पटक भनेका थिए–“यदि कसैले मसँग मेरो सफलताको रहस्य सोध्छ भने उसलाई आफ्नो एकाग्रता बलियो बनाउन सल्लाह दिने गरेको छु।” न्यूटनको बलियो एकाग्रता नै हो, जसको परिणाम आज विश्व समक्ष छ। यदि न्यूटनको एकाग्रता बलियो हुन सक्छ भने हाम्रो किन हुँदैन ? तर यसका लागि बलियो आत्मबल र आत्मविश्वास आवश्यक छ। एकाग्रता बढाउन आत्मबल अर्थात् ‘इच्छाशक्ति’ र ‘आत्मविश्वास’ भनेको ‘म गर्न सक्छु’ को बढी भूमिका हुने विशेषज्ञहरूको ठहर छ। यस कारण एकाग्रता बढाउने जति पनि उपाय छन्, त्यो इच्छाशक्ति बलियो भयो भने मात्र सफल हुन्छ।
अब प्रश्न उठ्छ पढाइमा एकाग्रता ल्याउन के गर्नुपर्छ ? वैज्ञानिकहरूका अनुसार यसका लागि सबैभन्दा पहिले आफ्नो खाजा वा खानामा काब्रोहाइड्रेट्स, प्रोटिन्स र फाइब्ररयुक्त खाद्यपदार्थ जस्तै रोटी, फलको जूस, हरियो सागसब्जी आदिको मात्रा बढाउनुपर्छ। यसका साथै साइक्लिङ, स्विमिङ वा जगिङ गर्दा पनि आत्मबल र एकाग्रताको तहमा वृद्धि हुन सक्छ। गहिरो निद्रा र नियमित सन्तुलित कार्यतालिका अनुसार कार्य गर्नाले पनि पढाइमा एकाग्र हुन सघाउ पु–याउँछ। पढाइ गरिरहेको बेला केही खाने इच्छा, साथीलाई फोन गर्ने चाहना, टेलिभिजनको कुनै सीरियल हेर्ने चाहना त्याग्नु नै बेस हुन्छ।
एकाग्रताको अर्थ नै कुनै विषयवस्तु माथि पूर्ण ध्यान दिनु हो। एकाग्रताको मार्गमा आउने व्यवधानहरूसँग जोगिनका लागि कुनै धेरै ठूलो कार्य पनि गर्नुपर्दैन। यस्तो क्षमता सजिलै विकसित गर्न सकिन्छ। जस्तै किताब उल्टो गरेर शब्दमाथि औंला राखेर पढ्ने अभ्यास गर्नुपर्छ। प्रारम्भमा यसरी पढ्न अलिकति गा–हो हुन्छ तर लगातारको अभ्यास पछि सजिलै पढ्न सकिन्छ। यसरी पढ्दा चञ्चल मन नियन्त्रणमा हुनुका साथै पढाइमा सजिलै ध्यान केन्द्रित गर्न सकिन्छ।
पढाइमा एकाग्रता ल्याउन अर्को सरल उपाय विपश्यना साधना पनि हो। आफ्नो ध्यान अरू कुराबाट हटाएर सास लिने र छाड्ने प्रक्रियामा दसदेखि पन्ध्र मिनेट दिनुपर्ने हुन्छ। अर्को शब्दमा भन्ने हो भने श्वास–प्रश्वास अवलोकनका लागि नाकको पहरेदारी गर्नुपर्छ। यसको लागि कुनै विशेष मुद्रा आवश्यक पर्दैन। कहीं बसेर वा सुतेर पनि सासमाथि ध्यान लगाउन सकिन्छ। केही दिनको अभ्यास मात्रले एउटा नयाँ ऊर्जा र प्रसन्नताको अनुभूति हुनेछ। यस प्रक्रियाको अवलोकनले रिस, राग, द्वेष अन्त्य हुनुको साथै पढाइमा शत प्रतिशत ध्यान केन्द्रित हुनेछ।
ब्रह्माकुमारी राजयोग केन्द्रद्वारा बताइएको मस्तिष्कलाई शान्त राख्ने प्रविधिबाट पनि पढाइमा एकाग्र हुन सकिन्छ। यसका लाथि निधारको बीचमा त्यस वस्तुको कल्पना गर्नुहोस् जसले तपाईंलाई प्रेरणा प्रदान गर्दछ। त्यसपछि “म शान्त छु, म हरेकसँग प्रेम गर्दछु, म खुशी छु” जस्ता वाक्य प्रत्येक दिन पटक–पटक दोहो–याउनुहोस्। यसले तपाईंको मस्तिष्कलाई शान्त राख्न मदत पु–याउँछ किनभने एउटा शान्त मस्तिष्कले विषयमाथि एकाग्र हुन र नकारात्मक विचार र बानीबाट मुक्ति पाउन मदत पु–याउँछ।
यसबाहेक एउटा शान्त कोठामा बलिरहेको मैनबत्तीभन्दा केही टाढा बसेर सयदेखि एकसम्म उल्टो गन्ती गन्नुहोस्। गन्ती भङ्ग भएमा पुनः शुरूदेखि प्रारम्भ गर्नुहोस्। यसो गर्दा तपाईं आफ्नो विचारलाई एक ठाउँमा राख्न सफल हुनुहुन्छ किनभने एकाग्रताको वास्तविक अर्थ आफ्नो सम्पूर्ण ध्यान एउटा निश्चित समयका लागि कुनै खास विषयमा केन्द्रित गर्नु हो। यसको लागि के ध्यान राख्नुपर्छ भने एउटा विषय एक घण्टाभन्दा बढी नपढ्नुहोस्। यदि पढ्नु नै परे बीचमा एउटा सानो ब्रेक लिनुस् वा एक गिलास पानी खानु राम्रो हुनेछ।
विद्यार्थीहरूले राति सुत्न जाँदा एकछिन आफ्नो मस्तिष्कमा चलिरहेको सबै विचार बाहिर निकाल्ने कोशिश गर्नुपर्छ। यसबाट एकातिर तपाईंलाई मीठो निद्रा आउँछ भने अर्कोतिर तपाईको एकाग्रताको तह पनि बढ्छ। बिहान उठेर तुरुन्त काममा लाग्नुभन्दा एकछिन ओछ्यानमैं बस्नुपर्छ। अध्ययन गर्दा किताबमा लाइन कोर्नुको साटो कापीमा छाडिएको मार्जिनमा उक्त महत्वपूर्ण कुरा नोट गर्नुपर्छ। एकपटक पढिसकेपछि त्यसमा भएका कुरा कापीमा लेखिएको नोटको आधारमा दोहो–याउनुपर्छ। यसरी नियमित अध्ययन र परिश्रमले पढाइमा सुधार ल्याउन सकिन्छ किनभने सफलता आत्मविश्वास र लगातार परिश्रमको परिणाम हो।
बेकनले भनेका थिए–“बुद्धिमान मानिसलाई जति अवसर प्राप्त हुन्छ त्यसभन्दा बढी उसले स्वयं उत्पन्न गर्छ।” त्यसकारण तपाईं कसरी पढाइमा आफ्नो ध्यान एकाग्र गर्नुहुन्छ, यो तपाईंमाथि निर्भर छ। मनोविज्ञानले भन्छ–हाम्रो मस्तिष्कले हाम्रो शरीरलाई नियन्त्रित गर्दछ। यस कारण मस्तिष्कलाई स्वस्थ राख्नु हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। एउटा लक्ष्य लिएर अगाडि बढ्नुहोस्। सधैं नयाँ–नयाँ कुरा, अनुभव र खुशीका लागि आफ्नो मस्तिष्कमा ठाउँ बनाउनुहोस्। हरेक मानिसमा एकाग्रताको क्षमता भिन्न–भिन्न हुन्छ तर सही तरीकाले एकाग्र हुने योग्यताले मानिस अवश्य सफल हुन्छ। हरेक मानिसमा सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छ। त्यसैले आजैदेखि कसैको पनि सकारात्मक पक्ष खोज्ने बानी बसाल्नुहोस्। यसो गर्दा निश्चित नै तपाईं आफ्नो जीवनलाई एउटा नयाँ दिशा प्रदान गर्न सक्नुहुन्छ र पढाइमा स्वतः एकाग्रता बढ्न थाल्छ।