सञ्जय मित्र
आजीवन मानिसले पाउने सास कहाँबाट लिएको हो ? के सास निश्शुल्क पाइन्छ ? निश्शुल्क नै यदि पाइँदो हो त निश्शुल्क पाइने जति कुरा जहाँ पनि र जुनसुकै परिस्थितिमा पनि सजिलै लिने ? यो लिएको हो भने दयामा हो कि अधिकारमा ? कि आफ्नो आर्जन हो ? कि दयामा केही कुरा लिन नचाहने अर्थात् कसैले ममाथि दया नगरोस् भन्ने भावना मनभित्र रहेको छ ? वास्तवमा दया त दीनहीन वा कमजोरमाथि गरिन्छ, यसैले कसैले दया गरेर दिएको वस्तु म किन लिन्थें भन्ने भावना मनभित्र रहेको छ भने यो भावना सा–है राम्रो छ, यसलाई सम्मान गर्छु र यस किसिमको भावना मनमा लिनेहरूलाई शब्दले अभिनन्दन गर्दछु।
सास लिएर जीवन बाँचेको देखाउँछौं। सामान्य दृष्टिमा त यही हो कि जसले सास लिइरहेको छ र लिएको सास फालिरहेको छ, ऊ जीवित हो। हामी सास लिइरहेका छौं तर कहाँबाट लिइरहेका छौं र सास फालिरहेका छौं तर कहाँ फालिरहेका छौं ? हामीले लिने सास कहाँबाट आउँछ र हामीले फालेको सास कहाँ जान्छ ? जसरी अर्काको कुरा केही पनि नलिने अवधारणा मनभित्र छ, त्यसैगरी अर्काको ठाउँमा नसोधी त्यत्तिकै आफ्ना कुरा मिल्काउनुहुन्न भन्ने पनि बुझेका छौं। यस अर्थमा हामीले फालेको सास वातावरणमैं जान्छ अर्थात् हामीले जानेर वा नजानेर तथा चाहेर पनि नचाहेर पनि वातावरणलाई हाम्रो प्रदूषित सास फाल्ने कन्टेनर ठानेका रहेछौं। वातावरण त सबैको हो र यसबाट सबैले लाभान्वित हुन पाउनुपर्छ भन्नुहोला भने यो सत्विचार हो तर यसको संरक्षण पनि सबैले गर्नुपर्छ भन्ने विचार मस्तिष्कमा उम्रँदैन भने त्यो सत्विचार अपूरो छ।
वातावरणबाट लिन मात्र जान्ने र वातावरणलाई दिन चाहिं केही पनि नदिनेहरूले देखिसकेका छन्– काठमाडौं निस्सासिन सक्छ। हेर्दाहेर्दै एक दिन त झन्डै विश्वकै प्रदूषित शहरको ताज शिरमा लगाउन पुगेको थियो राजधानी काठमाडौंले। वातावरणले स्पष्ट शब्दमा भनिसकेको छ– मलाई पनि सास फेर्न देऊ। सबैलाई प्राणवायु दिने र सबैले फालेको सासको कन्टेनर बनेर म आफैं निस्सासिइसकेको छु। अलकत्रा, कङ्क्रिट र सिमेन्ट जताततै बिछ्याइएका छन् र अग्ला घरहरू उम्रिरहेका छन्। वाहनहरूले फाल्ने धूवाँसँगै उद्योगहरूबाट निस्कने मुस्लोले वातावरणमाथि निर्घात आक्रमण गरिरहेको छ। सडकको धूलोले निरन्तर प्रहार गरिरहेको छ। प्लास्टिकजन्य पदार्थले वातावरणको मर्ममा हानिरहेको छ। कीटनाशक औषधि तथा अन्य रसायन र रासायनिक पदार्थले वातावरणको फोक्सोका नलिकाहरूमा जाम गरिरहेका छन्। वनक्षेत्रमा कहिले वैज्ञानिक व्यवस्थापन त कहिले चोरी निकासीको कहर हुन्छ, जसले अन्ततः वातावरणलाई नै लघारीलघारी कुटेको छ। नदीजन्य पदार्थको दोहनको नाउँमा वन र पहाड क्षेत्रको धरतीको मुटु लुछेर विकास भएको होओस् वा सडक सञ्जालको नाममा पर्वत तथा पाखाहरूलाई थर्काएर तिनीहरूको जीवनमा हस्तक्षेप गरेर होओस्, सबैतिरबाट त्यही सासदायिनी वातावरणमाथि वज्र प्रहार गरेर विजयको दुन्दुभि बजाएका छौं। प्रकृतिमाथि विजयको दम्भमुनि दबिंदै गएको सासलाई बचाउने कि सासलाई पनि दुर्घटना हुन कान्ले भीरतिर धकेल्ने ?
प्रकृतिमाथि जतिसुकै विजयको धाक लगाए पनि सास भने अझै पनि उही प्रकृतिबाट सुटुक्क चोरेकै हौं। चोरीको सासले जीवन धानेको छ। यही अवस्थामा बाँचेको धाक छ हामीसित, जीवित रहेको गर्व पनि छ र जीवनमाथि गौरव पनि गरिरहेका छौं। फालेको सासको गन्ती नै गर्दैनौं। के फालेको सास मूल्यहीन छ त ?
वास्तवमा जसले आफूले लगाएको बिरुवाबाट दिनभरिको सास धान्छन्, उनैले चोरेको सास लिएका छैनन्। सास पैतृक हुन सक्दैन। यस कारण पितापुर्खाले लगाइदिएको बिरुवाबाट पाएको सास पनि उही दानमा पाएको वा दयामा प्राप्त गरेको सास हो। कसैले दया गरेको मन नपराउने स्वाभिमानी पुरुषले आफ्नो जीवनमा कति बिरुवा लगाए ? कति बिरुवा सखाप पारे ? कतिपय जीवन त यस्ता पनि छन्, जो अरूको भागको सास खोसेर लिइरहेका छन्। दिनभरमा हजारौंपटक लिने सासमा एक मुठी पनि आफ्नो आर्जनको हुँदैन। यदि एक मुठी सास आफनो आर्जनको छैन भने फालेको सास पनि कहाँ राख्ने ? सास बिसाउने ठाउँ पनि चोरीकै हो कि ? यसरी चोरीको मान्न अप्ठ्यारो हुन्छ भने उधारो त मान्न सकिएला।
लिएको सासमाथि टेकेर उभिएको हुन्छ जीवन। जीवनले लिएको सास पचाउँदैन। लिएको सासको रूप परिवर्तन गरेर फाल्दछ। फालिएको सास रूखबिरुवाले लिन्छन्। यसरी रूखमाथि वातावरण र मानिसको जीवन निकै नजीकबाट गाँसिएको छ। वातावरणमा रूखको महत्व अत्यधिक रहेको छ। यस कारण फालिएको सास मूल्यहीन कदापि होइन। फालिएको भनिएको सासले अर्को सासलाई आउने ठाउँ दिएको हुन्छ त कसरी मूल्यहीन हुन सक्दछ। लिइएको सास केही गरी फोक्सोमैं अडिनुहुँदैन। यदि यसो हुन्छ भने जीवन त रहँदैन।
कुनै पनि मूल्यभन्दा मूल्यवान् छ जीवन। जीवन धान्न आफ्नै सासको जोहो आवश्यक छ। अर्काको दयाको भरमा वा चोरीको भरमा सास धान्नुहुँदैन। आफ्नो सासको लागि आफ्नै आर्जन हुनु आवश्यक छ। सास आर्जन गर्ने चेतना फैलाउनु पनि आवश्यक छ। हामीलाई स्वाभिमानी सास चाहिएको छ। स्वाभिमानको सासमा अडिएको गौरवमय जीवन चाहिएको छ। चोरीको सासमाथि जीवनको उल्लास त वास्तवमा सक्कलबमोजिमको नक्कल ठीक छ भनेजस्तै हो। दुवै हातका बूढी औंलाहरूले सहुँला बुझाउँला गरी सहीछाप गरेर उधारोमा लिएको सासमाथि जीवनको धाक लगाएका छौं। सासदायिनी वातावरणले आज नगद र भोलि उधारो भनी ट्याग झुन्ड्याउनुअघि अलिकति आफूले लिने सास र आफूले फाल्ने सासप्रति गम्भीर समीक्षा गर्नुपरेको छ।
कम्तीमा यस्तो जीवनको अपेक्षा राखौं कि आफूले लिएको सास आफ्नोलागि र आफ्नो आर्जनको होओस्। हैनभने देशमा वैदेशिक ऋण बढ्यो र प्रतिव्यक्ति ऋणको भार बढ्दै गएको भनी चिन्ता व्यक्त गर्ने बेपारी कालाबजारीको आरोपमा पक्राउ परेजस्तै सही अर्थमा जीवन सक्कली बन्न सकेको हुँदैन। ओठे देशभक्तिले सही जीवनको अर्थ बुझ्ने एउटा मार्ग स्वआर्जनको गौरवशाली सास पनि हो। दयाको भरमा बाँच्नेहरू पनि छन् तर दयामा बाँच्नुपर्ने विवशता पनि हुन सक्छ। विवशताबाहेकमा स्वाभिमान जागृत गर्नुपरेको छ।