काठमाडौं, २२ माघ/रासस
नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) प्रमाणपत्र प्राप्त गरेको छ । लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि मङ्गलवार औषधि व्यवस्था विभागबाट अन्तर्राष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र प्राप्त गरेको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए ।
“विसं २०२९ सालमा कम्पनी स्थापना भएपनि २०६४/६५ सम्म जिएमपीको प्रावधान थिएन, यो प्रावधान आएपछि कम्पनीले औषधि उत्पादन बन्द गरेको थियो,” उनले भने, “विसं २०७४ सालदेखि कम्पनीले सो मापदण्डमा औषधि उत्पादन शुरू गरेपछि आज मात्रै उक्त प्रमाणपत्र प्राप्त भएको हो ।” उनका अनुसार उक्त प्रमाणपत्र प्राप्त भएसँगै कम्पनीलाई औषधि बिक्री, विदेशमा निर्यात र अन्तर्राष्ट्रियस्तरमा बोलपत्रमा सहभागी हुन बाटो खुलेको छ ।
प्रमाणपत्र प्राप्त गर्नु आफैंमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै महाप्रबन्धक पनेरुले आगामी दिनमा खोप उत्पादनका लागि पनि सहज भएको बताए । हाल कम्पनीले ओरल रिहाइड्रेसन साल्ट (ओआरएस), ट्याबलेट र हेमोग्लोबिन फ्लुइड (पार्ट–१ र २) अन्तर्गत १४ प्रकारका औषधि उत्पादन गरिरहेको छ ।