बेइजिङ, २२ माघ/एएफपी
चीनले मङ्गलवार चिनियाँ सामानमा लगाएको १० प्रतिशत भन्सारदरको प्रतिशोधमा संयुक्त राज्य अमेरिकाबाट आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्याँसमा १५ प्रतिशत भन्सारदर लगाउने बताएको छ ।
बेइजिड्ढो वित्त मन्त्रालयले संयुक्त राज्य अमेरिकाबाट कच्चा तेल, कृषि मेशिनरी, ठूला विस्थापन सवारीसाधन र पिकअप ट्रकको आयातमा १० प्रतिशत भन्सार महसूल लगाउने पनि घोषणा गरेको छ ।
बेइजिड्ढा अनुसार नयाँ उपायहरू सप्ताहन्तमा वाशिङ्टनले लगाएको ‘एकतर्फी भन्सारदर वृद्धि’को प्रतिक्रियामा आएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार क्यानडा र मेक्सिकोलगायत प्रमुख व्यापार साझेदारहरूविरुद्ध व्यापक उपायहरू घोषणा गरे । चीनबाट आउने सामानहरूले उनीहरूले पहिले नै वहन गरेको भन्सारदरमाथि थप १० प्रतिशत भन्सारदर लगाइनेछ ।
गैरकानूनी आप्रवासी र फेन्टानिलसहितका लागूऔषधको संयुक्त राज्य अमेरिकामा प्रवाह रोक्न असफल भएका देशहरूलाई सजाय दिने उद्देश्यले यी कदमहरू चालिएको ट्रम्पले बताएका छन् ।
चीनले भनेको छ, “अमेरिकी कदमले विश्व व्यापार सङ्गठनका नियमहरूको गम्भीर उल्लङ्घन गर्छ, आफ्नै समस्या समाधान गर्न केही गर्दैन र चीन र संयुक्त राज्य अमेरिकाबीचको सामान्य आर्थिक र व्यापारिक सहयोगमा बाधा पु¥याउँछ ।”
अर्को सोमवारदेखि लागू हुने बेइजिड्ढो करको घोषणा ट्रम्पले आगामी २४ घण्टामा राष्ट्रपति सी जिनपिङसँग फोनमा कुरा गर्ने घोषणा गरेको केही समयपछि गरिएको हो ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाम र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो दुवैले यस अघि ट्रम्पसँग अन्तिम समयमा सम्झौता गरेर अमेरिकामा आप्रवासी र फेन्टानिलको प्रवेशविरुद्ध कडा सीमा उपायहरू अवलम्बन गर्ने बताएका थिए । यसबाट धम्की दिइएको भन्सारदरमा ३० दिनको विराम लागेको छ ।
एशियाली शेयर बजारहरू मङ्गलवार भन्सारदरमा विराम लागेको खबरले बढे भने वार्ताहरूले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनविरुद्धको भन्सारदर कम गर्न सक्ने आशाले थप आशावादी बनेको छ । तथापि चीनले आफ्ना उपायहरू घोषणा गरेपछि व्यापारीहरूले ती लाभहरूमध्ये केही घटाए ।
क्यानडा र मेक्सिकोबाट आयातमा २५ प्रतिशत भन्सारदर लगाउने ट्रम्पको धम्कीले विश्वव्यापी व्यापार युद्धको डर निम्त्याएपछि सोमवार विश्वव्यापी शेयर बजारमा गिरावट आएको थियो ।
सेनबामसँग धेरै मैत्रीपूर्ण वार्तापछि मेक्सिकोमाथि लगाइएको भन्सार तुरुन्तै रोक्ने र आफ्ना समकक्षीले अमेरिका–मेक्सिको सीमामा १० हजार सैनिक पठाउन सहमत भएको ट्रम्पले बताए ।
संयुक्त राज्य अमेरिका र क्यानडाबीच तनाव बढेको देखिन्छ । तर ट्रुडोसँग दुईपटक फोन गरेपछि ट्रम्पले ट्रुथ सोशलमा ‘प्रधानमन्त्री हामीसँग सुरक्षित उत्तरी सीमा सुनिश्चित गर्न र अन्ततः फेन्टानिल जस्ता लागूऔषधको घातक प्रकोप अन्त्य गर्न सहमत हुनुभएको छ’ भने ।
ट्रुडोले सीमा सुरक्षित गर्न, लागूऔषध कार्टेलहरूलाई आतङ्ककारीका रूपमा सूचीबद्ध गर्न, ‘फेन्टानिल जार’ नियुक्त गर्न र मनी लाउन्ड्रिङविरुद्ध कारबाही गर्न क्यानडाले लगभग १० हजार अग्रपङ्क्तिका अधिकारीहरू तैनाथ गर्ने बताए ।
अधिकारीहरूले डिसेम्बरमा नै आठ हजार पाँच सय कर्मचारी तैनाथ गरिसकेको बताएको हुनाले क्यानडाली सीमामा परिवर्तनको वास्तविक सीमा स्पष्ट थिएन ।
क्यानडा, चीन र मेक्सिको संयुक्त राज्य अमेरिकाका तीन सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् । ह्वाइट हाउसले पहिले नै सप्ताहन्तमा धेरै वार्ता भएको बताएको थियो ।
“यो व्यापार युद्ध होइन, यो लागूऔषधको युद्ध हो,” राष्ट्रिय आर्थिक परिषद्का निर्देशक केभिन ह्यासेटले सिएनबिसीलाई भने, “क्यानडालीहरूले स्पष्ट भाषा बुझ्न नसकेको जस्तो देखिन्छ ।”
यद्यपि अमेरिकी सरकारको तथ्याङ्कले क्यानडा हुँदै न्यूनतम मात्रामा मात्र लागूऔषध प्रवेश गरेको देखाउँछ । ओटावाले भन्सारदरको कडा जवाफ दिने प्रतिज्ञा गरेको थियो ।
क्यानडालीहरूले खेलकूद कार्यक्रमहरूमा अमेरिकी राष्ट्रिय गानको विरोध गरेका छन्, संयुक्त राज्य अमेरिकामा बिदा रद्द गरेका छन् र अमेरिकी उत्पादनहरू बहिष्कार गरेका छन् ।
यसको सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रान्त ओन्टारियोले सोमवार अमेरिकी कम्पनीहरूलाई सरकारी सम्झौतामा १०औं अर्ब डलरको सरकारी ठेक्कामा बोलपत्र हाल्न प्रतिबन्ध लगाएको थियो र ट्रम्पका सहयोगी एलन मस्कको स्टारलिङ्कसँगको सम्झौता खारेज गरेको थियो ।
ट्रम्पले क्यानडाको अस्तित्वलाई प्रश्नमा राखेर हालै दबाब बढाएका छन् । सोमवार फेरि एकपटक यसलाई ५१औं अमेरिकी राज्य बनाउने वकालत गरे ।
ट्रम्पको भन्सारदर धम्कीमाथि क्यानडाली सरकारमा राजनीतिक सङ्कटले ट्रुडोले राजीनामा दिने घोषणा गरे । क्यानडालीहरूले अब अप्रिलको शुरूमा चुनावको सामना गर्नुपरेको छ ।
यसैबीच, ट्रम्पले कागजातविहीन आप्रवासीहरूमाथि व्यापक कारबाहीको प्रतिज्ञा गर्दै मेक्सिकोलाई संयुक्त राज्य अमेरिकासँगको सीमा सुरक्षित गर्न भारी दबाब दिएका छन् ।
भन्सारदर शब्द शब्दकोषको सबैभन्दा सुन्दर शब्द भएको बताउने अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पहिलो कार्यकालभन्दा पनि बढी भन्सारदर लगाउँदै छन् ।
उनले अधिकांश विशेषज्ञले विपरीत भने पनि यसको प्रभाव अमेरिकी उपभोक्तामा नपर्ने र विदेशी निर्यातकर्ताहरूले नै बेहोर्ने जोड दिएका छन् ।
यद्यपि ७८ वर्षीय अर्बपति राष्ट्रपतिले आइतवार आफ्नो फ्लोरिडा रिसोर्टबाट फर्किंदै अमेरिकीहरूले आर्थिक पीडा महसूस गर्न सक्ने स्वीकार गरे । रासस