बनियानी (झापा), १५ माघ/रासस
नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चारजनाको मृत्यु हुने गरेको छ ।

नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सरपछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर बर्सेनि दुई हजार १६९ जनालाई हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए । तीमध्ये ६१ प्रतिशत अर्थात् एक हजार ३१३ जनाको बर्सेनि मृत्यु हुने गरेको उनले बताए ।

ह्युमन पापिलोमा भाइरस (एचपिभी)का दुई सयभन्दा बढी प्रजातिमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक हुन् । जिल्लामा माघ २२ देखि २९ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन गर्न लागिएको छ ।

खोप अभियान अन्तर्गत जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालयबाहिर रहेका ५४ हजार ९९९ छात्रा तथा किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

झापामा एचपिभी खोप अभियानका लागि ७५५ खोप केन्द्र, ७८१ जना स्वास्थ्यकर्मी र एक हजार ५१५ जना स्वयंसेविका परिचालन हुनेछन् । ७५५ खोप केन्द्रमध्ये ५५७ विद्यालय, १४० स्वास्थ्य संस्था र ४० वटा बाह्य केन्द्र रहनेछन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्युएचओ)ले सन् २०३० सम्ममा यो रोग निवारणका लागि एकीकृतरूपमा तीन तहको उपाय अवलम्बन गर्न सिफारिश गरे अनुसार नेपाल सरकारले १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाउने भएको हो ।

गत आर्थिक वर्ष २०८०/८१ मा सातवटै प्रदेशका १० हजार बालिकालाई एचपिभी खोप लगाइएको थियो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार महिलामा हुने क्यान्सरमध्येमा पाठेघरको मुखमा हुने क्यान्सर चौथो मुख्य क्यान्सरको रूपमा देखिएको छ । विश्वमा हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने यो रोगबाट हरेक वर्ष तीन लाख ११ हजार (५५ प्रतिशत) महिलाको मृत्यु हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here