- सञ्जय साह मित्र
अहिले महाकुम्भको मेला चलिरहेको छ भारतमा। विश्वका हिन्दूहरूमा यस मेलाले उत्साह बढाइदिएको छ। डेढ महीनासम्म चल्ने मेला हेर्न जान धेरै मानिसमा यस चर्चाले नै उत्साह जगाएको देखिएको छ। विभिन्न मिडियाहरूमा आइरहेका समाचारमा मेलामा करोडौं मानिस पुग्ने विश्वास गरिएको छ। मेला लाग्ने ठाउँ उत्तर प्रदेशको प्रयागराज शहर हो। शहरभन्दा पनि तीन नदीको सङ्गमस्थल हो। गङ्गा, यमुना र सरस्वती गरी तीन नदीको सङ्गमस्थलमा स्नान गर्ने रहर सबैलाई हुन्छ।
करीब साढे दुई वर्ष अघिको कुरो हो। घरबाट बनारस हुँदै आगरा अनि वृन्दावनसम्मको यात्रामा निस्कँदा सङ्गममा डुबुल्की लगाउने खासै योजना थिएन। मित्रहरू जब बनारसमा बाबा विश्वनाथको दर्शन गरे तब तय भयो कि वृन्दावन जानुभन्दा पहिले कुम्भ मेला लाग्ने सङ्गमस्थलमा पनि डुबुल्की मारौं। आखिरमा लाग्ने समय भनेको आधा दिन मात्र रहेछ। पूरा एक दिन पनि नलाग्ने भएकोले सबैले होमा हो मिलाए अनि सर्वसम्मतिले यात्रा मोडियो सङ्गमतर्फ।
सङ्गमको यात्रा हाम्रो लागि पूर्णतः नयाँ थियो। बनारस त पटकपटक पुगेका हौं तर यहाँभन्दा टाढा गएकै छैनौं। अनि सोध्दै र गुगलको नक्शा हेर्दै अगाडि बढ्नु स्वाभाविक हो। यही स्वाभाविकतालाई हामीले पछ्याएका हौं, पछ्याउँदै आएका हौं।
खासै टाढा छैन बनारसबाट प्रयागराज तर प्रयागराज आफैंमा एउटा विशाल शहर हो। यसको मुख्य सुन्दरता हरियाली पनि हो। हरियालीसँगै फराकिला सडकहरूले यस शहरको सुन्दरता बढाएको छ। यद्यपि हाम्रो मुख्य सरोकार हो, सङ्गम–स्नान। म सानैदेखि घरमा आउने धार्मिक पोस्टरहरूमा प्रयागराजलाई चिन्दै आएको छु। यस कारण मभित्र एउटा छुट्टै अनुभूति र आनन्दपूर्ण उत्सुकता बढेको छ। आज त्यो ठाउँमा पाइला टेक्दैछु, जहाँ टेक्नको लागि पहिलेका मानिसले निकै तयारी गर्नुपथ्र्यो। अहिले त धेरै सुविधाको विकास भएको छ र मानिसको अर्थतन्त्र पनि सबल हुँदै गएको छ। चेतनाको पनि विस्तार भएको छ तर पहिले यी कुराहरूको अभावमा निकै कम मानिस यस ठाउँमा पुग्दथे। पुगेका केही मानिसहरूबाट पनि यसको महिमा सुनेको छु। यसैले जतिजति निकट आइरहेको छ सङ्गमस्थल, त्यति मेरो उत्सुकताले विस्तार पाइरहेको छ। म एक हिसाबले बढी अधीर भइरहेको छु यस त्रिवेणीमा डुबुल्की लगाउन।
जब सडकबाट निर्देशन अनुसार गाडी मोडिन्छ सङ्गम भनिएको ठाउँतिर, तब देखिन्छ विशाल फाँट। हो, फाँटको विशालता पनि विभाजित छ, तर लाग्छ यो हजारौं बिघाको होला। अनुमान हुन्छ यहीं मेला लाग्दछ। खेलतमाशाको ठाउँ होला तर यथार्थमा यात्रुहरूका लागि विश्राम गर्ने थलोको रूपमा यसलाई बनाइएको हुन्छ। सुनिन्छ, कुम्भ मेलाको समयमा यहाँ यति धेरै मानिस आउँछन् कि यत्रो ठाउँ पनि साँघुरो हुन पुग्दछ। सुन्दा पत्यारै लाग्दैन किनभने यति फराकिलो ठाउँ छ कि दश बीस लाख मानिस सजिलै अटाउँछन् अनि यति धेरै फराकिलो ठाउँ पनि कसरी साँघुरो हुन जान्छ होला ? तर नपत्याउनु पनि कसरी। जसलाई सोध्यो उही कुरा भन्छन्। धेरैको भनाइले सम्मति दिन कर लाग्दछ। विस्तारै पुग्दछौं घाटतिर हामी।
सङ्गमको किनार पनि निकै ठूलो छ। हुनत स्पष्ट देख्न सकिन्छ, परैबाट, कताबाट यमुना आएको छ र कताबाट गङ्गा। कता पानी गइरहेको छ भन्ने कुरो छुट्याउन खासै गारो हुँदैन। दुई ठूला नदीहरूको मिलन भएको ठाउँ आफैंमा मनमोहक हुन्छ। यस्ता स्थानहरू आफैंमा मानव बस्ती तथा अन्य कारणले ऐतिहासिक हुन्छन्। हिन्दू धर्ममा हरेक दुई नदी मिसिएको ठाउँलाई सङ्गम मानिने र दुई नदीको मिलन भएको ठाउँलाई धार्मिक दृष्टिकोणले पवित्र मानिने चलन छ। शास्त्रहरूमा सङ्गमको महत्व यसकारण बढी मानिएको पाइन्छ कि समुद्र मन्थन हुँदा निस्केको अमृतको थोपा यहीं खसेको थियो। गङ्गा नदीलाई त सबैभन्दा पवित्र नदीको संज्ञा दिइएकै छ। साथै यमुना नदी पनि यहाँ मिसिएको छ र यो पनि मान्यता रहेको छ कि अदृश्यरूपमा सरस्वती नदीको पनि यही मिलन हुन्छ। गङ्गा, यमुना र सरस्वती नदीको मिलन भएको ठाउँमा नै अमृतको थोपा पनि खसेको हुनाले यस त्रिवेणीको महत्व अझ विशेष हुन पुगेको छ। सबै दृष्टिकोणले निकै पवित्र बन्न पुगेको देखिन्छ। यसकारण सम्बन्धित तिथिहरूमा यहाँ लाग्ने मेलामा अमृत स्नान प्राप्तिको अभिलाषा धेरैमा हुन्छ। अझ यो पनि मानिन्छ कि जुन मुहूर्तमा अमृतको थोपा झरेको थियो, त्यो तिथि र त्यो मुहूर्तमा स्नान गर्न पाउने धेरै भाग्यमानी हुन्छन्। यस्ता मानिसलाई मुक्ति प्राप्त हुन्छ। मोक्ष प्राप्त हुन्छ।
किनारसम्म अनेकौं डुङ्गा रहेका छन्। तीमध्ये केही खाली छन्, केहीमा मानिस चढेर गइरहेका छन्, केहीमा मानिसहरू फर्किरहेका छन्। डुङ्गाहरूको तँछाडमछाड छ। अनि अझ यो पनि देखिन्छ कि विभिन्न मानिसहरू नयाँ आगन्तुकतिर दौडिरहेका छन्। हुनत जब मुख्य सडकबाट मोडिएका थियौं, कुम्भ मेला लाग्ने बाटोतिर, त्यहीं पनि रोक्न खोजेका थिए। तीर्थस्थलमा यस्ता मानिसहरू हुन्छन् कि चाहन्छन् सेवा गरूँ र पैसा कमाउँ। धेरै मोलाइ पनि हुन्छ। अनेक किसिमले आफूलाई श्रेष्ठ साबित गर्ने र सस्तो बताउने प्रयास गर्ने पनि हुन्छन् तर वास्तवमा जति धेरै जोगिन सक्यो उति राम्रो भन्ने हामीलाई लागिरहन्छ। अनावश्यक खर्च पनि नगर्ने र आवश्यक विधि तथा प्रक्रिया पनि पूरा गर्ने सोचमा हामी छौं। आखिरमा विधि र प्रक्रियाहरू मानिसले बनाएका हुन् र मुख्य कुरो स्नान गर्नु हो।
केही परै गाडी रोक्नुपर्छ र निस्केर त्यहाँ पुग्दछौं जहाँ स्नान गर्नको लागि डुङ्गाको मोलाइ हुन्छ। एउटा डुङ्गामा चढ्छौं सबै कुरो मिलाएर। हाम्रो काम सामूहिक हुन्छ। एक ठाउँमा पैसा राख्छौं र खर्च हुँदै गर्छ। सकिन लागेपछि फेरि सबैजना बराबर उठाएर राख्छौं। यसरी कुनै ठाउँमा केही गर्नुछ भने सबैजना बराबर गरिरहन्छन् मतलब खर्च जति सामूहिक भइरहन्छ। सामूहिक खर्चले सबैलाई मोलाइ गरिरहनुपर्ने झन्झट हुँदैन। अरू विधि र प्रक्रियामा सबैजना सहभागी भए पनि कतिपय कुरामा भने सबैको आवश्यकता नपर्ने पनि हुन्छ।
डुङ्गा अगाडि बढ्छ। डुङ्गा खियाउनेले आवश्यक निर्देशन दिन्छ। वास्तवमा पानी कति गहिरो छ भन्ने जिज्ञासा हुन्छ तर पानी यत्ति नै छ भन्ने कुरो भन्न मान्दैनन् वा कूटनीतिक उत्तर दिन्छन् डुङ्गा खियाउने मान्छे। ऊ फरासिलो छ, तर हामी भने कुरौटे छौं अर्थात् धेरैजना भएकाले धेरै बोल्छौं। सबैको जिज्ञासाको समाधान कोही एकजनाले गर्न पनि सजिलो हुँदैन। केही बेरमा हामी पुग्दछौं त्यहाँ, जसलाई सङ्गम भनिन्छ। मलाई के लागेको छ भने सङ्गमको वास्तविक ठाउँ पचास मिटर जति टाढा होला। दुई नदीको पानीको मुख्य बहाव आएर जुन ठाउँमा मिसिन्छ, त्यै वास्तविक सङ्गम हो। अनि दुवै नदीको धार ठूलो भएकोले फलानै ठाउँमा एकनासले पानी मिसिइरहन्छ भन्ने पनि होइन। तर यसरी बुझ्न सकिन्छ कि गङ्गाको पानी र यमुनाको पानी कस्तो छ। दुवै नदीको पानी आफैंमा चिनिने छन्। गङ्गाको अलिक सफा र यमुनाको अलिक धमिलो छ। दुवै पानी बिस्तारै मिसिएको दृश्य सुन्दर छ, अद्भुत छ। यही हेर्नको लागि नै यहाँ पुगिएको हो पनि। डुङ्गा रोकिन्छ र डुङ्गाबाट तल ओर्लिनको लागि भनिन्छ। तल ओर्लिने ठाउँमा कति पानी छ, त्यसको कुनै ठेगान छैन तर व्यवस्थित गरिएको छ, पानीभित्र नै काठको फ्लैक राखी रोकिएको छ। तोकिएको ठाउँमा मात्र ओराल्दा रहेछन् र एक दुई डुबुल्की लगाउनासाथ भयो भयो जाऔं, जाऔं भन्न थाल्दा रहेछन्। मानिसहरूले केही बलजफ्ती गरेर चार पाँच मिनेटसम्म मुश्किलले नुहाउन पाउँदा रहेछन्। फेरि डुङ्गामा बसेर फर्किनुपर्ने हुन्छ।
हो, अलिकति कुरो हुन्छ पूजाको, दक्षिणाको। पूजा र दक्षिणासित त्यति सहमत हुन नसकिने पनि हुन्छ तर कहिलेकाहीं यो पनि लाग्दछ कि जहाँको जस्तो रीति हुन्छ त्यस्तो गरिदिंदा फरक पर्दैन। मुख्यगरी धार्मिकस्थलहरूमा त्यहाँको नीति र नियमको पालना गरिदिनुपर्छ। यसरी गर्दा मनमा एक किसिमको सन्तोष पनि प्राप्त हुन्छ। मानिस शान्ति र सन्तोषको लागि त कतै गएको हुन्छ तर कतिपय ठाउँमा भने अति नै भएको अनुभूति हुन्छ। यद्यपि सहनुपर्छ वा सोझै नमान्न पनि पाइन्छ। हामीले भने सबै प्रक्रिया पूरा गरिसकेका छौं।
आखिरमा यहाँ पुग्नुको मुख्य उद्देश्य नै डुबुल्की लगाउनु हो। जब डुबुल्की लगाइन्छ वा जब पानीमा पसिन्छ तब नै लाग्दछ कि यो अलौकिक स्थानमा अलौकिक स्नान गरिरहेको छु। अलौकिक अनुभूति हुन्छ। सबै स्थानको आफ्नै विशिष्टता हुन्छ, यसैगरी यस स्थानको पनि आफ्नै विशेषता छ र जुन विशेषताको सर्वोच्चता हो, त्यसको उत्कर्षमा रहँदा जुन अनुभूति हुन्छ त्यो नभूतो हुन्छ। लाग्दछ कि यो क्षण जीवनको अविस्मरणीय बनेको छ।
अहिले पनि त्यो दृश्य सम्झिरहेको छु र लागिरहेको छ कि त्यस डुबुल्कीले अहिले पनि मलाई पवित्र पारिरहेको छ।