- नवराज रिजाल
“दाइ, मेरो अस्मिता बचाइदिनुस् पछ्याउँदै एक हुल नरपशुहरू आइरहेछन्। रोएँ, कराएँ, दयाको भीख मागें सुनेनन्। उहाँलाई भेट्न हिजो गाउँबाट आएकी। कोठा छाडिसक्नुभएछ। भोलि घर फर्कन्छु। केवल आजको चार प्रहर रात,” यसरी अभिव्यक्त भएकी थिई ऊ र आँखाबाट मोतीका दाना झरिरहेका थिए। कपाल अस्तव्यस्त देखिन्थ्यो। अनुहार भयभीत र शरीर लगलग काम्दै थियो।
केही पसलहरू खुल्लै भएपनि अधिकांश बन्द भइसकेका थिए। हामीहरू सुरापानमा मस्त थियौं। सबैका जिब्रा लरखरिए पनि पिउने क्रम यथावत् थियो। पसलेले सहानुभूति दर्शाउँदै उसलाई भित्र बोलायो। उसलाई पहिले त नपस्न भन्यौं, तथापि हामी रक्स्याहा थियौं। “आउ छोरी म दिन्छु बास र सुरक्षा।” पसलेका शब्दहरूले ऊ विश्वस्त भई। आश्वस्त देखिई। पछ्याउँदै आउनेहरू अगाडि बढे।
आफन्त घर जाने दिन थियो। भोलिदेखि अस्पताल धाउन नपर्ने भएकाले खुशी थिएँ तर त्यो बिरामीलाई कहFँ देखें भन्ने जिज्ञासाले सताइरह्यो। दुई साताभरिमा त्यो बिरामीको कुनै आफन्तलाई नदेख्दा मनमा आशङ्का उब्जिएका थिए नै।
नानी, तिमीलाई कतै देखेजस्तो लाग्यो ठम्याउन सकिनँ, केही आपत्ति छैन भने परिचय पाउँ न…। उसका आँखा भरिए। शिर निहु–याएर भनी, “म श्रीमान् … गाउँबाट आएकी तर सम्पर्क … विगत तीन हप्तादेखि बेवारिसरूपमा यही ओछ्यानमा सुतिरहेकी छु। मेरो अवस्थाबाट उहाँ र घर अनभिज्ञ छन्।”
एक हुल दुष्टहरूबाट जोगिए पनि अर्का हुलबाट …” उसले योभन्दा बढी भन्न सकिनँ। मेरो आँखाभरि त्यो रात, पसल, म र उसले मागेको अस्मितारक्षाका शब्दहरू नाचिरहे।