आधुनिक विज्ञान र प्रविधिको उत्कर्षका बीच आयुर्वेदले मानव स्वास्थ्य र जीवनशैलीमा आफ्नो स्थान कायम राखेको छ, यो उल्लेखनीय पक्ष हो। पाँच हजार वर्षभन्दा पुरानो यो चिकित्सा प्रणालीले प्रकृतिसँगको सहजीवनलाई प्राथमिकता दिंदै शारीरिक, मानसिक र आत्मिक सन्तुलनको आधारमा स्वास्थ्यका सिद्धान्त स्थापित गरेको छ। आजको व्यस्त जीवनशैली, अस्वस्थ खानपान र मानसिक तनावका कारण उत्पन्न विभिन्न रोगहरूले विश्वव्यापीरूपमा चुनौती प्रस्तुत गरिरहेको अवस्थामा आयुर्वेदको महत्व झन् बढ्दै गएको छ। आयुर्वेद उपचारको माध्यम मात्र होइन, जीवनशैलीको प्रणाली पनि हो, जसले निरोगी रहने उपायदेखि रोगीलाई उपचारसम्मको दृष्टिकोण प्रदान गर्छ। प्रविधि र विज्ञानको विकाससँगै आयुर्वेदलाई पुरातन वा अवैज्ञानिक मान्नेहरू पनि थिए। तर हालका अध्ययनहरूले यसको प्रभावकारिता पुष्टि गर्दै यसलाई पुनः मुख्य धारमा ल्याइरहेका छन्। विशेषगरी ‘होलिस्टिक हेल्थ’ अर्थात् समग्र स्वास्थ्यको अवधारणाले पश्चिमी समाजलाई समेत आयुर्वेदप्रति आकर्षित बनाएको छ।

जडीबुटीहरूको मिश्रणबाट तयार गरिएका औषधिहरूले रोग प्रतिरोधात्मक क्षमता बढाउन, तनाव व्यवस्थापन गर्न र दीर्घकालीन रोगहरूको उपचारमा उल्लेखनीय भूमिका खेलेको पाइन्छ। कोभिड–१९ महामारीको समयमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेदिक उपायहरूको बढ्दो प्रयोग र यसले देखाएको सकारात्मक परिणामले यसको प्रासङ्गिकता झन् गहिरो बनाएको छ। यति हुँदाहुँदै पनि आयुर्वेदले धेरै चुनौतीको सामना गरिरहेको छ। वैज्ञानिक प्रमाणको अभाव र पद्धतिगत अनुसन्धानको कमीले यसको विश्वसनीयता कम गर्ने खतरा छ। यसबाहेक गुणस्तरीय औषधि उत्पादन, पञ्जीकरण प्रणालीको अभाव र बजार व्यवस्थापनमा विभिन्न अवरोधका कारण कतिपयले यसको प्रभावकारितामा प्रश्न उठाउने गरेका छन्। हाम्रो देश, जहाँ जडीबुटीको प्रचुरता छ, यहाँ आयुर्वेदको प्रोत्साहनले औषधि उद्योगको विकासका साथै अर्थतन्त्रमा पनि टेवा पु–याउन सक्छ। तर सरकारी नीति र प्रोत्साहनको अभावका कारण यो क्षेत्र हुनुपर्ने जति चलायमान बन्न सकेको छैन।

आयुर्वेदको महत्वलाई आधुनिक जीवनशैलीमा समेट्नका लागि यसलाई वैज्ञानिक आधारमा अनुसन्धान गर्दै प्रमाणित गर्न आवश्यक छ। यसका साथै औषधि उत्पादन र गुणस्तरीय सेवाका लागि सरकारले ठोस नियामक संरचना तयार पार्नुपर्छ। विद्यालय र विश्वविद्यालयस्तरमा आयुर्वेदसम्बन्धी ज्ञान समावेश गरेर नयाँ पुस्तालाई यसबारे सचेत बनाउन सकिन्छ। स्थानीयस्तरमा जडीबुटी खेतीलाई प्रवद्र्धन गर्दै यसको व्यावसायिक उपयोगका लागि लगानी आकर्षित गर्नु आवश्यक छ। आयुर्वेद क्षेत्रलाई चिन्न र प्राथमिकता दिन सकियो भने यसको अध्ययन एवं अनुसन्धानका लागि आयुर्वेदसम्बन्धी विश्वभरका विद्यार्थी एवं अध्ययन, अनुसन्धानकर्ताहरूको गन्तव्यको रूपमा हाम्रो मुलुकलाई स्थापित गर्न सकिन्छ। सर्वोच्च शिखर सगरमाथाको देश, हिमाल र पहाडको देश, जङ्गल र जडीबुटीको देश भनेर हाम्रो पहिचान बनिसकेको कारण पनि काम गर्न हामीलाई सहज छ। भौगोलिक र हावापानीको विविधतामा धनी हाम्रो मुलुकमा विश्वका अधिकांश साथै दुर्लभ जडीबुटीको उपलब्धता र उत्पादन सम्भव छ। यस कारण पनि सरकारले आयुर्वेद क्षेत्रमा अध्ययन, अनुसन्धान र बजेटलाई बढावा दिन तत्परता देखाउनुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here