वाशिङ्टन, २४ पुस/एएफपी
अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई मङ्गलवार बृहत् सैन्य सम्मानसहित श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा ल्याइएको छ । उनको पार्थिव शरीर स्थानान्तरणको दृश्य हेर्न चोक र अन्य विभिन्न स्थानमा उनका शुभचिन्तक र प्रशंसकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो ।

सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल अमेरिकी राष्ट्रपति बनेका र १०० वर्षको उमेरमा डिसेम्बर २९ मा निधन भएका कार्टरले राष्ट्रपतिबाट बिदा भएपछि मानवीय सहयोगका लागि गरेको कार्यका लागि उनको उच्च प्रशंसा हुने गरेको छ । उनको मानवीय सहयोग र अधिकारका लागि गरेको कामका लागि उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

जन्मथलो जर्जियाबाट शुरू भएको औपचारिक शवयात्रा हिउँले ढाकिएको अमेरिकी संसद् (युएस क्यापिटल)मा मङ्गलवार पु¥याइएको थियो । उनको पार्थिव शरीरलाई त्यहाँ बिहीवारसम्म राखिनेछ । प्रसारणकर्ता पिबिएसले लाइभ प्रसारणमा सर्वसाधारणले भवनहरूको छत, झ्याल र कौसीबाट दिवङ्गत राष्ट्रपतिलाई श्रद्धाञ्जलि अर्पण गरेको देखिएको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले भनेका छन्, “राष्ट्रपति कार्टरको पार्थिव शरीर संसद्मा ल्याइपु-याइएको छ र मैले राष्ट्रपति कार्टरको पार्थिव शरीरमा त्यहाँ नै श्रद्धाञ्जलि अर्पण गरेको छु ।”

अमेरिकी वायुसेनाको जेटमा वाशिङ्टन ल्याइपु¥याइएको अमेरिकी झन्डा ओढाइएको कार्टरको शव राखिएको बाकस (कास्केट) अमेरिकी नेभी मेमोरियलबाट अन्त्येष्टिका लागि बन्दूकगाडीमाथि राखेर क्यापिटोल हिलसम्म पु-याइएको थियो ।

पेन्सिलभेनिया एभिन्यूमा हालै आएको हिउँदे आँधीबेहरीपछि बाटोमा हिउँ जमेका कारण उक्त क्षेत्रमा सङ्घीय कार्यालय र विद्यालयहरू बन्द भएका छन् । हिउँले सेताम्मै भएको सडक सफा गर्दै सयौं अमेरिकी सेनाका सदस्यले मृत शरीरलाई संसद् भवनमा पु-याएका थिए ।

शवयात्रामा कार्टरको परिवार, कङ्ग्रेसका सदस्यहरू र प्रधानन्यायाधीश जोन रोबट्र्स र उपराष्ट्रपति कमला ह्यारिससहित अन्य महानुभावहरूको बाक्लो उपस्थिति थियो ।

कार्टर क्यापिटोलमा राजकीय सम्मानका लागि अन्त्येष्टि समारोहका लागि पु-याइएका १३औं पूर्व अमेरिकी राष्ट्रपति हुन् । वाशिङ्टनको पूर्वराष्ट्रपति ड्वाइट डि आइजनहावर, रोनाल्ड रेगन, जेराल्ड फोर्ड र जर्ज एच डब्लु बुशको अन्त्येष्टि गरिएको एपिस्कोपल चर्च नेशनल क्याथेड्रलमा बिहीवार कार्टरको अन्त्येष्टि गरिनेछ ।

अन्त्येष्टिमा वर्तमान राष्ट्रपति बाइडेनले आफ्ना नेता साथीले उनको जीवनमा गरेका स्मरणीय कामको सम्झना गर्नेछन् । चारै जना जीवित पूर्वराष्ट्रपतिहरू बिल क्लिन्टन, जर्ज डब्लु बुश, बाराक ओबामा र डोनाल्ड ट्रम्प अन्त्येष्टि समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here