प्रमोद यादव, पंचगावाँ, १४ पुस/
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई–मधेसको सामाजिक र आर्थिक विकास एमालेले गर्ने दाबी गरेका छन् ।

पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकाको दीपनारायण मावि, पंचगावाँअगाडिको खुला मैदानमा आइतवार आयोजित आमसभामा प्रधानमन्त्री ओलीले देशमा राजनीतिक क्रान्ति समाप्त भइसकेको र अब आर्थिक उन्नतिका काममा सरकार लागिपरेको भन्दै सबै दललाई आर्थिक क्रान्तिमा लाग्न जोड दिए ।

सखुवाप्रसौनीमा अघोषित बिदा
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतवार सखुवाप्रसौनी गापामा आउने कार्यक्रम भएपछि यहाँका शैक्षिक तथा प्रशासनिक सेवाहरू ठप्प भए ।

कार्यक्रमस्थल अगाडि रहेको दीपनारायण माविमा घोषितरूपमा बिदा दिइएको थियो । पालिकामा रहेका २९ वटा सामुदायिक विद्यालय भने अघोषितरूपमा बन्द रहे । शिक्षा शाखा प्रमुख नेपालेन्दु साहले दीपनारायण माविलाई घोषितरूपमा बिदा दिइएको तर अन्य विद्यालयहरू तीन घण्टी सञ्चालन भएर बन्द भएको बताए । उनले पालिकाले कुनै पनि विद्यालयलाई बन्द गर्न निर्देशन नगरेको जानकारी गराए ।

गापाका सूचना अधिकारी राजेश रौनियारले प्रधानमन्त्री आउने भएपछि स्वस्पूmर्तरूपमा विद्यालयहरू बन्द भएका र कार्यालयहरूमा पनि कामकाज प्रभावित भएको बताए । गापा कार्यालयले कुनै पनि संस्थालाई घोषितरूपमा बन्द गर्न निर्देशन नदिएको बताए । प्रम आउने दिन आज सखुवाप्रसौनीका शैक्षिक संस्था मात्र होइन, स्वास्थ्य तथा वडा कार्यालयबाट प्रदान गरिने सेवा पनि प्रभावित भएका थिए । कार्यालयहरू नामका लागि मात्र खुलेका थिए, सेवाप्रवाह भएन ।

उनले मधेसका जनताको जीवनस्तर सुधारका लागि एमाले नेतृत्वको सरकारले हुलाकी राजमार्गको काम अगाडि बढाएको र सो राजमार्गमा पर्ने १० वटा शहरलाई स्मार्टसिटी बनाउने योजना पनि एमाले सरकारले नै ल्याएको दाबी गरे । ओलीले तराई–मधेसका सवा लाख बिघा जग्गा सिञ्चित गर्नको लागि सुनकोशी–मरिन डाइभर्सन सिंचाइ आयोजना निर्माणको कार्य पनि एमाले सरकारकै बखतमा भएको बताए ।

उनले कृषिलाई आधुनिकीकरण गर्दै किसानको जीवनस्तर उकास्नको लागि एमाले नेता, कार्यकर्ताहरूले ध्यान पु¥याउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले मधेसका महिलाहरूलाई घरबाहिर निस्कन हौसला प्रदान गर्ने कार्य पनि एमाले कार्यकर्ताहरूले गरेको दाबी गर्दै युवाहरूलाई दुव्र्यसनको कुलतमा नलाग्न एमाले कार्यकर्ताहरूलाई सक्रिय भएर लाग्न निर्देशन दिए । प्रम ओलीले देशमा अस्थिरता बढेर फोहरी राजनीति हाबी हुन थालेपछि त्यसलाई सही गतिमा ल्याउन एमालेले नेपाली काङ्ग्रेससँग गठबन्धन गरी संयुक्त सरकार बनाएको र यही सरकारले देशका बेथिति, अस्थिरतालाई हटाउने बताए । उनले मधेसको विकासमा पनि नेका–एमाले सरकारले काम गर्ने र यसलाई कसैले रोक्न नसक्ने बताए ।

उनले एमाले सरकारमा रहँदा मधेसलगायत देशमा शुरू भएका विकास निर्माणका कार्यलाई अहिलेको सरकारले पूर्णता प्रदान गर्ने घोषणा गरे । प्रधानमन्त्री ओलीले एमालेले मिशन ८४ सफल बनाउन काम गर्दै आएको र त्यसको परिणाम निर्वाचनबाट आउने बताए । एमालेले एकल बहुमतको सरकार बनाउन सफल भएमा मिशन ८४ सफल हुने दाबी गरे ।

नेकपा एमाले, पर्साका अध्यक्ष डा विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री राजकुमार गुप्ता, पूर्वमन्त्री ज्वाला साह, एमाले मधेस प्रदेशका इन्चार्ज लीलानाथ श्रेष्ठ, पर्सा इन्चार्ज तथा सांसद प्रभु हजरालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण एमाले पर्साका सचिव महेश दासले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here